यसरी भयो बर्दघाट नगरपालिकाको भवन उद्घाटन ( फोटो फिचर )

प्रमुख अतिथिको अन्योल र विवाद

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको नवर्निमित भवनको शुक्रवार एक समारोहबीच प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले उद्घाटन गरेका छन् ।

तस्बिर रामप्रसाद पौडेलको फेसबुकबाट
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले त्रिवेणीधाम लगायत पर्यटकीयक्षेत्रलाई प्रदेश नम्बर पाँचमा ल्याउनका लागि आफूले सक्दो पहल गर्ने र त्यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष शिवशंकर रायले मदरबाबा र त्रिवेणीधामलाई पश्चिम नवलपरासीमा ल्याउन पहल गर्नुपर्ने बताए । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बर्दघाट नगरको नवनिर्मित भवन ४ करोड १२ लाख लागतमा बनेको जानकारी दिए ।

समारोहमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मराशिनी दिब्यज्योति बहुमुखी क्याम्पसका अध्यष बृहस्पति अधिकारी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष रवि पाण्डेयलगायतले बोलेका थिए । कार्यक्रम नगरप्रमुख धीरज शर्मा बस्यालको अध्यक्षता उपप्रमुख मायादेवी पौडेलको स्वागत पुस्कर काफ्लेको संचालनमा भएको थियो ।
प्रमुख अतिथिको अन्योल र विवादबीच भवन उद्घाटन
बर्दघाट नगरपालिकाको नवर्निमित भवन उद्घाटन गर्न पुर्व अर्थमन्त्री एंव सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेल आउने पक्कापक्की थियो । तर कार्यपालिका बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले वहालवाला मन्त्री बाहेकलाई प्रमुख अतिथि बनाउन नसकिने अडान लिए ।  बिष्णु पौडेललाई ल्याउने भए हाम्रो असहमति रहन्छ –दुई दिन अघि भएको बैठकमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले भनेको कुरा उदृत गर्दै स्रोतले बतायो । अन्तिम समयमा आएर विवादित ठाउमा आउन बिष्णु पौडेल समेत सहमत भएनन – नेकपा सम्बद्धले स्रोत भन्छ – यस्तो विवादित ठाउमा आउन उनी किन मान्थे र ?
कार्यपालिकामा विवाद भएपनि पौडेल नै लाई ल्याउने कसरत भएपनि पौडेल हक्चेपछि अन्तिम समयमा तुहिएको थियो ।
त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले भवन उद्घाटन गर्ने हल्ला हुदैं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले उद्घाटन गर्ने भनिएको थियो ।


तीनदिन अघि नेकपा महासचिव पौडेलले उद्घाटन गर्ने कार्यक्रम भन्दै निम्तो बाँडिएको थियो । तर अन्तिम समयमा पौडेल नआएपछि कार्यक्रममा उपस्थिति समेत न्युनै  थियो । पार्टी महासचिवको भाषण सुन्न नेकपा कार्यकर्ता समेत ब्यग्र थिए ।  पौडेल, पोखरेल, चौधरी र हरिजनको चर्चा भएपनि अन्तिम समयमा भने प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीबाट भवन उद्घाटन भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने ६ जना वडाध्यक्षकोे अडानका कारण अन्तिम समयमा आएर बिष्णु पौडेललाई प्रमुख अतिथि गराउने प्रयास तुहिएको हो ।

यो अडानको शुरुवात बर्दघाट वडा नम्बर १६ का वडाध्यक्ष तथा नेपाल तरुण दलका जिल्ला सभापति सुकबहादुर गुरुंगले गरेका थिए । बिष्णु पौडेललाई ल्याउने भए हाम्रो विरोध रहन्छ – उनले भने – वहाल वाला मन्त्री आए हाम्रो बिरोध हुन्न भन्यौ । अन्तिम समयमा बिष्णु पौडेललाई नल्याउने सहमति भएपनि काँग्रेस सम्बद्ध ५ जना वडाध्यक्ष भने कार्यक्रममा देखिएनन् । कार्यक्रमलाई काँग्रेस सम्बद्धहरुले अघोषित रुपमा बहिस्कार गरेका थिए । तर गुरुंगले आफुहरुले कार्यक्रम बहिस्कार नगरेको दावी गर्छन । बिष्णु पौडेललाई नल्याउने भएपछि कार्यक्रममा हाम्रो सहमति हो – गुरुंगले भने – बहिस्कारै त होइन केही साथीहरु जानुभएको थियो । बिष्णु पौडेललाई ल्याए तरुण दलले कालो झण्डा देखि बिरोधका कार्यक्रम तयारी गरेको समेत बताइएको थियो । प्रमुख अतिथि कसलाई बनाउने भन्ने अन्योलका कारण भवन उद्घाटन कार्यक्रमको शिलालेखमा समेत बिष्णु पौडेलको नाम ढाक्न स्टिकर टांगिएको थियो ।प्रमुख अतिथिको विवाद बारे बर्दघाट नगर कार्यपालिकाका प्रवक्ता रविन्द्र बिक्रम हमालले प्रमुख अतिथि बारे कार्यपालिकामा कुरो उठेको स्विकार गरे । बैठकमा कुरो उठेको हो अरु केके भयो थाहा भएन – उनले भने ।

You might also like