टोल विकास संस्थाका लागि प्रशिक्षण

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ को आयोजनामा टोल विकास समृद्ध समाज निर्माण सम्बन्धि प्रशिक्षण शनिवार समापन भएको छ । आठ दिने सो प्रशिक्षण समापन कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले टोल विकास संस्था विकास निर्माणका लागि अपरिहार्य रहेको बताउदै समृद्ध नगरका लागि टोल विकास संस्थाले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरको नजिकको संस्था टोल विकास संस्था रहेको बताउदै नगर विकासका लागि सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

तस्विर रामप्रसाद पौडेलको फेसबुकबाट

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रबक्ता रविन्द्र विक्रम हमालले टोल विकास संस्था स्वयमसेवी संस्था रहेको बताउदै टोल विकास संस्थालाई वडाले अझ जिम्मेवार बनाउदै विकासको काममा जवाफदेहीता बनाउने बताउनुभयो । उहांले टोल विकास संस्थाका क्षेत्राधिकार स्पष्ट रहेकोले त्यसमा अलमल नभई काम गर्न सबैलाई आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष सोबिर पुनले टोल विकास संस्थाको काम कर्तब्य र अधिकारबारे सेवाग्राहीलाई प्रष्ट नभएकोले घरायशी झगडा र पारपाचुकेको लागि समेत संस्थासंग गुहार माग्न सेवाग्राही आउने गरेको बताउनुभयो । कार्यक्रममा काशीराम न्यौपाने र सिर्जना आचार्यले समेत सम्बोधन गर्नुभएको थियो । सो ८ दिने तालिममा इन्द्रेणी सामाजिक विकास मञ्चका बद्री सुवेदी, नारायणदत्त घिमिरे विमल घिमिरे र बर्दघाट नगरपालिकाका लेखा अधिकृत बिष्णुलाल पुरीले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो । समापन कार्यक्रम बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता वडा सदस्य गौमाया पराजुलीको संचालनमा भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य लुकुडी हरिजन र वडा सदस्य विष्णु भण्डारीको समेत आतिथ्यता रहेको थियो । तालिममा २१ वटा टोल विकास संस्थाको सहभागिता रहेको थियो ।

You might also like