शक्तिको नशाले निम्त्याउने दुर्दशा

0

नारायणप्रसाद पौडेल

नेपाली राजनीतिको शौभाग्य भन्ने कि दुर्भाग्य ? नचाहँदानचाहँदै पनि टिप्पणी गर्नपर्ने अवस्था आयो– हाम्रा राजनीतिक दलहरू विरोध, विद्रोह, सङ्घर्ष गरेर, विजयी पनि भएर नयाँ व्यवस्था स्थापना गर्नचाहिँ सफल तर सुशासन दिन र सम्मानित हुन असफल देखिए । भावी पुस्ताले त्यस्तै इतिहास पढ्ने भए । २००७ देखि ०१७ र ०४७ देखि ०७७ सालसम्मको इतिहास यस्तै रह्यो । आगत कस्तो होला ?
मिलिजुली सरकार चलाउन नसक्ने, बहुमत दिँदा पनि नहुने, अनि के गर्दा हो हुने ? ०१५ सालको आमचुनावपछि नेपाली काँग्रेसले दुईतिहाइ बहुमतको सरकार बनाउने सुखद अवसर पाएको थियो । त्यसैले निम्त्यायो ०१७ साल । त्यसपछिको ३० वर्षसम्म राजनीतिक दलहरू प्रतिबन्धित रहे । खुला हुनका लागि पनि ०४५÷४६ सालमा संयुक्त सङ्घर्ष गरे र प्रजातन्त्रको पुनःस्थापन भयो । ०४७ सालपछि पनि काँग्रेसकै बहुमतको सरकार बन्यो, अन्तरकलहले मध्यावधि निर्वाचनमा गयो र अस्थिरता निम्त्यायो । त्यसपछि दलीय राजनीतिको फोहोरी खेल अति निकृष्ट रूपमा प्रकट भयो र जे नहुनुपर्ने थियो, त्यही हुन गयो । सङ्कटकाल लगाएर पनि काँग्रेसले सरकार चलाउन नसकेपछि अन्ततः राजालाई बुझायो तत्कालीन प्रजातन्त्र । तत्कालीन राजाबाट फर्काउनका लागि पनि संयुक्त सङ्घर्ष चल्यो ०६२÷६३ सालमा र पुनः सफलता हात प¥यो । प्रजातन्त्र वा लोकतन्त्रका लागि बाधक मानिएको राजतन्त्र गयो र आयो गणतन्त्र । दसवर्षे जनयुद्ध लडेर आएको माओवादीले पनि अत्यधिक बहुमत पायो गणतन्त्रमा, त्यो बहुमतले उसैलाई सिध्यायो, छिन्नभिन्न गरायो । ‘प्रचण्ड’, ‘किरण’ र बाबुराम अलगथलग छन् । त्यसपछिको चुनावमा दुई शक्तिशाली कम्युनिस्ट मिलेर जाँदा दुईतिहाइको नजिक पुगे । सहयोगीको समर्थनमा दुईतिहाइको सरकार पनि चल्यो अढाई वर्ष । तर पनि हर्ष मनाउने मौका आएन किन ? विश्वभरि यति ठूलो महामारी फैलिँदा पनि हाम्रो देशको राजनीतिक नेतृत्वले किन चेतेन ? कोरोना र सलहभन्दा घातक छ, यो कलह ।
‘जसले दोस्रोको दोषमाथि ध्यान दिन्छ, ऊ आफ्ना कमजोरीप्रति अन्धो हुन्छ’ ओशोको भनाइ स्मरणीय लाग्यो । आपत् परेका बेलामा मिल्ने राजनीतिक दलहरू सहज वातावरण बन्दाबित्तिकै एक–अर्कालाई निल्ने दाउमा लाग्नाले यस्तो भन्नुपर्ने अवस्था आएको हो । पौराणिककालको ऐतिहासिक राज्य हस्तिनापुरको हविगत दोहोरिन थालेजस्तो छ, नेपालमा पनि । नत्र घरभित्रको झगडामा पनि को–कति तगडा भनेर यति अशोभनीय तरिकाले प्रतिस्पर्धा गर्न हुँदैनथ्यो । त्यसैले भन्न परेको होला– विनाशकाले विपरीत बुद्धि ! कहिले आउने हो सद्बुद्धि ?
