मुख्यमन्त्री पोखरेलद्धारा बर्दघाट नगरपालिका सहित ६ वटा पालिकाका प्रमुखसंग भिडियो संवाद

स्वास्थ्य सामाग्री अपुग भएको छ – – नगर प्रमुख बस्याल

0

रवि पाण्डेय

नवलपरासी २४ चैत्र – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना संक्रमणको अवस्था र लकडाउनका बारे प्रदेश पाँचका ६ वटा स्थानीय तहका प्रमुखहरुसंग भिडियो संवाद गर्नुभएको छ । उहाँले प्रदेश पाँचको पूर्वी प्रबेशद्धार पश्चिम नवलपरासीकोबर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालसहित प्रदेश पाँचका ६ वटा स्थानीय तहका प्रमुख संग संवाद गर्नुभएको हो । भिडियो संवादमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले नगरपालिकाले १ हजार ८ सय ९९ घरपरिवार अतिविपन्नलाई राहत वितरण कार्य गरेको र प्रकोप कोषमा रकमहरु संकलन कार्य जारी रहेको मुख्यमन्त्री पोखरेललाई जानकारी दिनुभएको थियो । उहाँले एकद्धार प्रणालीमार्फत राहत कार्य भइरहेको र नगरमा स्वास्थ्य सामाग्रीहरु अपुग भएको बारे मुख्यमन्त्री पोखरेललाई बिशेष ध्यानाकर्षण गराउनुभएको थियो । संवादमा मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचका आन्तरिक नाकाहरुलाई थप कडा गर्न गर्न बर्दघाट नगरपालिकाले अझ भुमिका खेल्नुपर्ने भएकाले पुर्वी नाकामा सशस्त्र प्रहरीबाट हेल्प डेस्क स्थापना गर्ने ब्यवस्था मिलाइएको जानकारी दिदै बर्दघाट नगरपालिकाको अवस्था बारे नगर प्रमुख बस्यालसंग जानकारी लिनुभएको थियो ।
त्यस्तै मुख्यमन्त्री पोखरेलले पश्चिम प्रबेशद्धार बर्दियाको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बाँकेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र पाल्पाको बगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद वस्याल भिडियो संवादमा गर्नुभएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्री पोखरेलले गर्नुभएको यो चौथो भिडियो संवाद हो । आजको भिडियो संवादमा गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र भारतसंग सीमा जोडिएका स्थानीय तहका प्रमुख सहभागी हुनुभएको थियो ।
मुख्य मन्त्री पोखरेलले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा समेत छलफल गर्नुभएको थियो । उहाँले स्थानीयतहका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गिनर्देश समेत गर्नुभएको हो ।
त्यस्तै पालिकाप्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्री पोखरेललाई गराउनुभएको थियो । स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्री पोखरेलले आग्रह समेत गर्नुभएको थियो । त्यस्तै पािलका प्रमुखहरुले मुख्य मन्त्री पोखरेल समक्ष स्वास्थ्य सामग्रीको व्यवस्थापन छिटो गर्न आग्रह गर्नुभयो ।
त्यस्तै संवादमा प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरेको र त्यहाँ आइसियु सहितको उपचारको व्यवस्था रहेको मुख्ममन्त्रीले पोखरेलले जानकारी गराउनुभयो । भैरहवामा प्रयोगशाला सञ्चालनमा आएको केही समयमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भएकोले उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न आग्रह गर्नुभयो ।
सबै जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको बताउँदै उहाँले अब आउने स्वास्थ्य सामग्री क्रमशः अरु स्वास्थ्यकेन्द्रलाई पनि पठाउन सकिने बताउनुभयो ।
कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उहाँले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गर्नुभयो । अरु प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिदा जोखिमबाट जोगिन सकिने भएकोले पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराउनुभयो । एक साता मेहेनत गर्नुस त्यसको प्रतिफल आउछ एक साता पुरै लकडाउन ब्यवस्थित गरौ – मुख्यमन्त्री पोखरेलले संवादमा निर्देश गर्दे भन्नुभयो – त्यसको प्रतिफल आएपछि आन्तरिक रुपमा प्रदेशलाई केही खुकुलो पार्न पनि सकिन्छ ।

You might also like