यसरी जिते बृद्ध दम्पत्तिले कोरोना संक्रमण

0

नवलपुर,साउन १३ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका ८ का ७८ वर्षीय हरीप्रसाद कण्डेलले कोरोना जितेर घर फर्किएका छन् । उनीसँगै संक्रमण देखिएको उनकी पत्नि पूर्णकलाले पनि सँगै कोरोना जितेकी हुन् ।

 

छोरा भेट्न भनी ८३ दिनको भिजिट भिसामा ६७ वर्षकी श्रीमति पूर्णकलाको साथ अष्ट्रेलिया पुगेका कण्डेल दम्पत्ति कोरोना संक्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनका कारण उतै रोकिएका थिए ।

 

१७ दिन होम क्वारेन्टाइनमै 

 

गत असार १३ गतेको फ्लाइटमा स्वदेश फर्किएका उनीहरु असार १४ गते नै गैंडाकोट आइपुगे ।कोरोना संक्रमणको महामारीका कारण कण्डेल दम्पत्तिले घरमै आएर होम क्वारेन्टाइनमा बसे ।

 

घर आएको १७ दिनमा पीसीआर परीक्षण गर्दा त्यसको दुई दिनपछि कोरोना संक्रमण देखियो । बृद्ध दम्पत्ति दुबैलाई कोरोना संक्रमण देखिएपछि जिल्लाको एक मात्र आइसोलेशन रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको कोभिड १९ अस्थायी अस्पतालमा ल्याइयो ।

 

प्राकृतिक चिकित्सालयमा आएको ११ दिनमा नै बृद्ध दम्पत्तिको रिपोर्ट नेगेटिभ आयो ।हरीप्रसादले आफूलाई ज्वारो आउने, खोकी लाग्ने जस्ता कुनै लक्षण नदेखिएको बताए । ‘मलाई ज्वरो आउने, रुघा लाग्ने, पेट लाग्नेजस्ता कुनै पनि समस्या भएन’, उनले भने– ‘घाँटीमा काँसो लागेजस्तो (कफ नआउने) चाँही भएको थियो ।’

 

बृद्ध दम्पत्तिको आत्मबल बलियो

 

कोरोना लागेर बाचिन्न कि भन्ने आफूलाई कहिल्यै नलागेको उनले सुनाए । हरीप्रसाद दमका बिरामी हुन् । मुटु रोगीसमेत उनलाई गत वर्षबाट मधुमेह पनि देखियो । पूर्णकलाले भने आफूलाई त्यस्तो रोग नभएको बताइन् ।

 

कण्डेल दम्पत्तिको आत्मबल बलियो थियो । प्राकृतिक चिकित्सालयका चिकित्सकको सल्लाहमा उनले उपचारका सबै पद्धति अपनाए ।

 

‘महपानी खानदेखि तातो पानीको बाफ लिने काम गरियो, डाक्टरले जडिबुटीका औषधि पनि दिए, त्यसले नै सबैलाई ठीक गरेको हो ।’ हरीप्रसादले भने ।

 

वाफ लिने, कसरत गर्ने, डाक्टरले भनेका औषधिहरुको प्रयोग नियमित गरेमा कोरोना लागेको जो कोहीलाई निको हुने उनले सुझाए । विरामीले सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

 

कत्ति पनि विचलित नभइ डाक्टरको परामर्शअनुसार उपचार गरेपछि कोरोनालाई जित्न सकिने रहेछ भन्ने हरीप्रसादलाई मात्र होइन, उनकी पत्नि पूर्णकलाको पनि विश्वास जागेको छ । अस्पतालबाट निको भएको प्रमाणपत्र लिएर निस्किँदै गर्दा बृद्ध दम्पत्तिले अस्पतालका डाक्टरहरुको निकै प्रशंसा गरेका थिए ।

 

तनाव ब्यवस्थापन सबैभन्दा ठूलो औषधि

 

संक्रमितहरुका लागि सबैभन्दा ठूलो औषधि भनेकै तनाव ब्यवस्थापन भएको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा.बिनोद पौडेलले बताए । बुवा आफूले आध्यात्मिक कितावहरु अध्ययन गर्नु जस्ता कुराले रोगसँग लड्ने क्षमता र आत्मबल बढाएको डा. पौडेलको भनाइ छ ।

Nawalpur Fm

You might also like