८० जना पत्रकारले परिचय पत्र लिए
चालु आर्थिक वर्षमा सातवटै प्रदेशमा शिविर सञ्चालन गर्ने
केशव अधिकारी तानसेन – प्रदेश पाँचका पत्रकार लाई लक्षित गरी पाल्पामा प्रेस प्रतिनिधि तथा पत्रकार परिचय पत्र वितरण तथा नविकरणको लागि दुइदिने शिविर बिहिबार सम्पन्न भएको छ। शिविरबाट विभिन्न सञ्चार माध्यममा आवद्ध ८० जना पत्रकारले प्रेस प्रतिनिधि तथा पत्रकार परिचय पत्र प्राप्त गरेका छन्।
नेपाल पत्रकार महासंघ पाल्पाको अनुरोधमा सूचना तथा प्रशारण विभाग काठमाण्डौले शिविर सञ्चालन गरेको हो। शिविरमा ३७ जनाको नविकरण, ४२ जनाले नयाँ परिचयपत्र र १ जनाले व्यवस्थापकको परिचयपत्र लिएकोे सूचना विभागका निर्देशक ध्रुब कुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार ३ वटा अनलाईन नविकरण भएको छ भने १ वटा नयाँ अनलाइन दर्ता भएको छ। बुधबार र बिहिबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाको कार्यालय तानसेनमा सञ्चालन भएको शिविरमा पाल्पा सहित छिमेकी जिल्ला रुपन्देही, गुल्मी र नवलपरासीका पत्रकारले सेवा लिएका थिए।
मोफसलमा रहेर पत्रकारिता गर्दै आएका पत्रकारलाई राज्यको मूलधारमा ल्याउनको लागि जिल्ला तहमा पुगेर शिविर मार्फत परिचयपत्र उपलब्ध गराएको शिविरको नेतृत्व गरेका विभागका निर्देशक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सातवटा प्रदेशका १÷१ वटा जिल्लामा शिविर सञ्चालन गर्ने कार्यक्रम अनुरुप पाल्पामा आयोजना गरिएको थियो । चालु आर्थिक वर्षमा सातवटै प्रदेशमा शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ ।