दसैँ पर्व एक टिप्पणी

0

– हिरामणि दुःखी

 

वर्तमान समयमा यो ‘विजयादशमी’ लाई सकिनसकी हिन्दू समुदायका मानिसहरूले मनाउँदै आएका छन् । वर्ष दिनको सबैभन्दा ठूलो चाडका रूपमा मनाइने भएकाले यो चाडलाई पारिवारिक मिलनका रूपमा पनि मनाइन्छ । देशविदेश गएका आफन्तजनहरू जहाँबाट जसरी भए पनि घरमा आउने, गाउँले दाजुभाइ, इष्टमित्र एकजुट हुने र नाचगान गर्ने, पिङ खेल्ने, मासुभात खाने आदि गरेर रमाइलो गरिन्छ । यसले एक हदसम्म सामाजिक वैमनस्यलाई तोडेर सद्भाव निर्माण गर्न मद्दत पु¥याउने गर्दछ । पारिवारिक तथा कुलकुटुम्बका बीच रहेका तिक्तताहरूलाई मेटाउन मद्दत पु¥याउँछ । वर्षभरि खाने धान, मकै, कोदो, दलहन बालीजस्ता अन्न भित्र्याउने समय भएकाले ऋतुगत हिसाबले पनि रमाइलो हुन्छ । यही मौसममा पर्ने चाड भएकाले केही समय भए पनि समाजमा शान्ति कायम भएको महसुस गर्न पाउनुजस्ता सकारात्मक पक्षहरू पनि छन् ।
यो संस्कारले समाजमा सामन्तवाद र दास मनोवृत्तिलाई पनि संरक्षण प्रदान गरेको छ । पहिलो त यी र यस्ता सबै धार्मिक परम्परा अन्धविश्वासमा आधारित रहेको र मान्छेलाई वैज्ञानिक चेतना दिनुको साटो आध्यात्मिक चेतना थोपर्ने भएकाले समाजमा सामन्तवाद मौलाउने अवसर मिल्दछ । अर्को कुरा ठूलाबडा र मान्यजन भन्ने नाममा ठूलो केलाई मान्ने ? कसैको उमेरलाई मात्र मान्दा त वृद्धवृद्धाहरूको सम्मान होला तर सामन्तवादी चिन्तन र व्यवहार भएका मान्छे उमेरले जति नै वृद्ध भए पनि त्यसलाई मान्नु कति नैतिक र औचित्यपूर्ण हुन्छ ? योभन्दा पनि अझ अर्को पक्ष भनेको यसले संरक्षण गर्ने सामन्तवादी राज्यसत्ता र सनातनी संस्कृतिको कुरा हो । हिन्दू परम्परामा राजालाई दैवीय अवतार भनेर शक्तिका रूपमा मान्ने चलन छ । त्यसैले राजामहाराजाको हातको टीका थाप्ने, गाउँका मुखिया, जिमुवाल, बडघर, महतौंहरूबाट टीका थाप्न जाने (यद्यपि अहिले त्यो लोप हुँदै गएको छ) जस्ता प्रचलनले सामन्तवादको संरक्षण मात्र नभई त्यो नै अपरिहार्य हो भन्ने संस्कारको विकास गराएको छ ।
अर्को पक्ष भनेको गरिबीभित्रको बाध्यताले निम्त्याउने सामाजिक अपराध, कुसंस्कार, शक्ति प्रदर्शन, आडम्बरजस्ता अपराधमनोवृत्तिको विकास हो । नेपाली समाज गरिबीको चरम अवस्थाबाट गुज्रीरहेको छ । सरकारले गरेको असमान विकासप्रक्रियाले उत्पन्न आर्थिक अभाव, पछौटे संस्कृति र सामाजिक उत्पीडनले गर्दा विपन्न वर्गलाई दसैं दशा भएर आउने गरेको छ । मान्छेको हरेक संस्कार र संस्कृति उसको आर्थिक अवस्थाले निर्धारण गर्दछ । वरपर छिमेकमा भएका इनेगिने सम्भ्रान्त परिवारको प्रभावले पार्ने नकारात्मक असरले गर्दा सकिनसकी प्रतिस्पर्धा गर्न बाध्य बनाउने गरेको छ । यसले गर्दा वर्ष दिनमा आउने चाडपर्व मनाउनकै लागि अलिअलि भएको घरबारीसमेत बन्धकी राख्नुपर्ने, ऋण गरेर ल्याएको धनपैसा फजुल खर्चमा उडाउनुपर्ने जस्ता कारणले जनता गरिबीको चपेटामा पर्दै जान बाध्य भएका छन् ।
यसैगरी, मिश्रित समाजमा एउटा धर्मसंस्कृतिको तडकभडकले अर्को धर्मसंस्कृतिका समुदायमा पार्ने नकारात्मक प्रभावले गर्दा साम्प्रदायिकता भड्काउने गरेको पाइन्छ । त्यसले सामाजिक सद्भावलाई समेत खलल पु¥याउने गरेको छ । देशका बहुसंख्यक जनताको घरमा बिहानबेलुका चुलोमा आगो पनि नियमित बल्न सकेको छैन । कमाइकाज गर्न विदेशमा गएर कुल्ली, चौकीदारी र भाँडा माझ्नेजस्ता घरेलु काममा लाखौँ युवा जनशक्ति डुबिरहेको छ । त्यसले वर्ष दिनसम्म गुलामी गरेर पनि दुईचार सय रकम घरमा ल्याउन सक्दैन । गाउँमा काम गर्ने ठाउँ छैन । ठूलाबडा भनिएका शोसक सामन्तहरूको शोषण, दमन, अत्याचार ज्यूँका त्यूँ छ । देशले एउटा राजनीतिक निकास दिनसकेको छैन । अग्रगामी र पश्चगामी दलहरूबीचको द्वन्द्व यथावत् छ । यस्तो बेला मुठीभरका शासक र सामन्तहरूको पछि लागेर अन्धविश्वासी चाड मनाउनुको के अर्थ छ ? फेरि पौराणिक कथालाई आधार मान्ने हो भने पनि यो दैत्य र दानवहरूको राज चलेको बेला मेहनतकस श्रमजीवी जनताले विजयादशमी मनाउनुको के अर्थ रहन्छ ? जहाँ आफ्नो वर्गको विजय भएकै छैन ।

चाडपर्वलाई कसरी बुझ्ने ?
जुनसुकै पर्वहरूको पौराणिक इतिहास हेर्ने हो भने यस्ता पर्वहरू कि तात्कालीन वर्गसङ्घर्षबाट पैदा भएका छन्, कि त प्रकृतिसँगको सङ्घर्ष गर्ने क्रममा अचेतन अवस्थाबाट जन्मिएका छन् । वर्गसङ्घर्षमा एउटा वर्गको विजय हुँदा त्यस वर्गले विजयउत्सव मनाउँदा चाडपर्वको रूप लिएको छ । आफ्नो वर्गको विजयपर्व त्यो विजेता वर्गले पराजित वर्गलाई पनि जबर्जस्त मान्न लगाएको पाइन्छ । जस्तो म¨ोलियन समुदायका गुरुङ, मगर र अस्ट्रो द्रबिड जातिका थारूहरूले दसैँ मान्नु पनि विगतको दुई सय ४० वर्षीय सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको उपज थियो । यो सांस्कृतिक रूपबाट गरिएको वर्गीय उत्पीडन हो, यो अध्यावधी कायम छ । देशमा सामन्तवादी राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना हुँदा पनि हाम्रो देश हिन्दू राज्यकै अवस्थाबाट मुक्त हुन सकेको छैन । राज्यले अरू जाति र धर्मका पर्वहरूको तुलनामा दसैँ तिहारमा बिदा धेरै दिनु, सरकारी तलबमा थप भत्ता दिनु, नेपाली सेनाले दसैँमा हर्ष बढाईं गर्नु, विभिन्न शक्तिपिठहरूको पूजा अर्चना गर्न र बलि दिन राज्यकोषबाट रकम उपलब्ध गराउनुजस्ता कार्यहरू सामन्तवादी हिन्दू राज्यका प्रमाण हुन् । त्यसैगरी राजाले जस्तै राष्ट्रपतिले दसैंको टीका थाप्न जनतालाई आह्वान गर्नु र हिन्दू धर्मका विभिन्न पर्वहरूमा सक्रिय सहभागि भएर हिजोका दिनमा राजाले गर्ने कार्य गर्नु जस्ता कुराले राष्ट्रपति हिन्दू धर्मावलम्बीहरूका मात्र भएको अनुभूति हुन्छ । यसले संविधानमा धर्मनिरपेक्ष राज्य घोषण गरे पनि राज्यसत्ता हिन्दू अतिवादीहरूकै हातमा छ भन्ने कुरा जनाउँछ ।
कुनै पनि हिन्दू वा अन्य धार्मिक चाडपर्वहरू र संस्कारहरूलाई माक्र्सवादीहरूले मान्दैनन् । माक्र्सवाद भनेको भौतिकवादी दर्शन हो । धर्म, संस्कार र चाडपर्वहरू भनेका अध्यात्मवादी विचारका तत्वहरू हुन् । अध्यात्मवादले ‘ब्रह्म सत्य, जगत् मिथ्या’ भन्दछ । अर्थात् यसले वस्तुजगत्लाई असत्य ठान्छ भने ईश्वरीय शक्तिलाई सत्य ठान्छ । यो कुरा विज्ञानको विकासले सोहै«आना गलत साबित गरिसकेको छ । धर्म, चाडपर्व र संस्कारहरू पौराणिक मिथक हुन् । यसका कुनै प्रामाणिक आधारहरू छैनन् । कविलाई अवस्थाका मानिसले अल्पचेतनाका कारण तात्कालिक परिवेशमा प्रकृतिसँग जुध्न कल्पनाको सहारा लिएर लीलाको कल्पना गरे । त्यही श्वैरकल्पनामा आधारित लीलालाई एकपछि अर्को पुस्ताको मानिसले श्रुतिस्मृतिका रूपमा सुन्दै र पछ्याउँदै जाँदा संस्कृतिको रूप लिएको हो । पछि गएर शासकहरूले धर्मका रूपमा प्रचार गरे । त्यसको उद्देश्य थियो, जनतालाई अन्धविश्वासमा रुमल्याएर आफ्नो शासनसत्ता टिकाउनु । त्यो बेला धर्मलाई राज्यको मूल कानून मानिन्थ्यो । अहिलेको भौतिकवादी विज्ञानले त्यो मिथकलाई उद¨याएर छर्ल¨ै पारिसकेको छ । त्यसैले कम्युनिस्टहरू भौतिकवादी हुनुको नाताले यस्ता अन्धविश्वासी कुराहरूलाई मान्दैनन् र मान्नु पनि हुँदैन ।
