राष्ट्रकवि घिमिरे र नेपाली कविता

0

 

डा. शैलेन्दुप्रकाश नेपाल

राष्ट्रकवि माधवप्रसाद घिमिरे (१९७६ – २०७७) को भौतिक जीवन र काव्ययात्रामा शतोपरि एक वर्षमा (२०७७ असोज ७ गते १०२ वर्षमा प्रवेश गर्ने ) पूर्ण विराम लागेको घटनाले सम्पूर्ण नेपाली जातिलाई स्तब्ध तुल्याएको छ। अत्यन्त सक्रिय र सद्भावपूर्ण रहेर स्रष्टा घिमिरेको सृजन यात्रा साढे आठ दशकसम्म चल्यो। धिमा गतिमा लेख्ने तर कालजयी रचना सृजना गर्ने उनको वैशिष्ट्यले नेपाली काव्यजगत्लाई अविस्मरणीय गुन लगाएको छ।

कवि शिरोमणि लेखनाथ पौड्यालको परिष्कारवादी शैली तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्वच्छन्दतावादी भावधाराको समीकरण गरेर सुन्दर, स्तरीय र चिरस्मरणीय कविता, गीत र खण्डकाव्य सृजनामा घिमिरेले अद्वितीयता प्राप्त गरे। त्यसैले उनी लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटाका एकल, सशक्त, प्रभावशाली र विशिष्ट उत्तराधिकारीका सुपरिचित रही नेपाली महिमाशाली काव्य सृजनमा शीर्षस्थ रहिरहे। उनको निधनले नेपाली काव्यको एक महत्वपूर्ण युगको अन्त्य भएको छ। लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटाकै साहचर्य र गुरुकुलबाट दीक्षित बनेका कवि घिमिरेले पूर्वीय (संस्कृत) पद्धतिको सर्वदर्शन विषयमा शास्त्री (स्नातक) सम्म अध्ययन गरी पेसाका रूपमा शिक्षण –प्राध्यापन तथा केही समय पत्रकारितासमेत गरेर आफूलाई व्यवहार कुशल बनाउन सफल बने। लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटाजस्ता काव्यमनीषिहरूकै गोरेटोमा हिँडेर आफ्नो मौलिक मार्ग निर्माण गर्ने सफलता प्राप्त गरे। राष्ट्रिय र अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा सहभागी भएर विशिष्ट राष्ट्रिय चेतना र विश्वबन्धु चेतनालाई आत्मसात् गरे। आफूले कवितामा दर्शनको भूमिका सामान्य रहने बताए पनि उनका प्रत्येक रचनाको दार्शनिक धरातल विशिष्ट खालको रहेको हुन्छ।

राष्ट्रकवि घिमिरे महाकवि देवकोटापछिका विशिष्ट खण्डकाव्यकार हुन्। उनका शास्त्रीय र लोकछन्दमा रचित ९ वटा खण्डकाव्य पापिनी आमा, नयाँ नेपाल, गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, धर्तीमाता, गौंथली र गजधम्मे, बोराको परदा र इन्द्रकुमारीमध्ये पत्नी शोकमा रचित गौरी उनको सर्वाधिक लोकप्रिय खण्डकाव्य हो। ऐतिहासिक पृष्ठभूमिका राजेश्वरी र राष्ट्रनिर्माताले मानवीय मूल्य र जीवनबोध तथा राष्ट्रिय अखण्डताको अपरिहार्यतालाई सौन्दर्यपूर्ण शैलीमा प्रस्तुत गरेका छन्। अधिकांश फुटकर कविता सर्वग्राह्य बनेका छन्। घिमिरेको गीतकार व्यक्तित्व सर्वोपरि छ।

नेपाली प्रकृति, समाज, संस्कृति र मानवीय संवेदनालाई सहज, सरल शब्दशैलीमा उनेर प्रस्तुत गर्ने कलामा घिमिरे माहिर बनिरहे। नेपाली लोकलयलाई साहित्यिक उचाइ प्रदान गर्ने कार्यको प्रारम्भ मुनामदनमार्फत् महाकवि देवकोटाले गरे भने राष्ट्रकवि माधवप्रसाद घिमिरेले त्यसलाई सूक्ष्मता र व्यापकता दुवैपक्षबाट उच्चता प्रदान गर्ने अपूर्व सफलता प्राप्त गरे। आफ्नो जन्मस्थल र बाल्यकाल बितेको पहाडी, हिमाली पृष्ठभूमि र त्यहाँको प्रकृति, संस्कृति, लोकधुकधुकीलाई उनले सदैव आत्मसात् गरिरहे। त्यसैले घिमिरेका कविता, गीत सबै नेपालीका धुकधुकी बन्ने गरेका हुन्।

माधव घिमिरे मिठो शैलीमा भाषण गर्थे। मञ्चमा उभिएपछि घण्टौं श्रोतालाई मन्त्रमुग्ध पारेर लठ्याउँथे, कविताको व्याख्या गर्थे। कविताका लागि छन्द र लयको अपरिहार्यताको वकालत गर्थे। उनले मुक्त लय (गद्य शैली) मा कविता लेखेनन्। तर कथालेखनमा प्रवेश मात्र गरे पनि उनको निबन्ध लेखन शैली विशिष्ट प्रकारको र अभिरुचिपूर्ण लाग्दछ। ‘चारुचर्चा’ र ‘ आफ्नो बाँसुरी आफ्नै गीत’ जस्ता सङ्ग्रहले यस कुराको पुष्टि गर्दछन्।

