श्वासको अन्त्य : जीवन र जगतकै अन्त्य !
डा. नम्रता पाण्डे
हामी हाम्रा इन्द्रीयहरूको स्वभाव, गुणवत्ता र क्रियाकलापको आधारमा कर्म गर्दछौं ,अर्थात् कर्म गर्न प्रेरित हुन्छौं। पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेंन्द्रीयको माध्यमबाट भिन्दाभिन्दै अनुभव हासिल गर्दछौं। शरीरसँग जोडिएर आउने क्रियाकलापमा योग अर्थात् जोड थपियो भने यसले विस्तार या फैलावटमा लैजान्छ। आन्तरिक ऊर्जाको फैलावट ज्ञान र अनुभवको फैलावट हो। त्यसैले तन्त्र र तन्त्रयोगको बारेमा धेरै भ्रम र अनावश्यक जानकारी राख्नु भन्दा वास्तविकता के हो र मानव जीवनको विकास र रूपान्तरणको लागि तन्त्रयोगका आयाम के-के छन जान्नु आवश्यक छ। सुन्दा आश्चर्य लाग्छ तर वास्तविकता के हो भने जसले हामीलाई जीवित राखेको छ, जीवन दिएको छ उसलाई हामीले भुलिरहेका छौं।
हाम्रो शरीर, नाम, पद, प्रशंसा जुन आधारमा हामीलाई संसारले चिन्दछ, त्यो परिचय तबसम्म बाँकी रहन्छ जबसम्म हाम्रो श्वास बाँकी रहन्छ। जुन क्षण हामीले श्वास लियौं तब जीवन प्राप्त गर्यौं र जुन दिन यो श्वास छुट्छ त्यो दिन हामी पनि यो संसारबाट छुट्छौँ। हाम्रो शरीर छुट्छ, नाम, पद जुन पनि परिचय पाएका हुन्छौं, त्यो पनि छुट्छ। तन्त्र अर्थात् तन (शरीर र इन्द्रीय) सँग सम्बन्धित प्रक्रिया भएकोले श्वासलाई तन्त्रबाट अलग राखेर तन्त्रयोगको मर्म र वास्तविकता बुझ्न सकिन्न। जीवनमा सबै कुरासँग परिचित हुने, जानकारी राख्ने तर आफ्नै जीवन अर्थात् प्राण (श्वास) सँग परिचित भएर साक्षीपूर्वक हेर्न नजान्ने ज्ञान हामीमा छ भने त्यो अपूर्ण ज्ञान हो। मानिस चन्द्रमामा कसरी पुग्ने, अन्तरिक्षको अध्ययन, विज्ञानका नयाँ नयाँ प्रयोग र प्रविधिको अनुसन्धान र प्रयोगको बारेमा जानकार छ, ज्ञान छ। तर आफूले जीवन्तता प्राप्त गरेको श्वासप्रति ख्याल छैन। यसको महत्व राम्ररी सम्झेको जस्तो लाग्दैन। श्वास तन्त्रयोगका केहि आयामबाट अरू प्रष्ट हुने कोसिस गरौं। श्वासप्रश्वासबीचको जीवन ओशोले तन्त्र सूत्र विधिको विज्ञान भैरव तन्त्र; प्रवचनमाला-१ मा उल्लेख गर्नुभएको छ कि – भगवान शिवले देवी पार्वतीलाई १०८ ध्यानका विधि सिकाउँदै गर्दा श्वास तन्त्रयोगलाई विशेष तरिकाले बताउनुभयो। श्वास भित्र लिँदा र श्वास बाहिर छोड्दा बिचमा जुन अन्तर आउँछ, त्यसलाई होशपूर्वक हेर्न वा महसुस गर्न जान्यौँ भने विशेष अनुभूति प्राप्त हुन्छ।
तिमी कल्याण चाहन्छौ भने आफ्नो स्वभावलाई करूणावान बनाउनको लागि केवल आउँदै जाँदै गरेको श्वासलाई गहिरिएर हेर्ने अभ्यास बनाऊ। जन्मसँगै शुरू भएको श्वाससँगै जीवन चल्दै जान्छ। जीवनदेखि मृत्युसम्मको बिचमा अनेक परिवर्तन आउँछन् तर श्वास एकनासले चलिरहेको हुन्छ। बच्चा जवान हुन्छ, अध्ययन गर्छ, युवा हुँदै उमेर बढ्दै जान्छ, नोकरी शुरू गर्छ। कहिले स्वस्थ त कहिले बिरामी पर्छ, जवान