आइसोलेशन भवन निर्माण कार्य पुनः सुचारु हुदै

0

बर्दघाट  – पश्चिम नवलपरासी बर्दघाट–२ चिसापानीस्थित ढेंडारीफांटमा निर्माणाधीन ५० शैयाको कोरोना बिशेष आइसोलेशन सेन्टरको भवन निर्माण कार्य पुनः सुचारु गरिने भएको छ । बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ बाट शुरु गरेको उक्त भवन निर्माणको योजना चालू बर्षको नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकतामा राखिएको थियो । कोरोना कहरबीच आर्थिक बर्ष २०७६/०७७ मा आइसोलेशन सेन्टरको भवन निर्माण थालिएको थियो । सरकारी स्वामित्वको चिसापानी अस्पताललाई नव निर्मित आइसोलेशन भवनबाटै संचालन गर्ने गरी उक्त भवन निर्माण हुदै आएको हो । चिसापानी अस्पताल १५ शैयाको छ । अस्पतालको आफ्नै भवन नभएको कारण भाडाको घरमा संचालन गर्नुपर्नै बाध्यतालाई ध्यान दिदै ५० शैयाको आइसोलेशन सेन्टर भवन निर्माण कार्य हुदै आएको थियो । पूर्व पश्चिम लोकमार्गमा जोडिएको पायक पर्ने स्थानमा शुरु भएको आइसोलेशन भवन गत आर्थिक बर्षको बजेटले सम्पन्न हुन नसकेपछि चालू बर्ष २० लाख बजेट थप गरिएको थियो । ‘ आजै आइसोलेशन भवन निर्माण कार्य शुरु गर्न नगरपालिकासंग सम्झौता भएको छ ।’ आईसोलेसन निर्माण उपभोक्ता समितिका अध्यक्ष डि.पी.श्रेष्ठले भन्नुभयो । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले कोभिड महामारीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको पहुंच बृद्धि गर्न आवश्यक देखिएकोले आइसोलेशन भवन निर्माणको योजना राखिएको र त्यसबाट नगरवासी लाभान्वितमा आफू विश्वस्त रहेको बताउनुभयो । रोकिएको आइसोलेशन पुनः सुचारु हुने भएपछि स्थानीय खुसी भएका छन् । बर्दघाट– २ की वडाध्यक्ष दया दर्लामीले आईसोलेसन भवनले वडामा मात्र नभई पूरै नगरमा नयाँ आयाम थप्ने बताउनुभयो । बर्दघाट – १२ का स्थानीय देवेन्द्र पोखरेल सुजितले रोकिएको काम शुरु हुने कार्यले आफूलाई खुसी बनाएको बताउनुभयो । टस्टबाट निर्मित २ वटा आइसोलेशन भवनका लागि गत बर्ष ६५ लाख रुपैया खर्च थियो ।

You might also like