सबै मिलेर कोरोना विरुद्धको लडाइँ जित्न सक्छौ – नगर प्रमुख बस्याल

थप सचेतना अपनाउनु पर्दछ - डा. खनाल

0

नवलपरासी १० बैशाख – बर्दघाट नगरपालिकाले नगरवासीलाई लकडाउनलाई कडाईपूर्वक पालना गर्न आग्रह गरेको छ । ७८ बर्षीय पुरुषको पिसिआर परिक्षण पछि आएको नेगेटिभ परिणाम र कोरोनाको अवस्थाबारे सजग गराउन नगरपालिकामा बुधवार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले कारोना बिरुद्धको लडाईमा नगरवासीको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले सबै मिलेर कोरोना बिररुद्धको लडाई जित्न सक्ने भएकोले बन्दाबन्दीको पालना गर्दै कोरोना बिरुद्धको लडाईमा साथ दिन आग्रह गर्नुभयो । हामीले बिहान बेलुका बन्दबन्दीको पुर्ण पालना गरेको देखेका छैनौ – प्रमुख बस्यालले भन्नुभयो – यो बन्दाबन्दी आफ्नै लागि हो भनेर नगरवासीले बुझनु जरुरी छ । उहाँले मर्निङ र ईभिनिङ वाकमा नजान समेत नगरवासीलाई अपिल गर्नुभयो ।

बस्यालले प्रदेश पाँचमा कुनै पनि कोरोना संक्रमित नभएको बताउदैं बर्दघाट नगरपालिका प्रदेशको पुर्वी नाका र भारतको नजिक रहेकोले पनि थप सजगता अपनाउनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा चिसापानी अस्पतालका मेडिकल सुपरिटेन्ड डा. बिजय खनालले ७८ बर्षे पुरुष सहित उहाँका परिवारसहित १२ जनाको परिक्षण गर्दा कसैमा पनि कोरोना पोजिटिभ नदेखिएको बताउनुभयो । डा. खनालले नगरवासीले थप सचेतना अपनाएर नगरलाई सहयोग गरे कोरोना बिरुद्ध सहयोग पुग्ने बताउनुभयो । भारतसंग नजिक भएकै कारण पनि थप सजग हुनु पर्दछ –नगरवासीलाई अपिल गर्दै उहाँले भन्नुभयो । डा. खनालले नगरमा कोरोना परिक्षणलाई तीब्रता दिनुपर्ने बताउदैं लुकेर रहेको कोरोनाका केस हुन सक्नेतर्फ संकेत गर्नुभयो । त्यस्तै ढुक्क भई हाल्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

You might also like