नेपाली ‘ताजमहल’मा बढ्यो चहलपहल

0

पाल्पा – काठमाडौंको धापासीस्थित त्रियोग माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत निरीक्षा शर्माले साथीहरूबाट रानीमहलको बारेमा सुनेकी थिइन् । विद्यालयमा साथीहरूले भन्थे– रानीमहल यस्तो, रानीमहल उस्तो… । कतिले रानीमहल पुगेर फेसबुकमा पोष्ट गरेका तस्वीर देखेर पनि उनलाई चाँडै नै रानीमहलसम्म पुग्ने रहर जागेको थियो । त्यही रहर पूरा गर्न उनले आमाबुवासँग रानीमहल जाने इच्छा प्रकट गरिन् । आमाबाबु पनि छोरीको कुरामा सहमत भए । त्यसपछि यस वर्षको दशैं तिहारको बिदामा पाल्पा जिल्लामा अवस्थित रानीमहल उनको घुम्ने गन्तव्य बन्यो ।  तिहारपछि रानीमहलमा भेटिएकी निरीक्षाले लोकान्तरसँग भनिन्, ‘साथीहरूले भनेको सुनेकी थिएँ, फोटोहरू पनि हेरेकी थिएँ, आज यहाँ आएर प्रत्यक्ष हेर्न पाउँदा एकदमै खुशी लाग्यो ।’ पोखराका लोकेन्द्रमान सिंह आफ्नी दुई छोरीलाई रानीमहल घुमाउन पाउँदा हर्षित देखिन्थे । छोरीसँगै आफ्नो पनि बिदाको सदुपयोग गर्दै रानीमहल आएको उनले बताए । उता चितवन रत्ननगर नगरपालिका- १५ स्थित अर्विट आवासीय माध्यमिक विद्यालयमा तिहारलगत्तै शैक्षिक भ्रमण जाने निर्णय भयो । भ्रमणमा विद्यार्थीको रोजाइमा पर्‍यो, रानीमहल । ३० जना विद्यार्थीसहितको समूह तिहारलगत्तै रानीमहल आइपुग्यो ।  यी त केही उदाहरण मात्र हुन् । पछिल्लो समय रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तानसेनबाट रानीमहल दरबारसम्म सडक सञ्चालनमा आएसँगै यहाँ पर्यटकको संख्यामा वृद्धि भएको हो ।यस वर्षको दशैंतिहार बिदामा त यहाँ पर्यटकको घुँइचो नै लागेको थियो । अहिले पनि दैनिक २ सयभन्दा बढी पर्यटक रानीमहल आइपुगिरहेका छन् ।

पर्यटकको गुनासो : सडक स्तरोन्नति हुनुपर्छ

रानीमहल पाल्पा सदरमुकाम तानसेनबाट १३ किलोमिटरको दुरीमा कालीगण्डकी नदी किनारमा अवस्थित छ ।केही वर्षयता सडक पुगेपनि यहाँ पुग्न त्यति सहज भने छैन । चितवनको अर्विट आवासीय माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा आएको टोली तानसेनबाट दुईवटा जीप रिजर्भ गरेर रानीमहल पुग्यो । विद्यालयकी शिक्षिका अम्बिका बानियाँले तानसेनसम्म बसमा आएपनि सडकका कारण जीप रिजर्भ गर्नुपरेको बताइन् ।उनले भनिन् ‘यति महत्त्वको स्थानमा सडक स्तरीय नहुनु अत्यन्तै बिडम्वना हो । महल त राम्रो लाग्यो तर सडकको अवस्था देखेर भने दु:खी भयौं ।’ सडकको स्तरोन्नतिमा राज्यले चाँडै ध्यान दिनुपर्ने उनले बताइन् ।पोखराका लोकेन्द्रलाई पनि सडकको अवस्थाले रानीमहल पुग्न केही असहज भयो । २०/२१ वर्षअघि सदरमुकाम तानसेनबाट ३/४ घण्टाको पैदल हिँडेर रानीमहल पुगेको सम्झना उनमा ताजै रहेछ । ‘त्यो बेला तानसेनबाट हिँडेरै आएको थिएँ, अहिले सडकले सहज भएको रहेछ । तर सडकको अवस्था अझ सुधार हुनुपर्ने देखें ।’आधा सडक कालोपत्रे भएपनि बाँकी कच्ची छ । कालोपत्रे सडकमा विशेष गरी सडकमा छरिएका गिट्टीका कारण साना सवारी सचेत हुनुपर्छ । केही स्थानमा खाल्डाखुल्डी र हिलोले सास्ती दिन्छ ।अर्घाखाँचीको पाणिनी गाउँपालिका ७ अडगुरीका हरिशरण पन्थी पनि रानीमहलसम्म पुग्ने सडकको स्तरोन्नति हुनुपर्ने बताउँछन् । ‘सडक केही जोखिम भएपनि यहाँ आएपछि भने रमाइलो लाग्यो,’ उनले लोकान्तरसँग भने ।रानीमहल पुग्ने अधिकांश पर्यटकको मुख्य गुनासो हुन्छ, सडक ।देश विदेशमा प्रख्यात् रानीमहल पुग्ने सडकको स्तरोन्नति गर्नसके त्यहाँ पुग्ने पर्यटकलाई सहज हुने र त्यसले पाल्पाको पर्यटकीय विकास सम्भव हुने पर्यटकहरू बताउँछन् । रानीमहलमा पर्यटकका लागि खाना, खाजा तथा बास बस्न स्तरीय होटलहरू पनि खुल्नु जरुरी छ ।सरकारले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्त्वको रानीमहल स्थानीय सरकार तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । अब रानीमहलको संरक्षण र सडक स्तरोन्नतिमा नगरपालिकको ध्यान जानु जरुरी छ ।

रानीको सम्झनामा बनाएको महल

पाल्पागौंडामा तैनाथ तत्कालीन सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए ।वि.सं १९४९ मा शुरू गरी पाँच वर्षमा रानीमहल निर्माण कार्य पूरा भएको थियो । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई ‘प्रेमको प्रतिक’का रूपमा लिइने गरिन्छ ।मृत्युको अन्तिम क्षणमा खड्ग शमशेरले रानीलाई उनको सम्झनामा भारतको आग्राजस्तै ताजमहल निर्माण गरी स्मृतिलाई ताजै राख्ने वचन दिएका रहेछन् ।वचनअनुसार उनले रानीमहल निर्माण गराएको इतिहास छ ।नेपालको ताजमहलका रूपमा परिचित रानीमहल प्रेमजोडीको प्रमुख गन्तव्य मानिन्छ ।मानव बस्तीभन्दा केही टाढा, चारैतिरबाट पहाडले घेरेको, खुला बगरमा कालीगण्डकीको तिरमा अवस्थित रानीमहलले साँच्चिकै पर्यटकलाई लोभ्याउँछ । lokantar.com

 

You might also like