सरकारले लुकायो कोरोनाबाट मृत्यु हुनेको संख्या

0

३० असोज, काठमाडौं ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको संख्या लुकाएको खुलेको छ ।

नेपालमा पहिलो पटक जेठ ३ मा सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । हालसम्म ७१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर नेपाली सेनाले हालसम्म ८८९ जनाको शव व्यवस्थापन गरिसकेको तथ्यांक उपलब्ध गराएको छ ।

कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मात्र गर्दै आएको छ । र, हरेक शव व्यवस्थापनबारे सेनाको पृतनाहरुलले विस्तृत विवरण केन्द्रमा पठाउने गरेका छन् ।

त्यसअनुसार सबैभन्दा धेरै उपत्यका पृतनाले हालसम्म ४४४ वटा शव व्यवस्थापन गरेको छ । मध्य पृतनाले १३९, पूर्वी पृतनाले ९८, मध्यपश्चिम पृतनाले ८५, मध्य पूर्वी पृतनाले ५४, उत्तर पश्चिम पृतनाले ४१, पश्चिम पृतनाले १७ र सुदूरपश्चिम पृतनाले ११ शव व्यवस्थापन गरेको पाइएको छ ।

सैनिक उच्च स्रोतका अनुसार सेनाले व्यवस्थापन गरेका ८८९ शवमध्ये केही क्वारेन्टिनमा आत्महत्या गरेर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या पनि छ, जसलाई कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा समावेश गर्ने गरेको छैन ।

यस्तो संख्या निकै सानो छ ।

साथै उपचारका क्रममा मृत्यु भएर आफन्तले शव व्यवस्थापन गरेका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाले नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संख्या सेनाले उपलब्ध गराएको अंक आसपासमै भएको स्रोतको दाबी छ ।

त्यसो भए स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको संख्या किन यति कम भयो त ? मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम भन्छन्, ‘यसबारे मलाई थाहा छैन ।’

हरेक दिन मन्त्रालयको च्यानलबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा तथ्यांक आउने र त्यसलाई आफूहरुले सार्वजनिक गर्ने गरेको उनले बताए ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने सेनाले आफ्नो संयन्त्रबाट संकलन गरेको तथ्यांक सार्वजनिक गरेको र थप विषयबारे स्वास्थ्य मन्त्रालयसँगै बुझ्न आग्रह गरे ।Online khaber

You might also like