शरीर उमेर बित्दै जाँदा जीर्ण हुन्छ, अशक्त हुन्छ। तर, श्वास निरन्तर, अपरिवर्तित चलिरहेको हुन्छ। व्यक्तिले श्वास प्रश्वास गरिरहेकै कारण जीवित हुन्छ। जुन क्षण श्वासप्रश्वास रोकिन्छ, त्यो क्षण जीवन पनि समाप्त हुन्छ। श्वासको लय र जीवनशैली कुनैपनि संगीत सुन्दा हामी त्यसमै विलीन हुन पुग्दछौं, कारण त्यसमा लय हुन्छ। लयले एउटा समान गति दिन्छ। हाम्रो जीवनशैली पनि लय अनुसार चल्न जान्यो भने सम्यक तरिकाले जीवन चल्छ, विना उतारचढाव। परिस्थितिमा उतारचढाव आउन सक्छ, तर हाम्रो मनस्थितिलाई सहज बनाउने कला जान्नुपर्दछ। परिस्थिति हामी परिवर्तन गर्न सक्दैनौं। तर आफूलाई व्यवस्थित गर्न सक्दछौं। आफूलाई व्यवस्थित गर्ने पहिलो सरल माध्यम हाम्रो श्वास हो। जब पनि असहज अवस्था आउँछ : तत्कालै लामो, गहिरो श्वास लिँदै, आउँदै जाँदै गरेको श्वासमा ध्यान दिनासाथ हामी सहज बन्न सक्दछौं। हाम्रो श्वासलाई लयबद्ध बनाउने कला पनि हाम्रै हातमा छ। हामी शान्त, सहज, प्रसन्न बन्यौँ भने श्वासको गति पनि एकनासको हुन्छ। हाम्रो शरीरमा सकारात्मक ऊर्जा प्रवाहित हुन थाल्दछ र ऊर्जा उर्ध्वगमन हुन थाल्छ।
हामी जब क्रोधी, अराजक, अधैर्य बन्दछौँ ,तब हाम्रो श्वास पनि अराजक तरिकाले छिटो छिटो चल्न थाल्छ। शरीरमा नकारात्मक ऊर्जा फैलिन थाल्दछ अनि ऊर्जा अधोगमन हुन थाल्छ। हाम्रो श्वासको अराजकताले हाम्रो सोचाई र व्यवहारमा प्रतिकूल असर पर्न थाल्छ। उच्च रक्तचाप, हृदयरोग लगायतका बिरामीको कारण पनि यहि हो। श्वास भावसँग जोडिएको हुन्छ। भाव बदलिनासाथ श्वास बदलिन्छ भने श्वास बदलिनासाथ भाव बदलिन्छ। थोरै कोशिस गर्ने हो भने, क्रोध आएपनि श्वासलाई स्थिर राख्न सकिन्छ। श्वासलाई स्थिर रहन दिने, शान्त रहन दिने, र श्वासको लय टुट्न नदिने हो भने चाहेर पनि क्रोध उत्पन्न हुन सक्दैन। क्रोध आएपनि समाप्त भएर जान्छ। क्रोध आउन श्वास आन्दोलित हुनैपर्छ। श्वास आन्दोलित हुनासाथ भित्रको केन्द्र डगमगाउँछ, अन्यथा क्रोध शरीरमै बाँकी रहन्छ। जबसम्म चेतना आन्दोलित हुन पाउँदैन तबसम्म शरीरमा उत्पन्न क्रोधले कुनै अर्थ राख्दैन। चेतना आन्दोलित हुनासाथ क्रोधसँग जोडिन्छ। श्वासको व्यवस्थापन अर्थात् लयबद्धताले शरीरमा स्फूर्ति, ताजगी, जीवन्तता, आत्मबल र निर्भयता प्राप्त हुन्छ। श्वासको निरीक्षण गर्ने अभ्यासले आफ्नो गुणवत्ताको पनि निरीक्षण हुन पुग्दछ र हरेक कर्ममा होश बनिरहन्छ। हामी आफैंले गरेका काममा ७५ प्रतिशत काम हामी बेहोसिमै गरेका हुन्छौं। बेहोसीमा गरेको कामको नतिजा सही आउँदैन, अनि बल्ल हामीमा चेत खुल्छ। जस्तो नतिजा हामी चाहन्छौं त्यस्तै काममा लयबद्धता, आफ्नो शरीर र श्वासको लयबद्धता अनि विचारमा सकारात्मकता आवश्यक हुन्छ।
