कोरोनासँगै तिहार

0

ओम बानियाँ 

नेपाली हिन्दुहरूको दोस्रो प्रमुख चाड तिहारको आफ्नै व्यवहारिक, सांस्कृतिक, वैज्ञानिक तथा मनोवैज्ञानिक महत्व छ ।
घर घरमा दीपहरुको झिलीमिलीद्धारा मनाइने भएकाले तिहारलाई दीपावली पनि भन्ने गरिन्छ ।

कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म कागतिहार, कुकुरतिहार, लक्ष्मीपूजा (दिपावली), गाईतिहार, र भाइतिहार (टीका) गरेर पाँच दिनसम्म (यस वर्ष चाहीँ प्रतिपदासम्म ४ दिन) लगातार मनाइने यो चाड पूर्णरूपमा वैज्ञानिक तथा मनोवैज्ञानिक जगमा खडा भएको देखिन्छ ।

तिहारको पहिलो दिन कागपूजाका दिनमा घरआँगनको फोहोरमैला सफा गर्ने र किम्वदन्तीका अनुसार हुलाकीको काम गर्ने कागको पूजा गरिन्छ । कुकुर तिहारका दिन घरको रखवाली गर्ने कुकुरको पूजा गरेर कुकुर तिहार मनाइन्छ ।
लक्ष्मीपुजाका दिन धनकीदेवी लक्ष्मीको पुजा र दिपावली गरेर मनाइन्छ ।

गाईतिहारका दिन गाईको पूजा गरेर गाईतिहार मनाइन्छ ।
गाई हिन्दुहरूका लागि आमा जस्तै हुन् । त्यसैले गाईलाई गौमाता भन्ने गरिन्छ । लक्ष्मी पनि भन्ने गरिन्छ ।

गाईको दुध जति पोशिलो हुन्छ, त्यत्ति नै गाईको पिसाब र गोबर गुनिलो हुन्छ । वास्तवमा गाई एक औषधालय हो । हिन्दुहरूको जीवनमा गोरुको पनि कम महत्व छैन । त्यसैले गोरुतिहार र गाईगोरुको संरक्षण तथा समृद्धिका लागि गोवद्र्धन पूजा गर्ने चलन चलेको हो ।

तिहारको अन्तिम दिन भाइटीका पर्छ । यस भाइतिहारमा दिदी–बहिनी–दाजु–भाइ जम्मा भएर अष्ट चिरञ्जीवी (अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, परशुराम, प्रल्हाद) र यम–यमुनाको पूजा गरी दाजुभाइलाई दिदीबहिनीले निधारमा मंगलटीका र कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिएर मनाउने गरिन्छ ।

दसैंतिहार होस् वा कुनै पनि बेलामा होस्, निधारमा टीका लगाउने प्रचलन हाम्रा ऋषिमुनि (प्राचिन वैज्ञानिक) हरुको महान् आविस्कार हो । निधारमा टीका लगाउनुको वैज्ञानिक महत्व छ ।

दुई आँखीभौंको विचको भाग अर्थात् भृकुटी, जहाँ टीका लगाइन्छ, त्यो पिनियल ग्लैण्डको केन्द्र (योग विज्ञानका अनुसार आज्ञा चक्रको केन्द्र वा त्रिनेत्र) हो । त्यसैले यस केन्द्रमा टीका लगाउनाले आज्ञा चक्र वा पिनियल ग्लैण्ड सक्रिय हुन्छ, जसले गर्दा मस्तिष्क शक्ति तथा चेतना शक्ति बढ्छ ।

झिलिमिलीको चाड, तिहारमा घरलाई झिलिमिली बनाइ पुजाआजा गर्ने तथा टीका लगाउनुको साथै भैलो र देउसी खेल्ने परम्परा छ ।

देउसीभैलोको पनि आफ्नै सामाजिक तथा मनोवैज्ञानिक महत्व छ । यो परंपरा मनोरञ्जनका साथसाथै समाजिक सद्भाव विकासका लागि सुरु गरिएको अनुमान गर्न सकिन्छ ।

शब्दकोशका अनुसार कार्तिक कृष्ण औँसी र गाईतिहारका दिन लक्ष्मीपूजाको उपलक्ष्यमा गाइने विशेष किसिमको गाथा वा गीत र त्यस्तो गीत घरघरमा गाउँदै हिँड्दा श्रद्धाले दिइएको चिज लिँदै हिँड्ने–सांस्कृतिक उत्सव मनाउने काम भैलो हो ।

भैलो लक्ष्मीपूजा गरेपछि मनाउने चलन हो । लक्ष्मीपूजाको वा गाईतिहारको भोलिपल्ट र पर्सिपल्ट (भाइटीकाको दिन) घरघर घुम्दै एउटा (नायक)ले भटयाउँदै सहयोगीहरूले सम्याउने आसिकसुचक गाथा र सोही गाथाले गाउँदै माग्दै आसिक दिन काम देउसी हो ।

अतः देउसी र भैलो अलग–अलग किसिमको सांस्कृतिक उत्सव हुन् । देउसी र भैलो खेल्ने दिनमात्र होइन तरिका पनि फरक छ ।
तर हिजोआज यस उत्सवलाई दालभातझैँ एकठाउँमा पुछेर ३ दिन होइन कि हरिबोधनी एकादशीसम्म डाकाँकालेझैँ घरघरको ढोका ठटाएर जबरजस्ती पैसा असुलेर मनाउने कुप्रवृत्ति बढेको छ ।