महाभारतको कथामा षड्यन्त्रका लागि शकुनी साहै्र चर्चित छन् । गङ्गापुत्र भीष्मले गान्धारीलाई दृष्टिविहीन धृतराष्ट्रकी जीवनसङ्गिनी बनाएकोमा बदला लिनका लागि आफ्नो जीवन समर्पण गरे, महाभारत युद्धका सबै षड्यन्त्रको सूत्रधार बने, कौरवहरूको वंशविनाश पारे । नेपालका राजनीतिक दलहरूभित्र पनि लुकेको स्वार्थ, दम्भ, अहङ्कार, पद र पुरस्कारलाई प्रोत्साहन गर्ने शकुनीको षड्यन्त्रभन्दा कम रहेन । त्यसैले जनताले चाहेको काम हुन सकेन । हरेक दलभित्र धृतराष्ट्र, गान्धारी, दुर्योधन, दुशासन र कर्णका नवीनावतार छन् । जसले सधैँ लक्षागृह र द्युतक्रिडाको दुर्भाग्यमा पनि अट्टाहास गर्छन् । भीष्मपितामह, आचार्य द्रोण, कुलगुरु कृपाचार्य, महामन्त्री विदुरजस्ता विद्वान् र महावीरहरू पनि पाण्डवका विरुद्ध रचिएका हरेक षड्यन्त्र र अपराधमा मूकदर्शक बन्न विवश छन् । द्रौपदीको चीरहरण पनि सामान्य बन्छ । त्यसैले त विनाश निम्तिन्छ र भनिन्छ– अति सर्वत्र वर्जयेत् ।
काँग्रेस र तत्कालीन माओवादीले पाएको बहुमतको नतिजा राम्रो रहेन विगतमा । अहिलेको शक्तिशाली बहुमतले पनि सोही बाटो पछ्याउँदै जान थालेजस्तो छ । विगतको त्यो नकारात्मक पाटोबाट सकारात्मक शिक्षा किन लिइएन ? कुन अपराधको सजाय दिइँदै छ व्यवस्था, देश र जनतालाई ? अधर्मका आकार बढ्नु र पापका प्रकारले शिखर चढ्नुमा कमजोरी कसको ? दम्भको, अहङ्कारको, सत्ता र शक्तिको कि अन्धसमर्थन र अन्धभक्तिको ? राणा शासनको अन्त्य भएको सात दशक पार भयो । उसैले बनाएर छाडेका महलमा बसेर सरापिँदै छ अझै त्यसैलाई । निर्दलीय पञ्चायती व्यवस्थाको दाहसंस्कार भएको पनि तीन दशक पार भयो । उसले निर्माण गरेका कलकारखाना, उद्योगधन्दा र जोडेर छाडेका देशलाई आत्मनिर्भर बनाउनेखालका सारा संस्था र संरचना बेचेर खाएर पनि अघाएन प्रजातन्त्र र लोकतन्त्र ? सम्पन्न हुने नाममा यति धेरै विपन्न र पराश्रित किन भयो देश र परिवेश ? उहिल्यै मरेको त्यो राणातन्त्र र निर्दलीय पञ्चायतको भूतले चिहानबाटै सोध्दै छ । जवाफ कसले दिन्छ ? जिम्मा लिएका राजनीतिक दलहरू उम्कन कसरी मिल्छ ? मिल्दैन ।
सोच्नुुुस् नेताज्यूहरू र जवाफ पनि खोज्नुस् । मरेको राणा शासन र पञ्चायतलाई नाजवाफ पार्ने बाटो रोज्नुस् । भूत बनेर तर्साउन नदिनुस् अहिले । यस्तो भएको थिएन पहिले । सडकैभरि तेर्सिएका छन् भालाजस्ता छाती छेड्ने प्रश्न । एउटा राजाका ठाउँमा हजार राजा कसरी र किन उदाए ? देश गरिब र नेता धनी कसरी भए ? यति धेरै प्राकृतिक स्रोत र साधन सम्पन्न मुलुकका बासिन्दा स्वदेशमै काम र माम नपाएर किन बिदेसिए ? देश बनाउन लागिपरेका यति धेरै राजनीतिक दलहरू हुँदाहुँदै जनता बेसहारा हुनुपर्ने दिन कसरी आए ? विदेशमा गएकाहरू उतै बिचल्लीमा छन्, स्वदेशमै रहेकाहरू पनि भय र त्रासकै वातावरणमा बाँचेका छन् । निराशाका काला बादल हटाएर आशा र भरोसाको वातावरण तयार पार्ने जिम्मा लिएका नेताहरू किन आ–आफूमै पाखुरा सुर्कंदै छन्, पौँठेजोरी खेल्दै छन् र मृत्योत्सव मनाउन आतुर देखिन्छन् ?