अस्तित्वको आभास मानिस धेरै ठूलाठूला काम म गर्छु भन्ने भ्रममा रहेको हुन्छ। युद्ध जित्नु, व्यापार व्यवसाय सफलता पूर्वक संचालन गर्नु, कुनै कम्पनी चलाउनु, विद्यालय, कलेज चलाउनु, संघसंस्था चलाउनु, घर चलाउनु या सरकार चलाउनु नै किन नहोस्। तर, अस्तित्वको अगाडि यि सब सानातिना काम हुन् त्यसैले यसको जिम्मा मानिसलाई दिएको छ। हाम्रो श्वास प्रश्वासको जिम्मा कसले लिएको छ ? यदि हामी आफैंले सम्झेर श्वास लिने र छोड्ने गर्नुपरेको भए अवश्य बिर्सन्थ्यौँ, हामी ‘रामनाम सत्य’ भैसक्थ्यौं। श्वासलाई छोडिदिँदा त के बाँकि रहन्छ ? सफलता, परिचय, आदि आदि के महत्व रहन्छ ? श्वास रहुञ्जेल यो ब्रह्माण्ड रहने हो आफ्ना लागि। यो ब्रह्माण्डले पनि हामी रहेको अस्तित्वबोध हाम्रो श्वास रहुञ्जेल मात्र गर्ने हो। श्वास प्रश्वास सँगै दुबैले दुबैको अस्तित्वको महसुस गर्छन्। जब श्वास छुट्छ दुबै एकसाथ छुट्छन्। हामी त्यति शान्त, सहज, अधैर्य र होसमा हुँदैनौँ कि हामी आफैं सम्झेर श्वास प्रश्वासको प्रक्रिया गरौं। हामी निद्रामा हुँदापनि हाम्रो श्वास चलिरहेको हुन्छ। हामी गहिरो मूर्च्छामा हुँदा पनि श्वासप्रश्वास चलिरहेको हुन्छ। शरीर भनौं या जीवन, जीवनसँग जोडिएको सबै क्रियाकलाप, मानवीय गतिविधिसँग जोडिएको विश्व, सम्पूर्ण आयामसँग जोडिएको जीवनशैली सबैमा सेतु (पुल) को काम श्वासले नै गरेको छ। श्वास तन्त्रयोग र प्राणायाम श्वास हाम्रो प्राण हो जसले हामीलाई जीवित राखेको छ त्यसैले यो प्राण (श्वास) को आयाम(प्रयोग) प्राणायाम हो। श्वासप्रति जागृत बन्नु प्राणायाम हो। यसलाई बुद्धले अनापानसती योग भन्नुभएको छ। अनापानको अर्थ श्वास प्रति जागरुक हुने;श्वास लिने र छोड्ने। अनापानसती अर्थात् आउँदै जाँदै गरेको श्वासलाई स्मरण गर्नु र यो सँग जोडिनु।
आउँदै जाँदै गरेको श्वासको माध्यमबाट स्मरण गर्दै, विस्तारै विस्तारै अस्तित्वसँग र समष्टीसँग जोडिनु अनापानसती योग हो। यसलाई बुद्धको विपश्यना ध्यान भनेर पनि बुझिन्छ। आउँदै जाँदै गरेको श्वासप्रति साक्षी हुनु र श्वास नै जीवन हो भन्ने अनुभूति गर्नु विपश्यना हो। हामीलाई शरीर र आत्मा छ भन्ने थाहा छ त्यसको बिचको सेतु श्वास नै हो। गहिराइबाट हेर्दै गएपछि श्वासप्रश्वासको बिचको अन्तराल सहजै बोध गर्न सकिन्छ र त्यो अन्तरालमा गहन आनन्द, शान्ति, शुन्यता, करूणा र प्रेमको अनुभूति हुन्छ। मानिसले म जति नै होशियार छु भनेर घमण्ड गरेपनि ६० सेकेण्ड विना हलचल श्वासमा ध्यान देऊ भनेर भन्यो भने ६० सेकेण्डको बिचमा ३- ४ पटक उसको मन/ध्यान अन्यत्र पुगिसकेको हुन्छ। तन्त्रयोग र त्यसमा पनि श्वास तन्त्रयोग मानिसले सुनेर, पढेर धारणा बनाए जस्तो सहज छैन। तर अभ्यास गर्दै गयो भने कठिन पनि छैन। त्यसैले श्वास तन्त्रयोग सुनेजति, बुझेजति, जानेजति व्यवहारमा ल्याउन सकेको पाइँदैन। विचार, भाव, शब्दलाई जबसम्म प्रयोगमा उतार्न सकिन्न तबसम्म सुनेको र धारणा बनाएको आधारमा व्याख्या गर्न सकिन//
Thaha khaber