अबको विकल्प संघीय जनगणतन्त्र – महासचिव बैद्य
ईश्वरी प्रसाद गैरै
बाँके ५ पुष – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले संसदीय ब्यवस्था असफल भएकोले अबको विकल्प संघीय जनगणतन्त्र हुने बताउनुभएको छ ।
अब संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था नै हुन सक्दैन , – सोमवार बाँकेको जीगाउँमा शुरु लुम्बिनी प्रदेशस्तरिय कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – केपी ओलीको विकल्प त्यही ब्यवस्थाकै शेरबहादुर देउवा वा अरु कोही हुन सक्दैन । अबको विकल्प संघीय जनगणतान्त्रिक सरकार हुन्छ ।
उहाँले अहिले तीन वटा विकल्पहरु बारे चर्चा हुदै आएको भन्दै संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था र पूर्वराजावादीहरुले भने झै राजतन्त्रमा पछाडि फर्कने कुरा हुनै नसक्ने भएकोले तेस्रो विकल्प संघीय जनगणतान्त्रिक सरकार हुने दावी गर्नुभयो । त्यस्तै दुई तिहाईको धक्कु लगाउने डबल नेकपाले आन्दोलन, सिद्धान्त र जनतालाई धोका दिएको उहाँले बताउनुभयो । २ तिहाईको होइन भष्ट्रचारीको सरकार हो –उहाँले भन्नुभयो । बैद्यले देश विदेशीहरुको क्रिडास्थल भएको उल्लेख गर्नुभयो ।
फरक प्रसंगमा उहाँले बल प्रयोगको सिद्धान्त मान्नहरुबीच पार्टी एकता गरेर अगाडि बढ्न सकिने जानकारी दिनुभयो । हाम्रो पार्टीको पोलिटब्युरोले पार्टी एकताका लागि ६ बुदें आधार तय गरेको छ – उहाँले भन्नुभयो –नयाँ जनवाद, बैज्ञानिक समाजवाद र जनवादी केन्द्रीयता मान्नेहरुबीच एकता गर्न सकिन्छ ।