यदि आपूmलाई सचेत कम्युनिस्ट सदस्य ठान्ने कुनै पनि व्यक्तिले दसैँ, तिहार आदि सबै आध्यात्मिक चाडपर्वहरू मनाउँछन् भने उनीहरूमा भौतिकवादी ज्ञान चेतनाको कमी भएको मान्नु पर्दछ । उनीहरूले वास्तवमा माक्र्सवादको दार्शनिक र सौन्दर्यशास्त्रीय पक्ष बुझेका छैनन् । फलस्वरूप उनीहरूले धर्म, संस्कार, संस्कृति, चाडपर्व आदिका बारेमा बुझ्न र विश्लेषण गर्न पनि सक्तैनन् । चाडपर्व, धर्म संस्कारप्रतिको विश्वास पूरै नहटिसकेकाले छरछिमेकी, नातागोता, परिवारका सदस्यहरू आदिको प्रभाव र दबाबमा पर्छन् र मान्दछन् । पार्टी नेता–कार्यकर्ता हुनु र भौतिकवादी हुनु फरक कुरा हो । एउटा मान्छे वैचारिक ज्ञानसिद्धान्तको अध्ययनले भौतिकवादी हुन सक्छ तर पार्टीका सबै कार्यकर्ता र नेता माक्र्सवादी भौतिकवादी नहुन पनि सक्छन् । त्यसैले त्यस्ता मान्छेहरूले चाडपर्व र परम्परावादी धर्म मान्दछन् । अझ अहिलेको राजनीतिक घटनाक्रमले त कम्युनिस्ट पार्टीहरूलाई सत्ता राजनीतिको चुनावी सङगठनका रुपमा मात्र सििमत गरिदिएको छ । अहिले नेपालका संसदवादी कम्युनिस्टहरू र अन्य पार्टीहरूमा विचारधारा, दर्शन र सांस्कृतिक मूल्यमा कुनै पनि भिन्नता छैन । एउटै विचार र दर्शनमा आधारित राज्यसत्ताको पक्षपोषण गर्दछन् । त्यसैले वर्तमान राज्यव्यवस्था स्वीकार गर्ने कम्युनिस्ट पार्टीहरूले यस्ता पौराणिक मिथकमा आधारित पर्वहरूलाई मनाउनु कुनै अनौठो विषय भएन ।
अर्को कारण हो, चुनावी राजनीति । संसदीय व्यवस्थामा चुनावी भोटबैंकको महत्वपूर्ण स्थान हुन्छ । चाडपर्व, धर्म–दर्शन र परम्परावादी संस्कार मान्ने जनताको मन जित्न र आपूmप्रति जनतालाई आकर्षित गर्न पनि जनताले जे गर्छन्, त्यो मानिदिनु पर्छ भन्ने तर्कका आधारमा नेताहरूले यस्ता मिथकहरूलाई मान्ने गरेका छन् । यो त संसदवादी अवसरवाद हो । एउटा अग्रगामी विचार अँगालेको पार्टीका नेताकार्यकर्ताले चुनावी रणनीतिभित्र भौतिकवादी चेतनालाई समर्पण गर्न हुन्छ कि हुँदैन ? समाज परिवर्तन अग्रगामी विचार फैलाएर हुन्छ वा यथास्थितिवादी संस्कृतिको पछि लागेर हुन्छ ? यदि भौतिकवादी विचारलाई स्पष्टैसँग बुझिबुझीकन पनि अध्यात्मवादी विचारलाई मान्दै जाने हो भने कसरी पूरातनवादी विचारमा परिवर्तन आउँछ ?

