सामाजिक सञ्जालको जाल

0

डा. रामहरि ढकाल

घटना–१
धादिङबेँसी, धादिङको एउटा नवविवाहित दम्पतीको सानो व्यापारको आम्दानीले जसोतसो गुजारा चलेकै थियो । वरपरका युवा कमाउन विदेशी भूमिमा जानेको देखासिकी र आफ्नो पनि ‘देश पनि हेरूँ, मुख पनि फेरूँ’ भन्ने आकाङ्क्षाका कारण श्रीमान् नजिकैको मित्रराष्ट्रतिर लागे । एक वर्षपछि फर्कंदा श्रीमतीको चालढाल शङ्कास्पद देखेपछि आउँदा श्रीमतीलाई ल्याएको कोसेली मोबाइलमा सुटुक्क रेकर्डर राखेर पुनः विदेश गए । चार महिनापछि फेरि घर फर्केर अर्को नयाँ मोबाइल श्रीमतीलाई थमाउँदै पुरानो मोबाइल आफूले लिए । रेकर्ड भएका सबै कलहरू सुनिसकेपछि श्रीमतीको अर्कोसँगको अनैतिक साँठगाँठ भएको प्रमाण लिएर अदालत गए । हाल त्यो जोडी सम्बन्धविच्छेद गरेर आ–आफ्नो बाटो लागेका छन् ।

घटना–२
लमजुङमा एक युवा आफू कमाउन खाडी मुलुक जानुअगाडि श्रीमतीलाई सुखसाथ बस्न र छोराछोरी पढाउन भन्दै बाबुआमालाई गाउँमै छोडी परिवारलाई डेरा खोजेर बेँसीसहरमा राखे । दुई वर्षसम्म फोनमा राम्रो कुराकानी चलिरहेको थियो । श्रीमान् आउने पक्का भएपछि अघिल्लो दिन एउटा चिट्ठी (जसमा उनलाई नखोज्नू भनिएको थियो) लेखेर बच्चाहरूलाई डेरामा बेवारिसे अवस्थामा छोडी सुइँकुच्चा ठोकिन् । ठीक यस्तै घटना मकवानपुर बकैयाको तामाङ परिवारमा पनि भर्खर भएको थियो ।

