कहाँबाट भित्रन्छ नेपालमा नक्कली नोट?

0

अशोज ९,काठमाडौं-

भदौको अन्तिम साता ललितपुरको ताल्छिखेलस्थित एक सुन पसलमा दुई युवकले पाँच तोला सुनको हार खरिद गरे। व्यापार नभइरहेको समयमा एकैपटक पाँच तोलाको हार बिक्री हुँदा पसलका सञ्चालक दंग थिए।

खरिद गर्ने युवाहरुले  चार लाख ७५ हजार रुपैयाँ बुझाएका थिए। तर जब पाँच वटा गड्डीभित्रका पैसा नक्कली भएको चाल पाए, सुन पसल सञ्चालक छाँगाबाट खसेजस्तै भए। तत्काल उनले प्रहरीलाई खबर गरे। ललितपुर प्रहरीले करिब एक साताको प्रयासपछि बिहीबार नक्कली पैसा दिने ती दुवै युवालाई पक्राउ गरेको छ।

ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले पाँचवटै गड्डीको तल  र माथि सक्कली नोटहरु राखिएको बताए। उनका अनुसार सक्कली नोटलाई स्क्यान गरी राम्रो कागजमा प्रिन्ट गरेर नक्कली नोट निकालिएको थियो।

‘यो कुनै फ्याक्ट्रिबाट उत्पादित नोट होइनन्। स्क्यान गरेर राम्रो कागजमा प्रिन्ट गरी सक्कलीजस्तै बनाइएको देखिन्छ। पसल सञ्चालकले राम्रोसँग पैसा नहेरेको पाइयो’, लामो समय प्रहरीको प्रति आतङ्कवाद युनिट विषेश ब्युरोमा काम गरेका राई भन्छन्।

गत बुधबार बाराको सिम्रौनगढ नगरपालिका -९ बसवरिया नहरबाट १२ लाख १६ हजार नक्कली नेपाली रुपैयाँसहित एकएक नेपाली र भारतीय पक्राउ परे। बाराको बारागढी गाउपालिका- ५ सिघासनीका २३ वर्षीय बलिराम चौधरी र  भारतको बिहार घर भएका २७ वर्षीय सन्दीप कुमार पक्राउ परेका हुन्। प्रहरीका अनुसार सन्दीप चोर बाटो हुँदै मोटरसाइकलमा  ३० थान मोबाइल बोकेर नेपाल आएका थिए।

बलिरामले बाराको निजगढका एक युवकले मोबाइल ल्याईदिन भनेकाले सन्दीपलाई नेपाल बोलाएका थिए। ती युवकले ३० वटा मोबाइल लिएर १२ लाख १६ हजार रुपैयाँको झोला सन्दीपलाई बुझाए। ती युवक मोबाइल लिएर फर्किएलगत्तै सन्दीप र बलिरामले थाहा पाए, सबै पैसा नक्कली रहेछ। झोलामा एक हजार दरका १ हजार २ सय १६ वटा नोट थिए। प्रहरीले पैसा दिने व्यक्तिको पहिचान गरिसके पनि पक्राउ गरिसकेको छैन। अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार  त्यति मोबाइल विक्री गरेबापत चौधरी र सन्दीपलाई ४० हजार भारतीय रुपैयाँ फाइदा हुने थियो।

ती अधिकारी केही सक्कली नोटहरु स्क्यान गरी स्तरीय फोटोकपीमार्फत ती नोटहरु निकालिएको दाबी गर्छन्। ‘चार पाँचवटा सक्कली नोटलाई स्क्यान गरि स्तरीय फोटोकपी मेसिनबाट ती नक्कली पैसा प्रिन्ट गरेको देखिन्छ। किनभने १२ लाख १६ हजारको बिटोका नोटमा चारवटा फरक नम्बर दोहोरिएका छन्। यसको मतलब कुनै मेसिन वा फ्याक्ट्रीबाट निकालिएको पैसा होइन यो। यदी त्यसो हुन्थ्यो भने हरेक नोटमा नम्बर फरक हुन्थ्यो’, ती अधिकारी भन्छन्।

नेपालमा हरेक महिनाजसो नक्कली नोटसहित मानिसहरु पक्राउ पर्ने गरेको देखिन्छ। खासगरी नेपाली र  भारतीय रुपैयाँ तथा अमेरिकी डलरका नक्कली नोटहरु भेटिने गरेको छ। गत असारमा नक्कली नोट बरामदका तीनवटा घटना भएका थिए। त्यस महिना छुट्टाछुट्टै घटनामा एक हजार दरका १४ वटा नेपाली नोट र पाँच सय दरका ४८ वटा नेपाली नोट भेटिएको थियो।

यसैगरी पाँच सय दरका २ सय ८८ वटा भारतीय नोट बरामद भएको थियो। गत चैतमा एक हजार दरका २ सय ३३ वटा नेपाली नोट र  फागुनमा १० हजार दरका ६ वटा अमेरिकी डलर नोटहरु भेटिएको थियो। गत पौषको एक घटनामा एक हजार दरका एक लाख ६३ हजार ३ वटा नेपाली नोटहरु बरामद भएको थियो।

गत आर्थिक वर्षमा भएका नक्कली नोट बरामदका घटनामा ६५ जना पक्राउ परेका थिए जसमा ३ जना महिला थिए। यीमध्ये १८ जना विदेशी थिए। त्यसमध्ये एक जना महिला थिइन्। चाडपर्व  र  मानिसहरुको बढी भिडभाड हुने समय र स्थानहरुमा नक्लकी नोटहरु एकमुष्ट र खुद्रामा बजार पुग्ने गरेको अनुसन्धान अधिकारीहरु बताउँछन्।..Desh sanchar

You might also like