जातले जन्माइदिएको मान्छे म

0
  • -दुर्गा नाथ

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १२५ जात र १२३ भाषा बोल्ने मानिस बस्छन्। त्यसैले नेपाल  बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक हो।  नेपालमा जातीय भेदभावर छुवाछुत कायमै छ।यसले हामीलाई २१ औंशताब्दीमा पनि समस्यामा पारेको छ र यसले हामी धेरै पछाडि छौं भन्ने अनुभव गराउँछ । वर्णाश्रम व्यवस्थामा चार जात छत्तीस वर्णको कुरा आउँछ। नेपाली समाजमा जातीय विभाजन धेरै अघि भएको हो। समाजमा यसलाई जानेर वा नजानेर अवलम्वन गर्दै आएको पाइन्छ।

प्राचीन समाजमा जात विभाजन कामका आधारमा गरिएको कतिपय पौराणिक ग्रन्थहरुमा उल्लेख छ। कठोर काम गर्नेलाई कथित तल्लो जात र सजिलो काम गर्नेलाई कथित माथिल्लो जात भनेर छुट्टयाइएको पाइन्छ। हजारौं वर्षअघि तोकिएको यस्तो व्यवस्था समाजमा कायमै रहनु दुःखको कुरा हो।

कालान्तरमा जातसम्बन्धी कानुनी व्यवस्था कायम भए पनि त्यसलाई व्यावहारिक रूपमा अपनाउन नसक्दा समस्याहरू ज्यूँका त्यूँ छन। सर्वप्रथम यहाँ जातीय भेदभावसम्बन्धी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानुनको छोटो चर्चा गरिन्छ।

राणा प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा बनाएको मुलुकी ऐन (प्रथम लिखित ऐन) मा तागाधारी, मतवाली, मासिन्या मतवाली, पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने र पानी नचल्ने छोइछिटो हाल्नुपर्ने गरी जातको विभाजन गरिएको छ। त्यसपछि बनेका कानुनमा भने जातको कुरा उल्लेख छैन। भए पनि जातीय विभेद दण्डनीय हुने स्पष्ट प्रावधान राखिएको पाइन्छ।

२०२० सालमा बनेको मूलुकी ऐनमा नेपालमा जातीय आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन भन्ने कुरा कानुनमा उल्लेख गरियो तर त्यही कानुनमा विभेद गरेमा कस्तो दण्ड दिने भन्ने कुरा उल्लेख नगरिँदा उक्त कानुन कार्यान्वयन हुन सकेन।

नेपाल अधिराज्यको संविधान, २०४७ को प्रस्तावनामा कुनै पनि नेपालीलाई जातपातको आधारमा कुनै भेदभाव नगरिने भन्ने कुरा उल्लेख गरियो तर कार्यान्वयन पक्ष फितलो हुँदा समाजमा छुवाछुत प्रथा कायमनै रहयो।

२०६२/६३ को जनआन्दोलनले नेपालको इतिहासमा नयाँ मोड लिई २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त गरी उक्त दिनको सम्झनामा “जातीय भेदभाव तथा छुवाछुत उन्मुलन” दिवस मनाईदै आएको छ।नेपालको अन्तरीम संविधान, २०६३ को प्रस्तावनामा देशमा विद्यमान जातीय क्षेत्रीय लैंङ्गिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने सङकल्प लिई पहिलो पटक मौलिक हकअन्तर्गत धारा १४ मा छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हकको व्यवस्था गरी कुनै पनि व्यक्तिलाई जात वंश समुदाय वा पेसाका आधारमा कुनै किसिमको छुवाछुत तथा जातीय भेदभाव गरिने छैन र यस्तो भेदभापूर्ण व्यवहार दण्डनीय हुने र कानुन बमोजिमको क्षतिपूर्ति पाउने कुरा स्पष्ट गरिएको थियो।

नेपालको संविधानमा लेखिएको छ, हामी नेपाली सार्वभौम जनता हौं, प्रत्येक नेपालीलाई आफूले चाहेको भाषा बोल्न पाउने, संस्कृति मनाउन पाउने र जातीय संस्कार अपनाउन पाउने पूर्ण अधिकार हुन्छ।

संविधानको प्रस्तावनामै  जातीय विभेदलाई दण्डनीय मानिएको छ। मौलिक हक अन्तर्गत धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हकको व्यवस्था छ। जसमा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन भनिएको छ।

छुवाछुत तथा भेदभाव(कसुर र सजाय) ऐन, २०६८ को प्रस्तावनाले पनि प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धन्तलाई आत्मसात गर्दै प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछुत बहिष्कार प्रतिबन्ध निष्काशन अवहेलना वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था गरी सर्वसाधारणबीच सुसम्बन्ध सुदृढ गरी राष्ट्रिय एकता अक्षुण राखी समतामूलक समाजको सिर्जना गर्ने सम्बन्धमा समयानुकूल व्यवस्था गर्नको लागि उक्त ऐनको निर्माण गरेको र जसका कारण जातीय विभेद सम्बन्धी कार्यहरुलाई नियन्त्रण गर्नमा सहयोग पुर्याएको छ।

