संक्रमित र समाज
सीमा बन अधिवक्ता
आयौ कि त सामिप्यमा, छु की सपनीमा
झल्को दियौ गती बढ्यो, मनको ढुकढुकीमा ।
कताबाटआयौ तिमी, मनको मझेरीमा
बस भन्यौ ढोका लगाई, मलाई अंधेरीमा ।
मेरो साथमा तिमलाई मैले, स्विकारेको छैन
आभास दिन्छौ नजिक भाको, मन परेको छैन ।
तिम्रो मेरो सम्बन्धको, चर्चा चल्नु हुन्न
तिम्रो कारण मेरो बदनाम, सक्दिन म सुन्न ।
तिमी रैछौ शत्तिःmशाली, म निरीह कठै
मेरो नजिक नआउ तिमी, भन्थे मैले सधै ।
स्विकार गरुं तिमलाई मैले, समाजले हेप्छ ।
लुकाईराखुं तिमलाई भने, यमराजले देख्छ ।
संगै बस्न मन छैन, मुक्ति देउन मलाई
कति दिन संगै बसु, मुटु जलाई जलाई ।
शरीरको तातो पनि, तिमलाई सम्झे बढ्छ
मुटुको यो चाल पनि, हतार हतार गर्छ ।
ओखती नै छैन भन्छन, तिम्रो झल्को मेट्ने
छट्पटाई बस्ेका छन, सबै तिमलाई भेट्ने ।
ज्वरो आउथ्यो,छाती दुख्थ्यो, लाग्थ्यो रुघाखोकी
छट्पटाहट बढी भयो, तिम्रा डरले हो की ।
तिमी आयौ साथमा अनि, आफ्ना भए टाढा
नचाहेको सम्बन्धलाई, बनाईराख्यौ गाढा ।
नचाहेको बिष पिउन, पार्यौ बाध्यतामा
छटपटीमा दिन रात, राख्यौ एकान्तमा ।
तिमी आयौ भन्दा पनि, एक्लो हुने पिर भो
हत्या हिंसा गरेजस्तो, निहुरिएको शिर भो ।
एकान्तमा बस्दा झनै,आउने तिम्रो झल्को
के भन्ने हुन डर लाग्छ, वल्लो पल्लो घरको।
चोरी भन्दा ठूलो पाप, तिमीसंग हिंड्दा
छिमेकीले आंखा तर्छन, मैले बाटो हिंड्दा ।
झ्यालबाट चिहाएर हेर्छु, जगत मैले ।
तिमीले गर्दा मेरो बाटो, अछुतो भो ऐले
तिम्रो रुप र यौवनको, चल्यो निकै चर्चा
मोहजालमा पार्यौ कति, कति पुगे स्वर्ग ।
हातमा देख्दा सिटामोल, डराउने भो समाज
रोगभित्रको हाउगुजीले, भयो झनै त्रास ।
सन्चो छैन मलाई भन्दा, पर सर्छन साथी
सम्झिल्याउंदा बल्झिदिन्छ, दुखेको यो छाती ।
संक्रमितलाई हेर्ने नजर, फरक पार्नुपर्छ ।
सचेत बनी बिरामीले, आफै बार्नुपर्छ ।
रोग लाग्नु पाप होईन, बुझ्नुपर्छ अब
बाध्यतामा रोग लुकाउन, पर्ने छैन तब ।
मनको दुख परेलीको, डिलमा लुकाईराखें
साथी बन्यो कपि कलम, मनको बह सारें ।
तिमलाई सम्झी दियो धुप, गरेकै त होनी
चोख्याएरनचोखीने, पार्यौ अछुत पनि ।