सिंहदरबार होस् वा त्यसलाई चलाउने पार्टी दरबारभित्र कुन त्यस्तो भूत बसेको छ ? जो गयो, पस्यो र बस्यो उही बरालिन्छ । जति सज्जन र सदाचारी नेता पठाए पनि दुराचारी बनाइदिन्छ त्यहाँको कुर्चीले । एउटा नेता, एउटा दल र सरकारको समस्या रहेन यो, सबै सखाप हुँदै जाने भए । चोखो र निर्मल को बाँकी रहे ? सबै दागी र भागी भए । जो गए वा जसलाई पठाए पनि निस्कने नतिजा उही । विगतको दुर्भाग्य दोहोरिइरहेको छ । शौभाग्यका लागि पनि फेरि मिल्ने कि एक–अर्कालाई निल्ने कसम खाएर आवेग र उत्तेजनाको आगोमा हाम्फाल्ने ? सहयात्रीविरुद्ध जाई लाग्ने ? धैर्यको बाँध टुट्दै छ जनतामा पनि ।
कसैले नचाहँदानचाहँदै पनि सत्तासीन नेकपाको विभाजन भएमा अर्को खिलराज खोजिने, सैनिक शासन लादिने र विदेशी हस्तक्षेपका लागि दरिलो आधार बन्ने अनुमान गर्नेहरू बढ्दै गएका छन् । यो अवस्था यिनका बुद्धिले होइन, अर्कैको परिचालन भन्ने पनि छन् । यस्ता अनुमान गर्ने अवस्था तयार पार्नु कुनै पनि हालतमा शुभसंकेत मान्न सकिन्न । राजनेताहरूकै अराजनीतिक क्रियाकलाप एवम् अहङ्कारका अजीर्ण डकारले त्यस्तो अनुमान गर्ने अवस्था तयार पारेका हुन् । मिल्नुस् नेताहरू आपसमा र समीक्षा गर्नुस्
आ–आफ्ना क्रियाकलापहरू । सफलताका जसमात्रै हैन, असफलताका अपजस पनि बाँड्नुस् आपसमा । परिस्थितिले निर्माण गरेको एकता नभाँड्नुस् र अंशबण्डा पनि नगर्नुस् शासन र आसनको । अलिकति धैर्य गर्न र संयम् हुन सिक्नुस् । हिजो कहाँ र के थिएँ, आज के भएँ, किन यस्तो अवस्था तयार पार्ने वातावरण बनाएँ ? भनेर निधार खुम्च्याउनुस् आफैँ । शक्तिका वरिपरि बसेर प्रशंसाले पुर्ने, स्तुति गर्ने र भजन गाउने, तपाईंहरूलाई कर्णप्रिय लाग्ने कुरामात्रै सुनाउन आउनेहरूबाट सावधान हुनुस् । सत्तान्धताले मदोन्मत्त नहुनुस् । शक्तिको नशा र नशाको शक्तिले जहिले पनि गलत बाटोतिरै डो¥याएको हुन्छ भन्ने नबिर्सनुस् । नशाको शक्ति र शक्तिको नशाले निम्त्याउने दुर्दशातिरको दौड रोक्नुस् । इतिहासले सुम्पेको जिम्मेवारीको भारी बोक्नुस् । शकुनीका षड्यन्त्रको सिकार भएर सहोदरहरूलाई शत्रु नतोक्नुस् ।
आलोचकहरूले बिगारेका हैनन्, छैनन् । प्रशंसकहरूले विमति र आलोचना सुन्नै नसक्ने र बुझ्नै नसक्ने बानी पारेका छन् । धुर्त शकुनीका स्याबासीमा लाग्दा आफ्नाहरू पनि पराया हुने दिन आउन थालेका हुन् । कंसावतारलाई कृष्णावतार भनेर भजाउनेहरूले सिध्याउलान् । विचार गर्नुस् ।

(लेखक स्वतन्त्र पत्रकार हुनुहन्छ ।) 

Gorkha patra

You might also like