पकेटक्षेत्रमा उन्नत माउ पाठी तथा बोका वितरण

0

रामप्रसाद पौडेल

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले वडा नम्बर २ स्थित चुरेक्षेत्रका बाख्रापालक कृषकलाई लक्षित गरी घोषणा गरेको बाख्रा पकेट कार्यक्रमलाई निरन्तरता दिएको छ । वडा नम्बर २ का संसारकोट ,आमबास, बाँसखोला, सुखौरालगायतलाई नगरले बाख्रा पकेट क्षेत्र घोषणा गरेको थियो ।

सो कार्यक्रमलाई विस्तार गर्नका लागि नगरपालिकाले शनिवार ती गाउका कृषकलाई नश्ल सुधार गरिएका बाख्राका माउ तथा पाठी र उन्नत बोका वितरण गरेको थियो ।

चु्रे ईलाका बाख्रापालन समितिमा आबद्ध कृषकहरुलाई बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले ३२ वटा जमुनापारी माउ पाठी तथा एक बिटल जातको बोका प्रदान गर्नुभएको थियो ।

साथै कृषकका आवश्यकता अनुसार तत्काल एउटा थप बोयर बोका पनि शनिवार नै समितिले प्राप्त गरेको वडा नम्बर २ का वडा सदस्य प्रेम सोमैले जानकारी दिनुभयो ।

सो कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष दया दर्लामी,पशुसेवा शाखा प्रमुख भरत लम्साल , पशु सेवा प्राविधिक रामप्रसाद पौडेल अबिशेक लामिछाने लगायत बाख्रापालन समिति अन्तरगतका ४ वटै टोलका कृषक सहभागी थिए ।

साविक धुर्कोटका ७ र ८ वडा रहेको यसक्षेत्रमा करिब ४६० घर परिवार बस्दै आएका छन । बर्दघाट नगरपालिकामा चुरे क्षेत्र बाहेक पनि वडा नम्बर ४,५ र १६ का बस्तीहरु बाख्रापालनका लागि उचित मानिदै आएको छ । बर्दघाट वडा नम्बर २ अन्तरगतका चुरेक्षेत्रका बासिन्दाहरुको मुख्य पेशा बाख्रापालन भएपनि कृषकको ब्यवसायिकता बृद्धि गर्नुपर्ने देखिन्छ ।

You might also like