यातायातमा जोखिम

0

 २५ कार्तिक, काठमाडौं : पछिल्लो समय देशभर कोरोना भाइरसको जोखिम बढ्दो छ। संघीय राजधानी काठमाडौं अझ बढी जोखिममा देखिएको छ। देशभर चल्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा कोरोना संक्रमण रोकथामका लागि उचित सावधानी नअपनाइनु पनि यसको प्रमुख कारण बनेको छ।

देशभर चल्ने जुनसुकै सार्वजनिक यातायातमा यात्रा गर्दा पनि कसैले मास्क खोई भनेर सोध्दैन। सहचालकले भाडा उठाउँछन्। चालकले भनेको ठाउँमा रोकिदिन्छन्। यात्रु आफैँले मास्क लगायो, स्यानिटाइजर दल्यो र भौतिक दूरी कायम गर्‍यो भने संक्रमणबाट जोगिएला, होइन भने सोधखोज गर्ने कोही हुँदैन। स्वाभाविक रूपमा यस्तोमा स्थितिमा संक्रमणको जोखिम उच्च रहन्छ।

पछिल्ला दिनमा देशभरबाट सडक मार्गबाट दैनिक २५ हजार सर्वसाधारण राजधानीमा भित्रिरहेका छन्। दसैं मनाउन गाउँ पुगेका सर्वसाधारण कर्मथलो फर्कने क्रम जारी छ। यसैगरी अर्को ठूला चाड तिहार र छठ मनाउन राजधानी बाहिरिने यात्रुको संख्या पनि उत्तिकै छ। राजधानीमा सवारीसाधन जोरबिजोर प्रणालीले धानेको छ। उपत्यकाका चोकचोकमा सवारी जाम हुन थालेको छ। असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध, पुतलीसडक, सुन्धारालगायत स्थानमा व्यापार व्यवसायमा सर्वसाधारणको घुइँचो देखिन्छ। यस्तोमा जसले सावधानी अपनायो ऊ मात्र संक्रमणबाट बच्ने देखिन्छ।

राजधानीको त्रिपुरेश्वरमा खटिएका एक सुरक्षाकर्मी भन्छन्, ‘पछिल्लो समय संक्रमण झन् बढ्दो छ। तर, सर्वसाधारणमा कुनै चेतना देखिँदैन। हामीले कतिलाई सम्झाउने। सरकारी दायित्व हामीले मात्रै ठेक्का लिएका छौं र ?’ महानगरीय ट्राफिक प्रहरी महाशाखाको अभिलेखअनुसार अहिले दैनिक २५ देखि २८ हजार हाराहारीमा सर्वसाधारण काठमाडौं भित्रिने गरेका छन्।


महाशाखा प्रमुख एसएसपी भीम ढकालले नाकाबाट भित्रिएका सर्वसाधारणले स्वास्थ्य मापदण्ड पूरा गरे/नगरेको जाँच गर्दै आएको दाबी गरे।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) पनि अहिले त्यति सक्रिय हुन सकेको छैन। लामो समयपछि सीसीएमसी निर्देशक समितिको बैठक बस्यो। सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले दक्षिण एसियालगायत उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ।

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा बढ्दो सहरीकरणका कारण कोभिड नियन्त्रण हुन नसककेको बताए। उनले भने, ‘के गर्ने सबैको गरिखाने ठाउँ काठमाडौं नै पर्‍यो। कसैलाई पनि नआऊ भन्न मिलेन। त्यसैले अब नियन्त्रण होइन, व्यवस्थापन गर्नतिर लागेका छौं।’

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले नाकामा चेक प्वाइन्ट राखेर सवारी साधनमा भित्रिएका यात्रुमाथि निगरानी गर्दै आएको बताए। उनले कोभिडबारे सचेत बनाउन र स्वास्थ्य मापदण्ड अपनाउन कडाइ गरेको दाबी पनि गरे। स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयले पद्धति र नियम बसाल्न ठोस पहल गर्नुपर्ने राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले बताए। उनले भने, ‘सरकारको नीति प्रस्ट भएन। कुनै पनि हालतमा सरकार आफ्नो जिम्मेवारीबाट विमुख हुन मिल्दैन।’

अन्नपुर्ण पोष्ट

You might also like