दशैंमा विदेशबाट फर्किंनेले के–के ल्याउँदा तिर्नुपर्दैन भन्सार ?
दशैंका लागि विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? फर्किंदा टन्नै सामान ल्याउने योजना छ भने विचार पुर्याउनुहोला । पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ ।
तुलनात्मक रुपमा विदेशबाट तोकिएभन्दा बढी परिमाणमा सुन, रक्सी र मोबाइल ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले अनुसार सरकारको झिटीगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन उनले आग्रह गरेका छन् । झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए जफत हुने उनको भनाइ छ ।
‘झिटीगुन्टा आदेशले दिएको सुविधामा पनि अरुको समान बोकेर ल्याएको पाए तोकिएको दरमा भन्सार तिराउने गरेका छौं,’ उनी भन्छन्, ‘सुन, रक्सी र स्मार्टफोन (आईफोन) ल्याउनेहरुले बढी नियम मिचेको पाउँछौं ।’
सरकारले विदेशबाट फर्किनेहरुले ल्याउने विभिन्न वस्तुमा भन्सार लाग्ने व्यवस्था गरेको छ । कतिपय सामान ल्याउनै पाइँदैन भने केही सामान भन्सार नतिरी पनि ल्याउन पाइन्छ । त्यसैले एयरपोर्टमा आएर झन्झट ब्यहोर्नुभन्दा पहिले जानकारी लिन अनुरोध गर्छन् भन्सार प्रमुख पोखरेल ।
परिमाण मिचेर रक्सी र अरु सामान ल्याउने क्रम बढ्दै गएपछि जफत गर्ने क्रम पनि बढेको छ । विदेशबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामग्री ल्याउँछन् । तोकिएको भन्दा बढी ल्याए सामान सिधै जफत हुने वा महँगो भन्सार तिर्नुपर्ने पनि हुनसक्छ । कतिपय सामान त परिमाणभन्दा बढी ल्याएमा जफत समेत हुनसक्छ ।
के–केमा भन्सार लाग्दैन ?
विदेशबाट महँगा र ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने समस्या हुनेछ । विदेशबाट बढीमा १ लिटर मात्रै रक्सी ल्याउन पाइन्छ ।
यस्तै ल्यापटप/कम्प्युटर वा ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पूर्ण भन्सार छुट हुन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।
वैदेशिक रोजगारीमा गएर कम्तीमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँछन् । तर, अरु प्रयोजनले विदेशमा गएका र १ वर्ष नबिताएकालाई यो सुविधा छैन ।
विदेशमा काम गरेर फर्किएकाहरुलाई १ थानसम्म नयाँ मोबाइल ल्याउन दिइन्छ । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्बन्धित सामानमा पनि भन्सार लाग्दैन ।
डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १/१ थान ल्याउन भन्सार तिर्नुपर्दैन ।
निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनका सामग्री ल्याउन भन्सार लाग्दैन । तर, ठूलो परिमाणमा ल्याउन पाइँदैन ।
औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने सामग्रीमा पनि भन्सार छुट छ । सात किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।
यात्रुको अवस्था, परिवार संख्या, विदशेमा व्यतित गरेको अवधि लगायतलाई ध्यानमा राखेर भन्सार अधिकारीले औचित्य हेरेर तोकिएभन्दा बढी परिमाणका वस्तु रहेछन् भने छोडिदिन सक्ने व्यवस्था छ ।
६ महिनाभन्दा बढी र एक वर्षसम्म विदेश बसेर फर्किएकाहरुले १५ हजारसम्म र एक वर्षभन्दा बढी बसेर फर्किएमा २५ हजार रुपैयाँसम्मको मूल्यको विभिन्न वस्तुहरु तोकिएको परिमाणमा ल्याएमा भन्सार प्रज्ञापनपत्र नभरी छुट्टै अभिलेख राखेर जाँचपास गर्ने व्यवस्था छ । यो सुविधा अन्तरगत म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा र रेडियो र १/१ थान ल्याउन सकिन्छ ।
शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायत १५ थान, घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २–२ थान, पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने सामान २–२ थान र दश किलोग्रामसम्मको खाद्यान्न ल्याउँदा पनि यही नियम लागू हुनेछ ।
यो सीमा नाघेर आएका सामान भने आर्थिक एन अनुसारको भन्सार महसुल तिरेर मात्रै छुटाउन सकिने छ ।
३२ इन्चभन्दा ठूलो टिभी ल्याएमा इन्चअनुसार भन्सार महसुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।
विदेशमा बसेका व्यक्तिले नेपालमा बसेका आफन्तलाई ल्याएका ३५० डलर मूल्यसम्म्का जुनसुकै वस्तु पनि प्रमाण हेरेर छोडिने नियम पनि छ ।
चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ । तर, सोभन्दा बढी परिमाणमा ल्याएमा दोब्बर भन्सार महसुल लिएर मात्रै भन्सार जाँचपास हुने व्यवस्था छ ।
सुनको व्यवस्था
विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ ।
५० ग्रामसम्म सुन ल्याउँदा दश ग्रामको ९ हजार ५०० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार ५० ग्रामको ४७ हजार ५ सय रुपैयाँ भन्सार लाग्छ ।
५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ कर लाग्नेछ । यसअनुसार थप ५० ग्रामका लागि ५२ हजार ५०० रुपैयाँ भन्सार तिर्नुपर्छ । सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ ।
५० ग्रामभन्दा बढी सुनका गहना ल्याएमा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ र थप सय ग्रामसम्म ल्याएमा प्रति १० ग्राम १२ हजार ५०० रुपैयाँका दरले भन्सार लाग्ने व्यवस्था छ । सोभन्दा ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।
‘अहिले काँचो सुनलाई बेरुवा औंठी वा बाला बनाएर गहना भन्दै ल्याउनेहरु पनि छन्,’ विमानस्थल भन्सार प्रमुख पोखरेल भन्छन्,‘तस्करी गर्ने नियतले ल्याइने सुन बरामद गरेर तोकिएको परिमाणसम्म भए भन्सार तिराएर छाड्छौं, तोकिएभन्दा बढी भए जफत समेत गर्छौं ।’ onlinekhabar