घिमिरे महान् गीति नाटककार हुन्। नेपाली गीतिनाटक लेखन र प्रदर्शनमा माधव घिमिरेको स्थान सर्वोपरि छ। उनका जम्मा ७ वटा गीतिनाटक प्रकाशित छन् ः शकुन्तला, विषकन्या, मालती मंगले, हिमालपारि हिमालवारि, अश्वत्थामा, देउकी र बालकुमारी। सबैजसो गीतिनाटक विषयवस्तु, शैली, लय आदिका कारण विशिष्ट बनेका छन्। मालती मंगलेले त प्रदर्शनको कीर्तिमानै कायम गराएको थियो।

वि.सं. १९९४ को ‘नवमञ्जरी’ शीर्षकको भक्ति र वैराग्यपरक कविता सङ्ग्रहपश्चात् चैत वैशाख (२०६०) कविता सङ्ग्रहमा कवि घिमिरेले आफ्ना सबै लोकप्रिय कविता समेटेका छन्। ‘किन्नर किन्नरी ’ मा उनका एक सय पचासवटा गीतहरु संकलित छन्। उनी लोकप्रिय गीतकार पनि हुन्। शास्त्रीय छन्द र लोक छन्दलाई सहजता, सरसता र सरलता साथ नेपाली जनमानसमा प्रवाहित गर्न उनको विशिष्ट भूमिका रह्यो। नेपाली बालसाहित्य सृजनामा पनि घिमिरेको भूमिका विशिष्ट रहेको छ। घामपानी, बालालहरी, सुनपङ्खचरी र बिजुले र बिजुलालगायतका बालकविता गीतसङ्ग्रहहरूमा उनका अत्यन्त प्रियबाल सामग्री संकलित छन्। बालरुचि, स्तर र मनोभावलाई समेट्न सिपालु कविका बाल रचनाले कीर्तिमान कायम गरेका छन्।

नेपाली कविता, गीत, गीतिनाटक, निबन्ध र बालसाहित्य सृजनामा कीर्तिमान कायम गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको नेपाली काव्यजगत्को अतुलनीय योगदानको उच्च मूल्यांकन गरेर २०६० मा उनको राष्ट्रव्यापी अभिनन्दन गरियो। साथै राज्यका तर्फबाट राष्ट्रकवि उपाधिद्वारा विभूषित गरियो। यस प्रकारको राष्ट्रिय सम्मान प्राप्त गर्ने माधव घिमिरे कवि शिरोमणि लेखनाथ पौड्यालपछिका भाग्यमानी स्रष्टा हुन्। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञाप्रतिष्ठान) का स्थापनाकालदेखि प्राज्ञ परिषद् सदस्य, आजीवन सदस्य, उपकुलपति र कुलपतिसम्म बनेका स्रष्टा घिमिरे सर्वप्रिय, अत्यन्त उत्पे्ररक र आदर्श सर्जक व्यक्तित्वका रूपमा नेपाली समाज र जातिमाझ लोकप्रिय बनिरहे। जीवनको पछिल्लो चरणसम्म ‘ऋतम्भरा’ महाकाव्य सृजनामा तन्मय रहेका घिमिरेले त्यो पूरा गर्न भ्याए कि भ्याएनन् हेर्ने अभिलाषा छ। ( २०७६ फागुनको पहिलो हप्ताको भेटमा १ – २ सर्ग बाँकी रहेको बताएका थिए। ) त्यो धोको पूरा भयो कि भएन ? जिज्ञासा छ।

राष्ट्रकवि माधव घिमिरेको जीवनकालमा ८ जना अध्येताले विद्यावारिधि ( पिएचडी ) अनुसन्धान कार्य पूरा गरे। कमै स्रष्टाले यस्तो सौभाग्य प्राप्त गर्दछन्। महाकवि देवकोटाको निधनपश्चात् १ दर्जन अध्येताले विद्यावारिधि गरिसकेको अवस्था छ। त्यसपछिको उल्लेख्य संख्या राष्ट्रकवि घिमिरेकै विषयमा विद्यावारिधि गर्नेको रहेको छ। घिमिरले अनेकौं सम्मान तथा पुरस्कार प्राप्त गरे। असङ्ख्य स्रष्टाका कृतिमा उनका शुभकामना मन्तव्य समावेश भएका छन्।

घिमिरेको काव्यलेखनको सर्वाधिक महत्वपूर्ण प्रवृत्ति भनेको राष्ट्रिय चिन्तन हो। नेपाल राष्ट्र, नेपाली संस्कृति, नेपाली जाति, नेपाली प्रकृतिको गौरव र राष्ट्रिय अखण्डतालाई सर्वोपरि महत्व दिने स्रष्टा घिमिरेको काव्य सृजन यसर्थ उत्कृष्ट बन्न पुगेको हो। नेपाली प्रकृति, संस्कृति, इतिहास, आदर्श, सभ्यता, जातीयताकै गुणगान गाएर मानवीय जीवनमूल्यको वकालत अनि रहस्यतर्फ सङ्केत गरेर अमूल्य कृतिहरू नेपाली वाङ्मय जगत्मा सुम्पने सफलता प्राप्त गरेका राष्ट्रकवि घिमिरेको निधनसँगै नेपाली कविता काव्यको शीर्षस्थ युगको अन्त्य भएको छ। वि.सं. २०१६ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तथा वि.सं. २०२२ मा कवि शिरोमणि लेखनाथ पौड्यालको निधनपश्चात् नेपाली काव्यजगत्को घिमिरेले साढे पाँच दशक ( ५५ वर्ष ) कुशलतापूर्वक नेतृत्व गरिरहे। आज हामी शून्य अवस्थामा पुगेका छौं।

अन्त्यमा, युगीन स्रष्टा राष्ट्रकवि माधवप्रसाद घिमिरेको दिवंगत आत्माको चिरशान्तिको कामना साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

Annapurna post

You might also like