अपराध पीडित सम्बन्धी ऐन, २०७५ को दफा ५ भेदभाव विरुद्धको अधिकार, फौजदारी न्यायिक प्रक्रियामा पीडितको धर्म, वर्ण, लिङ्ग, जात, जाति, यौनिकता, उत्पत्ति, भाषा, वैवाहिक स्थिति, पारिवारिक स्थिति, उमेर, शारीरिक वा मानसिक अस्वस्थता, अपांगता वा वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा विभेद गर्नुहुँदैन भनेर प्रस्ट लेखिएको छ।

नेपालले सन्धि ऐन, २०४७ अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरुको पनि अनुमोदन गरेको छ। जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि जातीय विभेद हटाउने एक महत्वपूर्ण कदम मानिन्छ।(ICERD-International Convention on the Elimination of all form of Racial Discrimination 1965 ) यस सन्धिको प्रस्तावनामा मानिसलाई कुनै पनि प्रकारको भेदभाव विशेष गरी जाति, रंग वा राष्ट्रिय मूलका आधारमा विभेद हुन हुँदैन भन्ने व्यवस्था छ।

मानव अधिकार संम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८ को धारा २ मा जाति, वर्ण, लिंग, भाषा, धर्म, राजनैतिक वा अन्य विचारधारा, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य कुनै हैसियत जस्ता कुनै पनि आधारमा कुनै पनि किसिमको भेदभाव बिना प्रत्येक ब्यक्तिलाई यस घोषणापत्रमा उल्लिखित अधिकार र स्वतन्त्रताहरूको अधिकार हुनेछ साथै कुनै पनि ब्यक्ति रहेका मुलुक वा इलाका स्वतन्त्र, न्यास, स्वशासन रहित वा सार्वभौमसत्ताको अन्य कुनै पनि सीमाको अधिनमा रहेको जे भए तापनि त्यस्तो मुलुक वा ईलाकाको राजनीतिक, क्षेत्राधिकारगत वा अन्तर्राष्ट्रिय हैसियतका आधारमा कुनै पनि भेदभाव गरिनेछैन भनेर प्रष्ट गरेको छ।

यी त भए जातीय विभेदसम्बन्धी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरु। संविधान, ऐन र अन्तर्राष्ट्रिय कानुनी प्रावधान अध्ययन गर्दा यस्तो लाग्छ, यहाँ कुनै पनि खालको विभेद हुँदैन।

हाम्रो समाजमा लेखिएका कुरा भन्दा पनि भनिएका कुराहरु मान्ने चलन बढी छ। त्यसैले छुवाछुत र जातीय विभेदमा पनि यस्तै अवस्था छ। कुनै पनि विषयको गहिराइमा नपुगी सतहमै त्यसको अन्ध समर्थन गर्ने प्रवृत्ति कायमै छ। अनि नेता र अधिकारकर्मीको भाषणमा सुनिन्छ,  हाम्रो नेपालमा त कानुनी शासन पो छ त!

कानुनको शासन भएको भए नवराज विक  मर्नु पर्दैन थियो। दलित भएका कारण नवराज विकहरु मारिने अवस्था बन्यो। मारिएका नवराजहरुलाई न्याय कसले दियो र? अन्य कयौँ नवराजहरु यसरी मारिएका होलान्?

अर्को जल्दोबल्दो समस्या के छ भने निश्चित जातभित्र पनि जातीय विभेद काय मै छ। बाहुन समाजमा बाहुन, क्षेत्री, जैसी, कुमाईं। यस्तै दलित समुदायभित्र पनि जातीय भेदभाव कायमै छ।

यी सबै अवस्था हेर्दा सोध्न मन लाग्छ, यहाँ कानुन कसले मानेको छ?कानुन त देखावटीका लागि मात्र हो जस्तो लाग्छ।

