मिडिया र प्रबुद्धवर्गले साथ नदिएको नगरप्रमुख बस्यालको गुनासो

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले आफुले गरेका असल काममा मिडिया र प्रबुद्धवर्गले साथ नदिएको गुनासो गर्नुभएको छ । पारिजात सामुदायिक वन उपभोक्ता समुहले आइतवार आयोजना गरेको बैज्ञानिक वनको पुर्नउत्पादन अवलोकन तथा शुभकामना आदान प्रदान कार्यक्रममा नगरप्रमुख बस्यालले आफ्ना असल कामको मिडियाले कम प्रचार गरेको र बुद्धिजिवी तथा प्रबुद्धवर्गले पनि साथ नदिएको गुनासो गर्नुभयो ।

सुनवलमा एउटा मात्र बर्थिङ सेन्टर संचालन भएको छ त्यसको बल्ढेङग्रे अक्षरले समाचार लेखियो – फरक शैलीमा प्रस्तुत हुनुभएका नगर प्रमुख बस्यालले पत्रकारहरुलाई इंगित गर्दै भन्नुभयो – तर बर्दघाटमा तीनवटा बर्थिङ सेन्टर खुल्दाँ समेत प्रचार भएन् । संचारमाध्यमले कम प्रचार गरेको र प्रबुद्ध वर्गले चिया पसलमा बसेर आलोचना गरेको उहाँले आरोप लगाउनुुभयो । हामीले नगरमा धेरै असल कामको शुरुवात गरेका छौ । गएको बर्ष प्रदेश नम्बर ४ जोडने ट्रायक खोल्यौ – कार्यक्रममा प्रमुख अतिथि रहनुभएका बस्यालले भन्नुभयो – ७६ घरधुरीलाई खरको छानो मुक्त बनायौं । प्रचार गरिएन । तर बाटोमा रुख यति ढल्यो । धुलोमुलो मात्र भयो भन्ने प्रचार गरियो ।

नगर प्रमुख बस्यालले गएको बर्ष नगरपालिकाले १० किलोमिटर कालोपत्रे, ६५ किलोमिटर स्तरिय ग्राभेल, बिद्यालय जाने बालकक्षाका बालबालिकालाई दिवाखाजाको ब्यवस्था गरेको लगायतका विवरण सो अवसरमा राख्नुभएको थियो । कार्यक्रममा उहाँले बर्दघाट नगरपालिकामा पर्ने पुर्वपश्चिम राजमार्गको ८२ भित्रको अवरोध हटाउने कार्यको बचाउ गर्दै त्यो नगरकार्यपालिकाको कार्यक्रम भित्र रहेको जिकिर गर्नुभएको थियो ।

 

बस्यालले स्थानीयतह र वन बीच द्धन्द्ध हुने गरेको चर्चा गर्दै इको पार्क बनाउन समन्वयको प्रयत्न गरेको बताउनुभयो । नगरका सबै संघसंस्था बलियो हुदाँ नगर बलियो हुन्छ – उहाँले सो अवसरमा उल्लेख गर्नुभएको थियो । त्यसैले समन्वयको प्रयत्न गरेका छौ । सबै काममा साझेदारी र समन्वय गर्ने उहाँले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । चियापसलमा बसेका गफ गर्ने प्रबुद्धवर्गका साथीहरुलाई एउटा अनुरोध गर्छु हाम्रो कसै संग बैरभाव छैन – प्रमुख बस्यालले भन्नुभयो – सबै मिलेर हेर्न लायक देख्न लायक र बस्न लायक बर्दघाट बनाऔं । ८२ भित्रका संरचना हटाएपछि बर्दघाटमा दुर्घटनामा कमी आएको उहाँको भनाई थियो ।

 

पारिजात सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षता सचिव बालकृष्ण न्यौपानेको संचालन उपाध्यक्ष लक्ष्मी बर्तौलाका स्वागत रहेका कार्यक्रममा वन सब डिभिजन कार्यालय बर्दघाटका प्रमुख भरत भण्डारी , केहर सिं गौतम , होमबहादुर गुरुंग धातानन्द बस्याल,राधा अधिकारीलगायतले बोल्नुभएको थियो । कार्यक्रम अघि पारिजात वनले शुरु गरेका बैज्ञानिक बन ब्यवस्थापनको पुनउत्पादनक्षेत्र अवलोकन गरिएको थियो ।

You might also like