भत्कियो पाल्पा–स्याङ्जा जोड्ने पुल, ठेकेदारले पायो नयाँ बहाना

0

२१ चैत, पोखरा । कालीगण्डकी नदीमाथि निर्माण भइरहेको स्याङ्जा र पाल्पा जोड्ने पुल आइतबार साँझ भत्किँदा ८ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।

घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाका २३ वर्षीय सृजन परियार छन् । ‘सबैको पाल्पामा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था नाजुक छ,’ प्रवक्ता न्यौपानेले भने ।

रामपुर नगरपालिका-६, प्याकलुङ र चापाकोट नगरपालिका-८, दामाचौर जोड्ने गरी कालीगण्डकीमा पुल निर्माण भइरहेको थियो । उक्त पुलमा आइतबार साँझ क्रेनले बिम जोड्ने क्रममा ‘असावधानीवश छोएर’ बिमसँगै कामदार खस्दा घाइते हुन पुगेको उनले जानकारी दिए ।

म्याद सकिने बेला ४५ प्रतिशत काम

यो पुल बनाउन सडक डिभिजन कार्यालय, पाल्पालले २६ असार २०६८ मा इलाइट एडी जेभीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार ३ वर्षमा पुल बन्नुपर्थ्यो । तर बेल फाउन्डेसनयुक्त बनाउने गरी बनेको सुरुको डिजाइन फेल हुँदा करिब ९ वर्षसम्म अलपत्र रह्यो । डिजाइनअनुसार बेल १५/१५ मिटर जमिनमुनि हुनुपर्ने थियो । तर ५ मिटरमै कडा चट्टान फेला परेपछि काम रोकियो ।

बेल फाउन्डेसन डिजाइन असफल भएपछि पाइल फाउन्डेसनयुक्त नयाँ डिजाइन गरिएको थियो । तर उक्त डिजाइन पनि स्वीकृत हुन लामो समय लाग्यो । पटकपटक म्याद थपेको इलाइट एडी जेभीले चैत मसान्तसम्म पुल बनाउने समय पाएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर रवि शाहले जानकारी दिए ।

कोरोना प्रभावित ठेकेदार कम्पनीहरुलाई चैत मसान्तसम्म म्याद थप्ने ३ भदौ ०७८ को मन्त्रिपरिषद्को निर्णय गरेअनुसार म्याद थपिएको हो । ‘सुरुको सम्झौताअनुसार कम्पनीको म्याद पहिल्यै सकिनुपर्ने थियो । तर, बीचमा डिजाइन रिभ्यू, कोरोना देखाएर फेरि समय थपेको देखिन्छ,’ इन्जिनियर शाहले भने, ‘पछिल्लो समय कोरोनालाई कारण देखाएर समय थपिएको हाम्रो अभिलेखमा छ ।’

सम्झौताको म्याद ९ दिन मात्र बाँकी हुँदा ठेकेदार कम्पनीले भने ४५ प्रतिशत मात्र काम सकेको छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि श्याम केसीले पुल निर्माणको काम पहिल्यै सकिने भए पनि बीचमा पुनः डिजाइन गर्नुपर्दा ढिलाइ भएको दाबी गरे । ‘सुरुको डिजाइनले काम गरेन । पछि बनाएको अर्को डिजाइन स्वीकृत हुनै ६ वर्षभन्दा बढी लाग्यो,’ उनले भने, ‘त्यसैले निर्माणको काम ढिलो भएको हो ।’

आइतबार दुर्घटना नभएको भए बिमसहित करिब ५५ प्रतिशत काम तत्काल सकिने दाबी गरेका छन् ।

कामदारहरु निर्माणाधीन पुलको करिब ९ मिटर तल खसेका थिए । ‘हिजो पनि साँझसम्मै काम गरेर पुलको बिम हालिरहेका थियौं । ओभरलोड भएर क्रेनको सामान झर्न पुग्यो,’ कम्पनीका प्रतिनिधि केसीले भने, ‘पुलमा अरु क्षति पुगेको छैन ।’ घाइते कामदारको उपचार खर्च कम्पनीले व्यहोर्ने उनले जानकारी दिए ।  onlinekhabar

You might also like