अनुसन्धानका नाममा ‘प्रहरी आतंक’

0

 बाँके  ७ मंसिर — प्रहरीले बालक हत्याको अनुसन्धानका नाममा स्थानीयलाई जथाभाबी पक्राउ गर्न थालेपछि डुडवा गाउँपालिका–३, वनकट्वामा अहिले त्रास बढेको छ ।प्रहरी हिरासतमा मृत भेटिएका बाँकेको डुडवा–३ का बाबुलाल रैदासका भावविह्वल बाबुआमालगायत परिवार । स्थानीय बालकको हत्या आरोपमा पक्राउ परेका रैदासलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाएर २५ दिनदेखि हिरासतमा राखेको थियो । तस्बिर : ठाकुरसिंह थारू

‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्राउ गरेर लैजान्छ,’ प्रहरी हिरासतमा रहेका २१ वर्षीय अजय सोनीकी आमा ललिताले रुँदै भनिन्, ‘मेरो छोरालाई पनि बिनाकारण पक्राउ गरेर हिरासतभित्रै राखेको छ । प्रहरीले गाउँमा असाध्यै ज्यादती गरिरहेको छ ।’

अधिकारवादी र पत्रकारहरूको टोली शनिबार गाउँ पुग्दा स्थानीय आफ्ना गुनासा सुनाउन तँछाडमछाड गरिरहेका थिए । उनीहरूले प्रहरीले ज्यादती गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । ‘गाउँमा दुई जनालाई गुमाएका छौं, उल्टो प्रहरीले पक्राउ गरेर दुःख दिइरहेको छ,’ ललिताले भनिन् । वनकट्वाका १० वर्षीय सुनील हरिजन रैदासको कात्तिक १० गते बीभत्स हत्या भएपछि वनकट्वा गाउँ शोकमग्न थियो । छिमेकमा रुवाबासी चल्यो ।

हत्या गरिएका बालकका काका रामकुमार हरिजनले आफूहरूले न्याय खोजेको तर कसैलाई फसाउन नखोजेको बताए । हरिजन सरकारी इन्जिनियर हुन् । उनले बालक हत्याको किटानी जाहेरी नदिएको तर न्याय पाउनुपर्ने जनाए । ‘हामीले न्याय पाउनुपर्छ । यति हो,’ उनले भने ।

बालक हत्यापछि उजुरी नपरे पनि प्रहरीले भोलिपल्टै छानबिन सुरु गर्‍यो । त्यही क्रममा सुनीलको घरदेखि १० मिटर दूरीमा रहेका अन्दाजी ३६ वर्षीय बाबुलाल रैदाससहित १८ जना स्थानीयलाई प्रहरीले हिरासतमा लियो । एक सातापछि १५ जनालाई दैनिक प्रहरी कार्यालयमा हाजिर हुने गरी छाडियो । बाबुलाल, १३ वर्षीय विजय खटिक र २१ वर्षीय अजय सोनीलाई भने हिरासतमै राखियो । उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा मुद्दा लगायो । हत्या आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाटै अभद्र व्यवहारको मुद्दामा अल्झाइयो । अभद्र व्यवहारको मुद्दा चलाइएका व्यक्तिलाई २४ दिनभन्दा बढी हिरासतमा राख्न नपाइने भए पनि प्रहरीले त्योभन्दा बढी समय थुनामा राखेको छ ।

हिरासतमा रहेको २५ औं दिनमा बाबुलाल मृत अवस्थामा भेटिएपछि आफन्तको घरमा अहिले रुवाबासी छ । दुई जना छिमेकी गुमाएको पीडा स्थानीयलाई छँदै थियो, त्यसभन्दा बढी पीडा प्रहरीबाट पाइरहेको उनीहरूको गुनासो छ । ‘बालकको हत्या हुनु निकै दुःखको कुरा हो तर प्रहरीले जसलाई पायो, त्यसैलाई पक्राउ गरेर चौकी लगी मानसिक यातना दिइरहेको छ, दैनिक तारिखमा राखेर निकै सताएको छ,’ शनिबार बिदाका दिन साँझ ५ बजे जिल्ला प्रहरी कार्यालयको तारिखमा बोलाइएका ५५ वर्षीय मंगता चमारले भने, ‘शुक्रबार तारिख लिन बोलाएका थिए । त्यहाँ पुगेपछि शनिबार आउनू भनेर पठाइदिए ।’ उनका छोरा फूलचन्द चमारलाई पनि त्यसै घटनाको अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ ।

‘चौकी बोलाएर हैरान पारेका छन् । जसलाई पायो, त्यसैलाई प्रहरीले पक्राउ गरिरहेको छ,’ उनले भने । राष्ट्रिय मानवअधिकार आयोगको लुम्बिनी प्रदेश प्रमुख सम्झना शर्माले प्रहरीले घटनाको अनुसन्धान गर्दा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने बताइन् । पक्राउ गर्नुअघि पक्राउ पुर्जी दिनुपर्ने र स्वास्थ्य परीक्षण गरी न्यायिक हिरासतमा राख्नुपर्ने उनको भनाइ छ । ‘यी सबै प्रक्रिया पूरा नगरे मानवअधिकारको ध्यानाकर्षण हुन्छ,’ उनले भनिन् ।