हो, अहिलेको युगमा रूपैयाँ–पैसा अत्यावश्क कुरा हो । रूपैयाँपैसा बिना मानिसको जीवन चल्न सक्दैन । आममानिसको कुरा त परै छोडौं, घरपरिवार सबकुछ त्यागेका सन्यासीलाई समेत पैसा आवश्यक पर्छ । रूपैयापैसाको यही महत्वलाई ध्यान दिएर नै लक्ष्मीपूजाको सुरुवात भएको हो ।

लक्ष्मीपूजाको आफ्नै किसिमको विशिष्ट महत्व छ । यो व्यवहारिक र वैज्ञानिक कुरा पनि हो । पौराणीक कथा अनुसार लक्ष्मी विष्णुकी पत्नी, धनकी अधिष्ठात्री देवी हुन् । अर्को शब्दमा भन्ने हो भने लक्ष्मीदेवी त्यत्ति बेलाकी अर्थमन्त्री जस्तै हुन् ।

त्यसैले ढुकुटीको साँचो लिएर बसेकी लक्ष्मीको पूजा गरेपछि धनसम्पत्ति पाइन्छ भन्ने मान्यता बसेको हो । जस्तो कि अहिले जसले अर्थमन्त्रीको जति पूजा गर्न सक्दछ, त्यत्ति नै बजेट निकासा पाउँछ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो ।

मनोवैज्ञानिक दृष्टिले लक्ष्मी तथा सरस्वती आदि जस्ता देवीदेउताहरू मानव मनमस्तिष्कमा गहिरो ज्ञान राख्ने ऋषिमुनिहरू (प्राचीन वैज्ञानिकहरू) को एक महान् मनोवैज्ञानिक आविस्कार हो ।

यस्ता मनोवैज्ञानिक टेक्नोलोजीलाई नै चलाखीपूर्ण ढंगले धर्मसंस्कृति मार्फत् जनमानसको जीवनशैलीमा ल्याइएको हो ।
लक्ष्मीपूजाको वैज्ञानिक तथा मनोवैज्ञानिक आधार भनेको नै न्यूरो–कण्डिसनिंग सिद्धान्त हो ।

यो सिद्धान्तलाई प्रसिद्ध मनोवैज्ञानिक पैवलवले कुकुरमा प्रयोग गरेर देखाएपछि यो सिद्धान्त ‘पैवलवको  क्लासिकल कण्डिसनिंग सिद्धान्त’ का नाउँमा चर्चित भएको हो ।

त्यसैले शान्त मनले एकाग्र भएर धनकी देवि लक्ष्मीको पूजाप्रार्थना गर्नुको एक मात्र उद्देश्य धनमनस्थितिको मस्तिष्क पुनर्संरचना (ब्रेन रिवाइरिंग) गर्नु हो । ‘लक्ष्मी ब्रेब’ पैदा गर्नु हो । यो एकदम सम्भव र वैज्ञानिक कुरा हो ।

मानव मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्यूरोप्ल्यास्टिसिटि भनिन्छ ।
मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ । मानिसले चाहेको खण्डमा जुनसुकै उमेरमा पनि मस्तिष्कको रिवाइरिंग गर्न सक्दछ ।

मस्तिष्कको सवालमा बुढो कुकुरलाई नयाँ टेक्निक सिकाउन सकिँदैन भन्ने उखान पूर्णरुपमा लागू हुँदैन । हो, कुनै कुनै बुढो कुकुरलाई नयाँ टेक्निक सिकाउन केही बढी समय लाग्न सक्दछ । मस्तिष्कको पुनर्संरचनामा मनको सबै भन्दा ठूलो हात हुन्छ ।
अर्को शब्दमा भन्ने हो भने मन नै मस्तिष्क पुनर्संरचनाको मुख्य औजार हो ।

मनले मस्तिष्क पुनर्संरचना गर्न सक्ने कुरा एकदम सत्य हो । एक खुंखार डाँका रत्नाकर कसरी महर्षि ‘वाल्मिकी’ भए ? अगुंलीमाल जस्तो हत्यारा कसरी बुद्धको चेला बन्न पुग्यो ? के मस्तिष्क पुनर्संरचना बीना यो सम्भव थियो ? कदापि थिएन ।

सिद्धार्थ गौतम पनि जन्मिदै बुद्ध भएका होइनन्, ध्यानद्वारा मस्तिष्क पुनर्संरचना गरेर ‘महात्मा बुद्ध’ भएका हुन् । अतः ध्यान मन प्रशिक्षणको एक सर्वोत्तम मनोवैज्ञानिक विधि हो ।

ध्यानको यही महत्वलाई बुझेर नै प्राचिन ऋषिमुनीहरुले धर्म र चाडपर्वका माध्यमबाट यसलाई मानिसको दैनिक जीवनमा ल्याएका हुन् ।

पूजापाठ गर्नु, प्रार्थना गर्नु, भजनकिर्तन गर्नु तथा निधारमा टीका लगाउनुको कारण पनि ध्यान नै हो । मनको प्रशिक्षण हो । निधारमा टीका लगाएपछि ध्यान कहाँ जान्छ, निधारमा । होइन र ?

अन्तमा कोरोना महामारीका कारण यसपालिको तिहार सावधानीपूर्वक मनाउन अति आवश्यक छ । यसपाली तिहारमा साथीभाइ जम्मा भएर जुवातास खेल्नु ठीक छैन ।

सकेसम्म धेरै टाढाटाढाका दिदीबैनीकँहा भाइटीका लगाउन नजाने, जाने पर्ने स्थितिमा पर्याप्त सुरक्षा विधि उपनाउने, खानपिनमा विशेष ध्यान दिने तथा देउसीभैलो नखल्ने । (लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)

लुम्बिनि टाईम्स

You might also like