यहाँ गायक यशकुमारको एउटा गीत निकै सान्दर्भिक छ,

पुरानो यो मन्दिरमा कुनै दियो जल्दैन।

नआऊ मेरो सामु तिमी‘।।

मैले छोएको पानी चल्दैन।

यसै सन्दर्भमा मलाई बाल्यकालको एउटा घटना याद आयो। मेरो गाउँमा एक प्रेम गर्ने जोडी थिए। उनीहरुको सम्बन्ध छुटाउन गाउँभरका मान्छेहरु लागिपरेका थिए। प्रेमीले त कुटाइ नै खाएको देखें मैले। हुन त प्रेम गर्छन् भन्ने मलाई के थाहा?घटना बाहिर आएपछि दाजुदिदीहरूले भनेको सुनेपछि थाहा पाएकी हुँ। तर छुटाउनुको कारणचाहिँ प्रेमिका ब्राहमण र प्रेमी कथि तल्लो जातिका रहेकाले समाजले नपचाएको रहेछ। मैले एकजना हजुरआमालाई सोधेकी थिएँ, ‘किन त्यो केटालाई कुटेको?हजुरआमाले जबाफ दिनुभयो, ‘आफूभन्दा ठूलो जातकी केटीसँग विवाह गर्न खोजेर बाहुन बन्न खोज्या होला निǃआफ्नो  हैसियत बिर्सेपछि कुटाइ नखाएर के खान्छ त?

म त छाँगा बाट खसेजस्तै भएँ। ती केटीको आँखाबाट खसेका आँसु र त्यो केटाले खाएको कुटाइ सम्झेर मैले मनमनै बाचा गरें म त आफ्नै जातको केटासँग मात्र विवाह गर्छु।

 

अहिले आएर थाहा भयो, ती केटाकेटीले अपराध गरेका हैन रहेछन्। अपराध त समाजले पो गरेको रहेछ। अब हामीले  यस्ता कानुनविपरित कार्यहरु विरुद्ध कदम चाल्नुपर्ने बेला आएको छ।

जात त रवाफ जमाउन खोज्ने मान्छेरुका लागि घाँटीमा झुन्ड्याउन बनाएको ट्याग पो रहेछ।

अझै पनि नेपाली समाजमा कतिपय मान्छेहरु यस्तै समस्याबाट गुज्रिरहेका छन्। मिडियामा आएका कुराको चासो हुन्छ। कयौं घटना समाजमा छिपेर बसेका छन्। कतियपय आमाबुवा  जातभात हेर्दैनन् तर समाजले दिने तनाव, दबाब र आफन्तको व्यवहारलाई थेग्न नसक्ने कारणले गर्दा आफ्ना सन्तानहरुको खुसी त्याग गर्न बाध्य छन्।

जातीयताको समस्या सजिलै समाधान हुन सक्दैन। यसका लागि प्रभावकारी कदम चाल्न जरुरी छ।

जातीय विभेदको विरोध गर्नेलाई पनि समाजमा खुट्टा तान्ने प्रवृत्ति छ।

सरकारले समस्या समाधानका लागि प्रयास नगरेको  भने होइन। जसले सानो जातको मानिससँग विवाह गर्छ त्यसलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। पैसा लिन मात्र कतिपयले त नाटकसमेत गरे।  कतिपयले भने भोकै मर्छु जात त फाल्दिनँ सम्म भनेको समाचार बाहिर आयो।

जातकै कारण हेपिनु, दबिनु र शिर झुकाउनुपर्ने अवस्था आउनु सभ्य साजका लागि सुहाउँदो कुरा होइन। त्यसैले यसको विरोध गर्नैपर्छ।

अन्त्यमा, अचेल सामाजिक सञ्जालमा छाएको प्रकाश सपुतको २ लाइन सायरी–

दिनमा हराउँछ्यौ रातमा हुन्छ र माया ?

थर पो सोध्छ्यौ जातमा हुन्छ र माया ?

जातीय विभेद सामाजिक कलंक तथा विकृति हो।यो समाजको लागि क्यान्सर रोग नै हो।यसले मानवीय मुल्य र मान्यतालाई नै स्खलीत गरिदिएको छ।हरेक मानवले मानविय मुल्य र मान्यताको अध्ययन, मनन र चिन्तन गरी अन्तर आत्माबाट नै जातीय विभेद विरुद्ध लडनको लागि हर्दम प्रयत्नरत रहने संकल्पको विकास हुनु त्यतिकै आवश्यक छ।आखिर जात धर्म फरक भए पनि हामी सबै मानिस जाति हौंर रगत सबको रातो नै हुन्छ।सम्मान र आत्मविस्वासका साथ बस्न र बाँच्न सिकौ र सिकाऔ। जातीय विभेद अन्त्यको लागि विद्ययमान नियम कानुनहरुको पूर्णतया पालना हुन नसक्नु अहिलेको प्रमुख समस्याहो। त्यसैले कानुनको शासनको पूर्णपालनाको औचित्य, सान्दर्भिकता तथा सार्थकताको लागि निरन्तर प्रयासरत रहनु अत्यन्त जरुरी छ।महाकवि लक्ष्मीप्रसाद देवकोटाको “मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन” भन्ने भनाई आत्मसात गर्नु त्यतिकै अपरिहार्य छ।(लेखकनेशनल ल कलेज सानेपा ललितपुर वि.ए.एल.एल.वि ५औं वर्षमा अध्यनरत हुनुहुन्छ ।)..Mirmire  Online

You might also like