तीन गुटमा विभाजित एमाले : मंगलबार छुट्टाछुट्टै कार्यक्रम

0

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेकपा एमाले जुट्नेकि फुट्ने भन्ने दोसाँधमा रहेको छ। शीर्ष नेताहरुबीच सहमति हुन नसक्दा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले मंगलबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन्।

एमालेभित्रको मतभेत र विवाद अन्त्यका लागि सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफल निस्कर्षमा नपुगेपछि गुटगत कार्यक्रम रोकिएनन्। मंगलबार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बजे लागि बालुवाटारमा चियापान आह्वान गरेका छन्।

ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पठाएको एसएमएसमा भनिएको छ ‘सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले पार्टी केन्द्रीय कमिटीको १२ औं  बैठकको सन्दर्भमा आयोजना गर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ।’ ओलीले माधव नेपाल पक्षसहित सबै केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा बोलाएपनि कार्यक्रममा माधव-झलनाथ समूहले बहिष्कार गर्ने भएको छ।

यसैगरी ओली पक्षसँगको छलफल निष्कर्ष ननिस्किएपछि माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। सोमबार बानेश्वरस्थित अर्याल होटलमा माधवसमूहका केन्द्रीय सदस्य र सांसदहरुको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो। सोहि भेलाका सन्दर्भमा मंगलबार दिउँसो दुई बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए।

नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार र बिहीबार राजधानीमा बोलाएको राष्ट्रिय भेलामा पेश गर्ने राजनीतिक प्रतिवेदन तयार भएको बुझिएको छ। सो प्रतिवेदनलाई अन्तिमरुप दिन मंगलबार दिउँसो स्थायी समिति बैठक समेत बोलाइएको एक नेताले जानकारी दिएका छन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ओली र माधव-प्रचण्ड विभाजन पश्चात उपाध्यक्ष वामदेव गौतमको कुनै समूहमा लागेका थिएनन्। उनले आफ्नो नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’घोषणा गरेका थिए। सर्वोच्चले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा व्युताइदिएपनि उनी दुवै समूहमा लागेका छैनन्। सोमबार पनि पार्टी कार्यलय धुम्बाराहीमा भएको छलफलमा उनी सहभागी भएनन्। उनले मंगलबार पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेका छन्। बिहान ११ बजेबाट गौतम पक्षको बैठक बस्ने वामदेवनिकट स्रोतले जनाएको छ। गौतम एमालेका उपाध्यक्ष पनि हुन्।

Annapurna post

You might also like