खेतीलाई जीवनस्तरसँग जाेड्न समृद्धि अभियान, नर्सरीमै बिरूवा हुर्काएर वितरण

0

दाङ, १० असार । डिभिजन वन कार्यालय दाङले वनलाई नागरिकको जीवनस्तरसँग जोड्न जडिबुटी खेतीलाई समृद्धिको अभियानका रूपमा अगाडि बढाएको छ । यस वर्ष डिभिजन वन कार्यालय अन्तर्गतका ३ वटा नर्सरीमा गरी जम्मा १ लाख टिमुर र २० हजार सुगन्धकोकिलाका विरुवाहरु उत्पादन भएका छन् ।

जसमध्ये ५० हजार जडिबुटी विरुवा (टिमुर र सुगन्धकोकिला) यसै वर्ष सामुदायिक वन उपभोक्ता समूह तथा निजी कृषकहरूलाई वितरण गरी वृक्षारोपण गरिँदैछ भने कतिपय राष्ट्रिय वन खण्डमा समेत रोपण गरिनेछ । करिव ५० हजार बिरुवा आफ्नै नर्सरीमा तयार पारेको वन कार्यालयले थप ५० हजार बिरुवा खरिद गरेर टिमुर खेती गर्न चाहने निजी वन धनीलाई वितरण गर्ने योजना अनुसार काम भैरहेको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो ।

जिल्लाका पहाडी क्षेत्रमा टिमुर खेतीका लागी सहयोग गर्ने भएपछि स्थानीय उपभोक्ताहरु निकै उत्साहित भएको वन कार्यालयको भनाइ छ । टिमुरसँगै वन कार्यालयले तेजपात, अमला, कुरिलो लगायतका अन्य जडिबुटीहरु पनि कृषकको माग र वातावरण अनुकुलता हेरेर वितरण  गर्ने कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

दाङको वंगलाचुली गाँउपालिका, घोराही उपमहानगरपालिका १८ र १९, तुलसीपुर उपमहानगरपालिका ३ र १९ लाई टिमुर र सुगन्धकोकिला (मालागेडी) को पकेट क्षेत्र तोकिएको छ भने बबई नदी आसपासको बगर र दाङ उपत्यकाको दक्षिण पश्चिम भागलाई मेन्था, क्योमोमाईल, सर्पगन्धा, कुरिलोजस्ता जडिबुटीको उत्पादनका लागि पकेट क्षेत्र तोकिएको छ ।

यस वर्ष टिमुर र सुगन्धाकोकिलाको पकेट क्षेत्र लक्षित वृक्षारोपण अभियान सञ्चालन गरिने प्रमुख ज्ञवालीले बताउनुभयो । जडिबुटीको पकेट क्षेत्र तोकिएको क्षेत्रमा बस्ने मानिसहरु बसाइँसराई गरी उपत्यका केन्द्रित भएकोले त्यो क्षेत्रमा भएका जग्गाहरु दिनानु दिन अनुत्पादक भईरहेका छन् । त्यस्ता निजी कृषियोग्य जग्गामा रुखहरु हुर्कंदा वन्यजन्तुहरु खेतवारी र गाँउ-वस्तीमै पसेर हानि-नोक्सानी पुर्याइरहेको जनगुनासो समेत बढेकाे छ ।

डिभिजन वन कार्यालयले अघि सारेको टिमुर र सुगन्धाकोकिाला रोपण अभियानले एकातर्फ मानव र वन्यजन्तुबीचको द्वन्द कम गर्छ भने अर्कोतर्फ बाँझो जमिनको उपयोग भई गाँउमा बस्ने र जग्गा भएका जग्गाधनीहरुले छोटो समयमा नै मनग्य आम्दानीको अवसर पाउने बताइएकाे छ ।

News24 nepal

You might also like