खानेपानी आयोजनाको करिब ७० प्रतिशत काम सकियो

१ हजार ८ सय देखि दुई हजार घर परिवारका लागि पानीको सुविधा हुने

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट – २ चिसापानीमा निर्माणाधीन खानेपानी आयोजनाको करिब ७० प्रतिशत निर्माण कार्य सकिएको संस्थाले जनाएको छ । २०७७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको सो खानेपानी आयोजना ७० प्रतिशत निर्माण कार्य सकिएको चिसापानी खानेपानी तथा सरसफाई उपभोक्ता मुल संस्थाका अध्यक्ष मोहन बहादुर गुरुंगले जानकारी दिनुभयो ।


कुल बजेट ९८ लाख २ हजार ८ सय ८४ रुपैया रहेको सो आयोजनाको सम्पन्न गर्ने ठेक्का मेटिटो कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिले लिएको छ । संस्थाका ब्यवस्थापक माधव भण्डारीका अनुसार निर्माण भइरहेको उक्त आयोजनाको टंकीकोे क्षमता २ लाख २५ हजार लिटर रहेको छ । आयोजना प्रदेश ५ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटीको बजेटबाट निर्माण भइरहेको हो ।
त्यस्तै बर्दघाट– २ चिसापानीमा हाल करिब १४ सय बढि घरधुरी रहेकामा ७ सय ९६ परिवारलाई यो आयोजनाले खानेपानी बिरतण गरेको ब्यवस्थापक भण्डारीले जानकारी दिनुभयो । चिसापानीमा बल्क नम्बर एक देखि सात सम्मका टोलमा संस्थाले पानी आपूर्ति गर्दै आएकोमा जनसंख्या बृद्धि संगै पानी अभाव हुन थालेको थियो । तर पुरानो मुहानको पानी अभाव भएपछि संस्थाले गंगैरानी खोलाको चुरे नजिकै पानीको ब्यवस्थापनका लागि बोरिङ गाडेको थियो । चिसापानीचोक बाट दुई किलोमिटर उत्तरमा मुहान र बोरिङ सहित २ लाख पचास हजार लिटर क्षमताको पानीको टंकी रहेको छ । चिसापानीबाट करिब ५ किलो मिटर उत्तर वनक्षेत्रको गंगैरानी खोलाको शिरमा पानीको मुहान रहेको छ । सो मुहानबाट पुरानो आयोजना मार्फत पानी आपूर्ति हुदै आएको थियो ।
त्यसैगरी हाल निर्माणधीन आयोजना भने चिसापानी बल्क नम्बर ३ मा रहेको छ । करिब ४ लाख ७५ हजार लिटर क्षमताको खानेपानी टंकीको ब्यवस्थापन भईसकेकोले अब वडा नम्बर २ मा पानीको अभाव नहुने स्थानीयको विस्वास छ । अब करिब १ हजार ८ सय देखि दुई हजार घर परिवारका लागि पानीको सुविधा हुने ईन्जिनियरले आफूहरुलाई बताएको ब्यवस्थापक भण्डारीको भनाई थियो ।

You might also like