घटना–३
मलेसियामा केही वर्ष बसेर निकै सुन्दर भविष्य र सुखी परिवारको कल्पना गर्दै फर्केका विराटनगरनिवासी एक युवकले श्रीमतीको साँठगाँठ आफ्नै साथीसँग भएको पत्तो पाएपछि फर्केको एक हप्तामै श्रीमती र सम्बन्धित साथीको हत्या गरे । हाल उनी जेलजीवन बिताइरहेका छन् ।
यी पत्रपत्रिकामा प्रकाशित नेपाली समाजका प्रतिनिधि घटना हुन् । यी सबै घटनामा मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगका कारण दुर्घटना भएको छ ।
त्यसमा पनि खासगरी फेसबुक र म्यासेन्जरमा हुने सन्देश आदान–प्रदानको सहजताले परिवार ध्वस्त बनाएको पाइएको छ । नेपाली समाजमा श्रीमान् श्रीमतीको सम्बन्ध सात जुनीसम्मका लागि हो भन्ने आदर्श सोच, अहिले आएर आधुनिकता र सामाजिक सञ्जालको सहजतासँगै काम नलाग्ने भएको छ । विवाह एउटा स्थायी सम्बन्ध हो भन्ने परिभाषा परिवर्तन भएको छ । यस्तो स्वतन्त्रताको दुरुपयोगले गर्दा पश्चिमा मुलुकहरूमा करिब ५३ प्रतिशत दम्पतीको सम्बन्धविच्छेद हुने गरेको छ । यो दर नेपालमा करिब तीन पुगेको छ र दिनानुदिन बढ्दोक्रममा छ । यस्तो पारिवारिक विघटन वा विग्रह वैदेशिक रोजगारीले थप बढाएको छ ।
सुरुमा अपरिचित व्यक्ति बिस्तारै सामाजिक सञ्जालमार्फत परिचित हुने र पछि सुपरिचितका रूपमा सम्बन्ध अगाडि बढाउँदै जाँदा सम्बन्धले नयाँ रूप लिन्छ र बिहे गर्ने, भाग्ने, आर्थिक लेनदेन गर्नेदेखि आफ्नैलाई बाधक सम्झी हत्या गर्ने वा धोका दिने अनि पराईलाई आफ्नो बनाउने घटना नेपाली समाजमा अहिले नौलो छैन । यस्ता सम्बन्ध प्रायः टिकाउ हुँदैनन् । स्वार्थपूर्ति भएपछि छोडिदिने गर्छन् । यस्तो सम्बन्धको कानुनी आधारसमेत नभएको अवस्थामा झन् अप्ठ्यारो स्थिति आउँछ । फलतः एउटा सुन्दर घरबाट व्यक्ति सडकमा आइपुग्छ । माया गर्ने व्यक्तिको साथ र परिवार दुवै गुमाउँछ । यसमा महिलाको अवस्था अझ दयनीय हुन्छ । आमाबाट बच्चाले माया, हेरचाह र सामाजिक संस्कार पाउँदैन ।
सम्बन्ध राम्रो रहँदाका अवस्थाका सन्देश, फोटो र यदाकदा गरिएको अश्लील हर्कतका रेकर्डहरूले परिस्थिति अझ जटिल बनाउँछ । सान्टा क्लारा विश्वविद्यालय क्यालिफोर्निया–२०१४ अप्रिलको एउटा अध्ययनले २०÷३५ प्रतिशत युवालाई साइबर बुलिङ (छेडखानी)ले मानसिक रूपमा अस्वथ मात्र बनाउँदैन, उनीहरूलाई मृत्युको मुखमा समेत पुराएको छ । ७० प्रतिशतलाई डिप्रेसन र ४२ प्रतिशतलाई कुण्ठा वृद्धि गराएको छ ।
सामाजिक सञ्जालमार्फत जोडिने यस्ता व्यक्तिहरू कतिपय अलि टाढाबाट हल्का परिचित हुन्छन् त कतिपयले झुटा प्रोफाइल बनाएर सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छन् । यसरी झुटा परिचयका आधारमा सञ्जालमा जोडिएर धोका दिने प्रक्रियालाई ‘क्याट फिसिङ’ भनिन्छ । यस्ता व्यक्ति स्वदेशी वा विदेशी जोकोही हुन सक्छन् । दुःख दिने, स्वार्थपूर्ति गर्ने वा ठगी गर्ने उद्देश्यले यस्ता काम गर्नेहरू विश्वभर नै बढ्दोक्रममा छ ।
सामाजिक सञ्जाल एउटा खुला किताब हो, जसमा गोपनीयता हुँदैन । सामाजिक सञ्जालका माध्यममा पोस्ट गरेका वा पढाएका कुराहरू आफूले हटाए पनि कुनै–कुनै अन्तरकुन्तरमा गएर बसेको हुन्छ, जुन तपाईंलाई धेरै घातक पनि हुन सक्छ । अर्को कुरा तपाईंको पासवर्ड कति सुरक्षित छ ? यो सम्झनुस् कि प्रविधिमा तपाईंभन्दा जान्ने अरू कोही पनि छन् ।
नेपालीमात्र नभएर, विश्वपरिवेशमा पनि सन् २००६ देखियता सामाजिक सञ्जालको प्रयोग गर्नेहरू अप्रत्यासित रूपमा बढेका छन् । नेपाली प्रायः फुर्सदको समय आजकल यसमै व्यस्त बन्न थालेका छन् । जागिरेहरूसमेत जागिरको समयमा मोबाइलमार्फत सञ्जालमा जोडिइराखेका हुन्छन् । सहरी क्षेत्रमा इन्टरनेटको राम्रो सुविधा छ । प्रायः स्थानमा वाइफाइको सुविधाका कारण यसमा जोडिन सहज बनाएको छ । दूरसञ्चार प्रदायकहरूको डाटाले ग्रामीण क्षेत्रलाई समेत यसमा जोडेको छ । मानिसलाई सामाजिक सञ्जालको एकप्रकारको लत बसिसकेको छ । यसले गर्दा अभिभावकबाट बालबालिकाले पर्याप्त समय पाएका छैनन् भने उनीहरू स्वयम् त्यही लतमा फसेका छन् । नातागोतामा घनिष्ठताको अभाव छ, परिवारमा एकाङ्की पनि छ, युवामा जिम्मेवारीको कमी छ र पारिवारिक बेमेल बढ्दो छ ।
विश्वास यस्तो कुरा हो, जुन एकपटक अविश्वासमा परिणत भएपछि पुनः पुरानै अवस्थामा फर्काउन प्रायः सकिँदैन । सामाजिक सञ्जालले सम्बन्ध बिगार्ने काममात्र गरेको छैन, सार्वजनिक स्थलमा भेला हुने, भेटघाट, छलफल गर्ने, नातागोतामा आवतजावत गर्नेजस्ता परम्परागत सामाजिक मूल्य–मान्यतामा समेत ह्रास ल्याएको छ । पारिवारिक बेमेलका कारण बालबच्चा राम्ररी सामाजिकीकरण हुन पाउँदैनन् । स्वसंस्कृति ग्रहण गर्न पाउँदैनन्् । फलतः कुलत र कुबाटोमा लाग्न उनीहरूले मौका पाउँछन् । बालविवाहमा वृद्धि हुन्छ । मुलुकका लागि चाहिने होनहार खम्बा आखिर परिवार, समाज र देशका लागि बोझ हुन्छन् ।
यति हँुदाहुँदै पनि सामाजिक सञ्जालका सकारात्मक पानाहरू नभएका होइनन् । एक्काइसौँ शताब्दीको दोस्रो दशक पार गरिसकेको समयमा यसको प्रयोगबाट टाढा रहने कुरा पनि आउँदैन । अतः बुद्धिमत्ताका साथ यसको प्रयोग गरौँ । यसको सदुपयोग गरौँ, दुरुपयोग नगरौँ । परिचितहरूसँग मात्र कुराकानी गरौँ । सीमितसँग सञ्जालमा जोडिऔँ र सुरक्षित ढङ्गले प्रयोग गरौँ ।
(लेखक रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ ।..GOrkha patra

 

You might also like