‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित प्रचण्ड–नेपाल सडकमा

0

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहको बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो।

माइतीघरमा भएको प्रदर्शनमा‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड, नेपाल, नेता झलनाथ खनाललगायतका शीर्ष नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन्। माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाँदैछन् । आयोगमा पुगेर उनीहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिन्हको आधिकारिकता आफुहरुमै रहेको जानकारी गराउने छन् ।

प्रचण्ड–नेपाल समूहले आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ। आजै राजधानीमा पार्टी अध्यक्षको तर्फबाट २ बजे पत्रकार सम्मेलन गर्दैछन्। यो समूहले प्रदर्शन काठमाडौंदेखि सुरु भएर देशव्यापी बनाउने निर्णय गरेको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारवाही गरिएको, नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई नियुक्ति गरिएको जानकारी दिइसकेका छन् । पार्टीको दुई तिहाइ बहुमतले गरेको निर्णयसहित सूर्य चिह्नमा आफूहरुको हक लाग्ने भन्दै आवश्यक कागजातसमेत आयोगमा पेश भएको छ।

यस अगाडि मंगलबार आयोगमा ओली पक्षले पनि आधिकारिकता दाबी गर्दै कागजात बुझाइसकेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नयाँ थप गरेका केन्द्रीय समिति सदस्यको विवरण निर्वाचन आयोगमा दर्ता गराएको थियो। मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले नेकपा केन्द्रीय कमिटी विस्तार गरेको थियो।

नेकपा दुई पक्षमा विभाजित हुँदा कतिपय नेताको कित्ता पनि फेरिएको छ। दुई चिरामा विभाजित नेकपाका दुवै समूहले संस्थापन र वैधानिक भएको दाबी गरेका छन्। संस्थापनको मान्यता पाउने पक्षले चुनाव चिह्न सूर्य पनि पाउने भएकाले दुवै पक्षले आधिकारिताका लागि जोडबल गरेका छन्।

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित दायर गरिएका सबै रिटको सुनुवाइ आज एकसाथ संवैधानिक इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले बुधबार एक दर्जन रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो।

अब सबै रिटमा आज प्रधानन्यायाधीश राणासहित सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा संलग्न संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

कानुनअनुसार दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४० प्रतिशत सदस्य पुर्‍याउनुपर्छ। संसद् नभएको अवस्था केन्द्रीय समितिलाई मात्र आधार बनाइन्छ। नेकपाका दुवै पक्ष फुट्न अनिच्छुक छन्।

अन्नपुर्ण पोष्ट

You might also like