मानवअधिकारका क्षेत्रमा कार्यरत संस्था इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रहरीले हत्या घटनाको छानबिन कानुनबमोजिम गर्न पाउने तर अनावश्यक धरपकड गर्न नमिल्ने बताए । पक्राउ गरिएका व्यक्तिलाई न्यायिक हिरासतमा मात्रै राख्न सक्ने उनले जनाए । ‘पक्राउ पुर्जी नदिएर ६ दिनसम्म थुनामा राख्नु मानवअधिकारविपरीत कार्य हो,’ उनले भने, ‘शंका लागेको छ भने रीतपूर्वक अनुसन्धान गर्नुपर्‍यो ।’

बालक सुनीलको हत्या घटनाको अनुसन्धानमा स्थानीयहरू प्रहरीलाई सहयोग गर्न तयार छन् तर हत्याको अनुसन्धानका नाममा प्रहरीले जथाभाबी पक्राउ गरी गाउँमा आतंक मच्चाएको स्थानीयको आरोप छ । हिरासतमै रहेका १३ वर्षीय विजयलाई पनि राति जंगलमा पुर्‍याएर हत्या स्वीकार गर्न दबाब दिने गरेको छ । ‘छोरा घरमै थियो, प्रहरी आएर समाएर लग्यो,’ हिरासतमा रहेका छोरालाई प्रहरी हिरासतमै भेटेर फर्केका बुबा जिलेदार खटिकले भने, ‘हिरासतमा रहेका छोरासँग सोधपुछ गर्दा १२ बजे राति प्रहरीले जंगलमा लगेको सुनायो । हत्या आरोप स्वीकार गर्न प्रहरीले छोरालाई दबाब दिइरहेको छ ।’

प्रहरीले बालक हत्याको आरोपमा पक्राउ गरेका व्यक्तिहरूविरुद्ध किटानी जाहेरी गर्न सकेको छैन । उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी कर्तव्य ज्यानमा अनुसन्धान गरिरहेको छ ।

‘आत्महत्या हो’

बाबुलाल रैदासले आत्महत्या गरेको दाबी प्रहरीको छ । ‘हिरासतमा रहेका उनले शौचालयमा आत्महत्या गरेका हुन् । हामीले कसैलाई मार्ने कुरै भएन । टाउकोमा बेरिएको कपडाले शौचालयको भेन्टिलेसनमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनी भेटिएका थिए,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले भने । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बाबुलालले घटनाको सोधपुछका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेकाले अभद्र व्यवहार मुद्दा दर्ता गरिएको उनले बताए । ‘टाउकोमा बाँधेको कपडा (घुम्टो) को पासो लगाएर रैदासले शुक्रबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा आत्महत्या गरेका हुन्,’ प्रवक्ता खड्काले भने, ‘घटनाको छानबिनका लागि स्थानीयलाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइरहेका छौं । अनावश्यक कसैलाई दुःख दिने नियत हाम्रो होइन । प्रहरीले सर्वसाधारणलाई किन दुःख दिनु र ?’

छोराको हिरासतमै हत्या भयो’

हिरासतमा शुक्रबार मृत भेटिएका बाबुलाल रैदासको घर पुग्दा उनका आफन्त छाती पिटेर रोइरहेका थिए । मोटरसाइकल पनि बल्लबल्ल छिर्ने कोलियाको पूर्वछेउमा फुसको घर छ । बाबुलालका बुबा ८५ वर्षीय पल्टु र आमा ७५ वर्षीया चन्द्रा रैदास कोलियाको सडकमा ओछ्याएको खटियामा बसेर रोइरहेका थिए । मृतकका चार दिदीबहिनी रोइकराइ गरिरहेका थिए । पत्रकारसहितको टोली त्यहाँ पुग्दा उनीहरू झन् भक्कानिए । बाबुको आँसु देखेर जोकोही स्तब्ध थिए ।

‘हमार लौंडाका मारिन है, ऊ कसै मरी (मेरो छोरालाई मारेको हो, आफैं कसरी मर्छ ?)’ भक्कानिँदै उनले भने, ‘मेरो छोरालाई मारेर मलाई झुक्याएर लास बुझाए ।’ छोराको मृत्युबारे उनलाई जानकारी थिएन । बिहानै प्रहरी घर पुगेर छोरा लिन हिँड् भनेपछि उनी निकै खुसी थिए । प्रहरीले मोटरसाइकलमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्‍यायो । ‘तिम्रो छोरा छुट्दै छ भनेर छाप लगाउन लगाए तर त्यो कागज लास बुझ्नका लागि गराएका रहेछन्,’ उनको आरोप छ, ‘यो उमेरको बूढोलाई कागजमा के लेखेको छ भनेर सुनाइएन । जालसाजी गरेर शव बुझाए । मलाई झुक्काइयो ।’मृतककी बहिनी वाग्मतीले दाइलाई करेन्ट लगाएर मारेको आरोप लगाइन् । ‘हामीलाई बुझाइएको दाइको शवको खुट्टामा करेन्ट लगाइएको नीलडाम थियो,’ उनले भनिन् ।

कान्तिपुर

You might also like