जनप्रतिनिधि र कर्मचारीको पत्रकार महासंघको सदस्यता खारेज गर्न क्रान्तिकारी पत्रकार महासंघको माग

0


काठमाडौं। क्रान्तिकारी पत्रकार महासंघले नेपाल पत्रकार महासंघ सत्ता पक्षीय राजनीतिक दलको भातृ संघको रुपमा परिणत हुँदै गएको आरोप लगाएको छ ।
क्रान्तिकारी पत्रकार महासंघको केन्द्रिय कमिटिको वैठक पछि जारी वक्तव्यमा भनिएको छ – क्रान्तिकारी पत्रकार महासंघको वैठकले नेपाल पत्रकार महासंघले नागरिक अधिकारहरुको अगुवा संगठनको छवि, छाता र साझा चरित्र गुमाउँदै गएको र सत्ता पक्षीय अमूक राजनीतिक दलको भातृसंगठनमा परिणत हुँदै गएको प्रति चिन्ता व्यक्त गरेको छ ।”
त्यसैगरी वैठकले जनप्रतिनिधि, सांसद, मन्त्री र सरकारी कर्मचारीहरु समेत नेपाल पत्रकार महासंघको सदस्य हुने गरेको र उनीहरुले पत्रकार भन्दै सूचना विभागको पास समेत लिने गरेको पाइएकोले त्यस्ताको सदस्यता खारेजी र सूचना विभागको प्रेस पास रद्द गर्न माग गरेको छ ।
क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत र महासचिव रामकुमार श्रेष्ठद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ – एकातिर जनप्रतिनिधि, सांसद, मन्त्री र सरकारी कर्मचारीहरु समेत महासंघको सदस्य रही रहने र अर्कोतिर पेशामा क्रियाशील श्रमजीवी पत्रकारहरुलाई आस्थाका आधारमा सदस्यता दिन विभिन्न उल्झन खडा गरिंदा महासंघ वास्तविक श्रमजीवी पत्रकारहरुको साझा संगठन बन्न नसकेको ठहर गर्दै बैठकले जनप्रतिनिधि, सांसद, मन्त्रीको सदस्यता खारेज गर्न र नयाँ सदस्यताको वातावरण सहज बनाउन विशेष आग्रह गरेको छ ।
क्रान्तिकारी पत्रकार महासंघको वैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले फासिवाद लादिरहेको ठहर गर्दै त्यसका विरुद्ध सिंगो प्रेस जगतलाई आन्दोलिन बन्न आव्हान समेत गरेको छ ।

प्रेस वक्तव्यको पूर्ण पाठ

साउन २४ र २५, २०७६ मा क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिको बैठक काठमाडौंको घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा बस्यो । संगठनका अध्यक्ष इन्द्र राउत र महासचिव रामकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१– बैठकको सुरुमा महान सहिद कृष्णसेन इच्छुक लगायत देश, जनता र परिवर्तनका पक्षमा कलम चलाउने क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण महान सहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२– सचिव अनु निरौलाका दाजु नरबहादुर निरौला, केन्द्रीय सदस्यद्वय दामोदर खनालकी आमा मिना खनाल र सागर श्रेष्ठकी आमा ललिमाया श्रेष्ठको असामयिक निधन भएको हुँदा बैठकले दिवंगतप्रति हार्दिक श्रद्धाञ्जलीसहित शोक प्रस्ताव पारित ग¥यो ।
३– संगठनका पदाधिकारी, प्रदेश संयोजक तथा केन्द्रीय सदस्य साथीहरुहरुले कार्यक्षेत्रको संक्षिप्त रिपोर्ट प्रस्तुत गर्नुभयो ।
३– बैठकले भदौं महिनाभित्र सबै प्रदेशको बैठकसँगै अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
४– मिडिया काउन्सील विधेयक फिर्ताको माग राखी जारी आन्दोलन माग पूरा नहुँदै उधारो सहमतिको आधारमा आन्दोलन तुहाइनु आन्दोलनमाथिको धोका भएको ठहर गर्दै बैठकले नेपाल पत्रकार महासंघको नेतृत्वलाई मिडिया काउन्सील विधेयक फिर्ताको आन्दोलन जारी राख्न आग्रह गरेको छ । साथै, संगठनले सबै प्रेस विरोधी विधेयक तथा कानुनहरुका विरोधमा प्रदेशस्तरमा कार्यक्रमहरुको आयोजना गर्ने, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, साना लगानी तथा स्वरोजगार मिडियाको संरक्षण तथा सम्बद्र्धन, पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको विषयमा सम्बन्धित निकायमा दबाब दिने निर्णय गरेको छ ।
५– संगठनको मुखपत्रको रुपमा ‘जनपक्षीय पत्रकारिता’ नामको पत्रिका प्रकाशित गर्ने ।
६– प्रेस काउन्सील नेपालले गर्ने वार्षिक पत्रपत्रिका वर्गीकरणमा पहुँच र आस्थाको आधारमा पक्षपात गर्ने र वर्गीकरण प्रक्रिया समेत पारदर्शी नभएको गुनासो बढिरहेको सन्दर्भमा बैठकले पहुँच र आस्थाको आधारमा पक्षपात नगर्न, वर्गीकरणको प्रक्रिया पारदर्शी गर्न र वर्गीकरणमा परेको बर्षबाटै पत्रपत्रिकालाई सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
७– बैठकले नेपाल पत्रकार महासंघले नागरिक अधिकारहरुको अगुवा संगठनको छवि, छाता र साझा चरित्र गुमाउँदै गएको र सत्ता पक्षीय अमूक राजनीतिक दलको भातृसंगठनमा परिणत हुँदै गएको प्रति चिन्ता व्यक्त गरेको छ । एकातिर जनप्रतिनिधि, सांसद, मन्त्री र सरकारी कर्मचारीहरु समेत महासंघको सदस्य रही रहने र अर्कोतिर पेशामा क्रियाशील श्रमजीवी पत्रकारहरुलाई आस्थाका आधारमा सदस्यता दिन विभिन्न उल्झन खडा गरिंदा महासंघ वास्तविक श्रमजीवी पत्रकारहरुको साझा संगठन बन्न नसकेको ठहर गर्दै बैठकले जनप्रतिनिधि, सांसद, मन्त्रीको सदस्यता खारेज गर्न र नयाँ सदस्यताको वातावरण सहज बनाउन विशेष आग्रह गरेको छ ।
८– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले फासिवाद लादिरहेको ठहर गर्दै त्यसका विरुद्ध सिंगो प्रेस जगतलाई आन्दोलन बन्न बैठकले आव्हान समेत गरेको छ ।
९– बैठकले संगठनको हित विपरीत आचरण प्रदर्शन गरेका केस लोकराज जैसी र दिनेश श्रीवास्तवलाई संगठनबाट निष्कासन गरेको छ ।
१०– बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’, प्रकाशन विभागका प्रमुख रामसिंह श्रीस र संगठनका सल्लाहकार हिरामणि दुःखीले प्रशिक्षणात्मक मन्तव्य तथा संगठनलाई महत्वपूर्ण सुझाव प्रदान गर्नुभयो ।
११–अन्त्यमा बैठकका अध्यक्ष इन्द्र राउतले बैठकले लिएका निर्णयहरु कार्यान्वयनका लागि प्रतिबद्ध भएर कार्यक्षेत्रमा लागिपर्न निर्देशनात्मक मन्तव्यसहित बैठकको समापन गर्नुभयो ।
२०७६/०४/२७

रामकुमार श्रेष्ठ                                                                इन्द्र राउत
महासचिव                                                                       अध्यक्ष

daunne news

You might also like