नेपालमै सुरू भयो मोटरसाइकल उत्पादन, वार्षिक १ लाख दुईपांग्रे र १५ हजार तीनपांग्रे साधन उत्पादन गर्नसक्ने क्षमता

0

२० भदौ ।
एक अबौँ लगानीमा नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट सुरू भएको छ ।
नेपालमा शंकर ग्रुपले एक अर्ब लगानीमा मोटरसाइकल एसेम्बल प्लान्ट सुरू गरेको हो ।

यो भन्दा अगाडी शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टिभिएसका दुई पांग्रे र तीन पांग्रे सवारी साधन बिक्री गर्दै आइरहेकोमा यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो।
कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरू भएको जगदम्बा मोटर्समा उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए।

अग्रवालका अनुसार प्लान्टमा टिभिएसको सबै रेन्जमा मोटरसाइकल, स्कुटर र तीन पांग्रे सवारीसाधन उत्पादन गर्न सकिने भए पनि पहिलो चरणमा ‘अपाचे १६०’ मात्र उत्पादन गरिएको छ।
‘हामी ट्रायल पिरियडमै छौं। अहिले अपाचे १६० एसेम्बल भइरहेको छ। पहिलो लटमा यो मोडलका ३०० मोटरसाइकल एसेम्बल गर्छौं र विस्तारै सबै रेन्जका सवारीसाधन उत्पादन गर्दै जान्छौं,’ उनले भने।

यो प्लानटबाट वार्षिक १ लाख दुईपांग्रे र १५ हजार तीनपांग्रे सवारी साधन उत्पादन गर्नसक्ने क्षमता रहेको अग्रवालले जानकारी दिए।

उनकाअनुसार यो प्लान्टमा हाल १ सय जना दक्ष जनशक्तिले रोजगारी पाइरहेका छन् भने प्लान्टको क्षमताअनुसार उत्पादन गर्नसके अरु धेरैले रोजगारी पाउनेछन्।

नेपालमै उत्पादन गरिए पनि सरकारले एसेम्बल प्लान्टलाई खासै सुविधा नदिएको कारण ग्राहकले तत्काल सहुलियतको महशुस गर्न नपाउने उनले बताए।

‘यस्ता उद्योगलाई सरकारले खासै प्रोत्साहन गरेको छैन। मोटरसाइकल तथा स्कुटरमा लाग्ने अन्तःशुल्कमा २५ प्रतिशत मात्रै छुट छ,’ उनले भने ‘भोलिको दिनमा सरकारले सहुलियतको पोलिसी ल्यायो भने ग्राहकले महशुस गर्ने गरी सहुलियत हुन्छ,।’

एसेम्बल प्लान्टको लागत तत्काल उठ्न नसके पनि यसले अरु उद्योगको सम्भावना बढाउने अग्रवालको तर्क छ।

हाल सबै पाट्स बाहिरबाट ल्याउने भएपनि एसेम्बल प्लान्ट खुलि सकेपछि विभिन्न पार्ट्स उत्पादनको लागि बाटो खुल्ने उनले बताए।

..MIrmire online

You might also like