उपसंहार
दसैँपर्वको आधार भनेको दार्शनिक रूपमा अधिभूतवाद र आध्यात्मिक आदर्शवाद, राजनीतिक रूपमा सामन्तवादी राज्यव्यवस्था र व्यावहारिक रूपमा अन्धवाद, पूरोहितवाद, ब्राह्मणवाद हो । यसले दाससंस्कृतिको पक्षपोषण गर्दछ । भौतिकवादका विरुद्ध पारलौकिक शक्तिमा विश्वास गर्न सिकाउँछ । यसले गर्दा शासकवर्गबाट गरिएका सबै प्रकारका शोषण, उत्पीडन र दमनका विरुद्ध सङ्घर्ष गर्नु हुँदैन बरू यो त पूर्वजन्ममा पापकर्म गरेकाले यस जन्ममा प्राप्त गरेको फल हो भनेर सन्तुष्ट रहन सिकाउँछ । साथै दसैँलगायतका सबै आध्यात्मिक पर्वहरूले शक्तिको पूजा गर्न सिकाउने र शासकवर्ग स्वयम् शक्तिशाली वर्ग भएको हुँदा त्यसको स्तुति गाउने र त्यसलाई सम्मान गर्नुपर्ने चेतना निर्माण गर्दछ । सारतः सबै धर्मका मौलाना, पादरी, पण्डित, ब्राह्मण, धर्मगुरु आदि जेजस्ता नामका धार्मिक पूरोहितहरू भए पनि तिनीहरूलाई सम्मान गर्नु, चाकडी गर्नु र उनीहरूको विश्वास गर्नु भनेको अन्धवाद हो । यसैले दसैँका अवसरमा ईश्वरप्रतिको भक्ति र प्रसादका रूपमा ग्रहण गरिने टीका–जमरा र आशीर्वादले सामन्तवादको संरक्षण गर्दछ । यिनै सामन्तवादी पर्वहरू नै संस्कृतिका रूपमा विकसित भएका छन् ।
यसरी सारतत्वमा भन्नुपर्दा संस्कृतिलाई समस्त मानवजाति र मानवीकरणको स्तरको परिचयका रूपमा संश्लेषण गर्न सकिन्छ । यो मानवसभ्यताको विकासक्रम सँगसँगै विकसित हुँदै र परिमार्जित हुँदै जान्छ । कविलाई युगको संस्कृति सामन्तवादी युगमा आउँदा परिस्कृत भएर आयो भने सामन्तवादी युगको संस्कृति पुँजीवादी र साम्राज्यवादमा आउँदा अझ विकसित भएर आयो । अब समाजवादी एवम् साम्यवादी संस्कृतिमा फड्को मार्नका लागि नयाँ वर्गसङ्घर्षको सुरुआत भएको छ । समाजवादी संस्कृतिमा जाति, वर्ग, लि¨, क्षेत्र, धर्म, सम्प्रदायका आधारमा विभेद गर्ने संस्कृतिको अन्त्य हुनेछ, जहाँ सम्पूर्ण प्रकारका शोषण, उत्पीडन र विमानवीकरणको अन्त्य हुनेछ र सुन्दर संसारको निर्माण हुनेछ । त्यसपछि सम्पूर्ण मानवजाति अन्तर्राष्ट्रिय जातिमा बदलिने छन् । राज्यसत्ता, धर्म, अड्डा, अदालत, कानून, फौजी शक्ति सबैको अन्त्य हुनेछ । तसर्थ सामन्तवादी एवम् पुँजीवादी साम्राज्यवादी संस्कृति र धर्मको अन्त्य गर्न जरुरी मात्र नभई यो आजको युगको अनिवार्य शर्त बन्न गएको छ । यस्तो बेला भौतिकवादी विचारधारा अँगाल्ने समुदायले पूरातनवादी आध्यात्मिक संस्कृति, धर्म र चाडपर्व मनाउनु हुँदैन । त्यसको विकल्पमा जनताको विजयका उत्सवहरू, सङ्घर्षका गाथाहरू र मानिसले प्रकृतिसँगको सङ्घर्षमा गरेका वैज्ञानिक उपलब्धिलाई संस्थागत गर्ने र त्यसलाई नयाँ संस्कृतिका रूपमा स्थापित र विकसित गरेर लैजानु पर्दछ । moolbato.com

You might also like