राष्ट्रियता जनजिविका र जनतन्त्रको पक्षमा ‘साहित्यिक जागरण अभियान’

कृष्ण सेन ईच्छुकलाई स्मरण

0

ईश्वरीप्रसाद गैरे

कोइलाबास १६ कात्तिक– प्रगतिशील साहित्य परिवार तुलसीपुर दाङको आयोजनामा कोइलाबासमा साहित्यिक गोष्ठी सम्पन्न भएको छ । कुनै समयमा राप्तीकै प्रबेशद्वार र सबैभन्दा ठूलो बजार रहेको कोइलाबासमा उक्त परिवारले एतिहासिक रुपमै कविता गोष्ठी सम्पन्न गरेको हो ।  दाङको सबैभन्दा अग्लो र जिल्लाको उत्तरी सिमाना थर्कोटबाट सुरु गरेको ‘साहित्यिक जागरण अभियान’ जिल्लाको दक्षिणी सिमाना कोइलाबासमा सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रगतिवादी साहित्यकार एंव लेखक हिरामणि दुःखीले भन्नुभयो– ‘राप्तीको पुरानो बजार र एक समय देशकै दोस्रो ठूलो राजस्व सङ्कलन हुने भन्सार अड्डा भएको कोइलाबास यतिखेर खण्डहरमा परिणत हुनुमा नेपालको राज्यव्यवस्था जिम्मेवार रहेको बताउनुभयो ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत् रहनुभएका बरिष्ठ पत्रकार दुःखीले इच्छुकको सन्दर्भ जोड्दै अगाडि भन्नुभयो– ‘इच्छुकले यही कोइलाबासमा रहेको साल्ट ट्रेडिङमा जागिरे जीबन हुँदा यहाँबाट कम्युनिस्ट पार्टी निर्माणको अभियान सञ्चालन गर्नु भएको थियो । उहाँले साहित्यको आरम्भ यहीँबाट गरेको र त्यतिबेला दाङबाट प्रकाशित हुने साप्ताहिक पत्रिका युगचेतनामा प्रकाशित इच्छुकका कविता पढेर धेरै युवा कम्युनिस्ट आन्दोलनमा आकर्षित भएका थिए ।’ आफ्नो सङ्क्षिप्त मन्तव्य पछि दुःखीले इच्छुकको सम्झनामा उहाँकै कविता ‘इतिहासको यस घडिमा’ शीषकमा आफ्नो कविता सुनाउनु भएको थियो ।

कार्यक्रलाई प्रलेस दाङका पूर्व अध्यक्ष कवि रामप्रसाद जैसीले बिगतमा कोइलाबास हरेक दृष्टिकोणले हराभरा रहेकोमा अहिले खण्डहरमा परिणत भएको देख्दा निकै पीडा भएको बताउँदै यस बजारमा घोडा, राँगा र डोकाबाट ब्यापार गर्न आउने र भारतमा ज्याला मज्दूरी गर्न गएका तथा पल्टनी लाहुरेहरुको आवतजावत बाक्लो हुने भएकाले कोइलाबासको रमझम र चहलपहल निकै रहेको बताउनु भयो । त्यसैगरी अर्का वक्ता पत्रकार निमबहादुर थापाले नेपालका पुराना नाकाहरुमा चौथो नाका भनेर चिनिने काइलाबास पहिला २४सै घण्टा झलमल्ल रहेको आफैले देखेकामा अहिले सुनसान रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा कविहरु रामप्रसाद जैसी, प्रमोद धिताल, खगेश्वर भण्डारी, छविलाल कोपिला, टीका बस्नेत, दीपक समिर, गुरुप्रसाद कुमाल ‘बुलबुल’, यम रेग्मी, सुदृष्टि लक्ष्मी, राधिका परियार, रमा नेपाली, इश्वरी गैरे र मनोज थापाले कविता बाचन गरेका थिए । कविहरुले आफ्ना कविताहरुमा कोइलाबासको चर्चा, राष्ट्रिय स्वाधीनता, वर्तमान सरकारको आलोचना, सिमा सुरक्षा जस्ता विषयहरु समेटेका थिए ।
संस्थाका अध्यक्ष खगेश्वर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव दूर्गा विकले गर्नु भएको थियो।

You might also like