लमजुङको पल्लोटारीमा निरन्तर पहिरो, २१ घर बगायो, चारसय विस्थापित

0

०८ साउन २०७७

बेंसीसहर : मर्स्याङ्दी–३ पल्लोटारीका सन्तबहादुर अछामीले १३ वर्ष विदेशमा बिताए। साउदी अरबको चर्को गर्मीमा मजदुरी गरेर कमाएको पैसाले चिटिक्कको घर बनाए। कोरना संक्रमणसँगैको लकडाउनले विदेश हैन, स्वदेशमै केही गर्नुपर्छ भनेर यतै दुःखजिलो गर्दै थिए। तर, बुधबार बिहान आएको पहिरोले हेर्दाहेर्दै १३ वर्षको कमाइ मात्र हैन, थातथलो समेत बगायो।

‘पोहोर मात्र १५ लाख खर्चेर घर बनाएको। अहिले नामनिसानै नराखी बगायो’, सन्तबहादुरले भने, ‘अब न सम्पत्ति छ, न घर बनाउने जमिन नै।’ सन्तबहादुरको मात्र हैन पल्लोटारी गाउँमा पोहोर मात्र ६ वटा नयाँ घर बनाएका थिए, ती सबै पहिरोले बगायो।

बुधबार बिहान पौने १० बजे गाउँ माथिबाट झरेको पहिरोले १९ घर बगायो। पहिरो बुधबार दिनभर पनि चल्यो। बुधबार राति थप २ घर बगायो। बुधबार र बिहीबार गरी २१ घर पुर्णरुपले ध्वस्त भएका छन्। बिहीबार बिहान पनि पहिरो चलिरहेको खुदी प्रहरी चौकीका इन्चार्ज यमप्रसाद शर्माले बताए।

पहिरोबाट अन्य ५९ घर उच्च जोखिममा छन्। अधिकांश घरहरु पहिरोले आधा पुरिसकेका छन्। सो गाउँमा ८० घर थिए। ८० घरका करिब ४ सय परिवारलाई अन्यन्त्र स्थान्तरण गरेर गाँसबासको व्यवस्था मिलाइएको वडा अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए।

पहिरोले देवबहादुर गोतामे, सतिस गोतामे, रञ्जना गोतामे, काली अधिकारी, बुद्धीमाया अछामी, बाबुराम अछामी, सन्दीप अछामी, सन्तबहादुर अछामीको घर बगाएको छ। यस्तै उत्सव गोतामे, अनिता गोतामे, आइतबहादुर गोतामे, मानबहादुर अछामी, हिरा गोतामे, शुसिला गोतामे, दीपेन्द्र मजाकोटी, सुनिता मजाकोटी, राजेश मजाकोटी, फुलमाया मजाकोटी, अतिमान गोतामेको घर पहिरोले बगाएको छ।

पहिरो झरेपछि भाग्दै गर्दा ८ जना घाइते भएका छन्। घाइते हुनेमा सृजना गोतामे, सुजन अछामी, कविता बस्याल, देवबहादुर सार्की, जमुना अधिकारी, फुलमाया मजाकोटी, नन्दकुमारी अछामी र मिलन अछामी रहेका छन्। घाइतेमध्ये २ जनाको लमजुङ सामुदायिक अस्पताल बेसीसहर र अन्यको खुदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

मंगलबार सोही स्थानमा पहिरो गएको थियो। मंगलबारको पहिरोले पुरिएका घरका सामान झिक्दै गर्दा बुधबार बिहान पुनः झरेको पहिरो छल्न भाग्दा ८ जना घाइते भएका थिए। पहिरो जोखिमको पूर्वानुमान गर्दै छिमेकी गाउँमा स्थान्तरण गरिएकाले मानविय क्षति हुन नपाएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए।

पहिरोको उच्च जोखिममा परेकाहरुको स्थान्तरणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु खटिएका थिए। उनीहरुलाई खुला स्थान, विद्यालय, सामुदायिक भवनहरुमा अस्थायी रुपमा स्थान्तरण गरी खानेबस्ने व्यवस्था गरिएको गाउँपलिका अध्यक्ष अर्जुन गुरुङले बताए।

गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माका अनुसार पहिरोबाट विस्थापित भएकाहरुको घरबाट खाद्यान्न, लत्ताकपडालगायतका सामाग्री स्थान्तरणको काम पनि भइरहेको छ। पहिरोमा परेर धेरै पशुचौपाय मरेका छन्। बाँचेका पशुचौपायहरुको पनि स्थान्तरण गरिएको अमर माध्यामिक विद्यालयका प्रधानाध्यापक तीर्थ बस्नेतले बताए।

पहिरो पीडितहरुलाई स्थान्तरणपछिको खानपिन र बसोबासका लागि जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, आरसिडिसीलगायतले राहत सामग्री प्रदान गरेका छन्।
सोही स्थानमा ०७५ सालमा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो। त्यसभन्दा अघि पनि ३२ २ पटकसम्म पहिरोले गाउँ पुरेको स्थानीय बताउँछन्। ‘विगतका वर्षहरुमा पनि पहिरोले दुख दिइरहेकाले अबका दिनमा त्यहाँ पुनः गएर बस्न सकिदैन’, पहिरो पीडित अतिमान गोतामेले भने, ‘हाम्रो स्थायी बसोबासका लागि सरकारसँग माग गर्दर्छौं।’

Annapurna post

You might also like