बाढीपहिरो र प्राथमिकता
स्थानविशेषको विपत्को इतिहास हेक्का राखेर त्यहाँको हावापानीमा आएको सूक्ष्म परिवर्तनका आधारमा मात्र क्षति कम हुने किसिमले भू–उपयोग गर्नुपर्छ ।
कम वा बेसीको मात्र कुरो हो, बाढीपहिरो नआएको वर्ष छैन । त्यसैले वातावरणको क्षेत्रमा सबैभन्दा बढी पढिएको, पढाइएको, छापिएको र छलफल गरिएको विषय पनि सम्भवतः यही हो ।
बाढीपहिरोबाट हुने क्षतिले आर्थिक विकास र गरिबी कम गर्ने प्रयासमा निकै बाधा पुर्याइरहेकाले यस्ता प्रकोप कसरी कम गर्ने भन्ने छलफलमा सन् १९९० को पूरा दशक बितेको थियो । तैपनि प्रत्येक नौ महिनामा दोहोरिने बाढीपहिरोले यस वर्ष त असार नसकिँदै पुनः एक पटक थुप्रै जनधनको नोक्सान गर्यो । पूर्वमा संखुवासभादेखि पश्चिममा बाजुरासम्म बाढीपहिरोमा परी एक महिनायता ९० जनाको ज्यान गयो । थुप्रै हराएका छन् । सयौंको बिल्लिबाठ भएको छ । जग्गाजमिन, वस्तुभाउ, घर र सडक पुल आदिमा भएको क्षति दसौं करोडमा पुगिसकेको छ । साउन र भदौ अझ बाँकी नै छन् । असोजसम्म पनि भीषण बाढीका घटना हुने गरेका छन् । २०३८ असोजमा ललितपुरको दक्षिणी भेगमा आएको बाढीले स्थानीय अर्थतन्त्र ध्वस्त पारेको थियो भने, २०६६ असोजमै मध्य र सुदूरपश्चिममा आएको बाढीपहिरोमा ६५ जनाले ज्यान गुमाउनुपरेको थियो । यस अर्थमा थप नोक्सान हुन सक्ने समय टरिसकेको छैन ।
बाढीपहिरो आउनु प्राकृतिक प्रक्रिया हो, समुद्री किनारमा आउने ज्वारभाटा जस्तै, रोक्न सकिन्न । हिमालय क्षेत्रको बाढीपहिरोकै कारण संसारकै सबैभन्दा उर्वर स्थल गंगाको मैदान (हाम्रो तराईसमेत) बन्यो । पचासौं करोड मानिसलाई चाहिने खाद्यान्न उत्पादन गर्ने गंगाको मैदानको उर्वरा शक्ति कायम राख्न यस क्षेत्रमा आगामी हजारौं वर्ष बाढीपहिरोको प्रक्रिया चलिरहनेछ । बरु जलवायु परिवर्तनका कारण यसको तीव्रता अझ बढ्न सक्छ । प्रश्न के हो भने, बाढीपहिरोबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ कि सकिँदैन ? सकिन्छ भने कुन हदसम्म ? र, त्यो हदसम्म क्षति कम गर्न किन सकिएको छैन ? हरेक वर्ष हजारौंको रुवाबासी र बिचल्ली हुने अनि आफ्नो उन्नतिका लागि ठूलो बाधा बनेको यो समस्या किन हाम्रो प्राथमिकता कहिल्यै बन्दैन ? किन वर्षा सकिएपछि चर्चा हराउँछ ?
पाँच दशकदेखि राज्यले संस्थागत रूपमा बाढीपहिरोको नियन्त्रणमा खर्च गर्दै आएको भए पनि क्षति घटेको भन्न सकिने अवस्था छैन । विद्यमान नीतिले बाढीपहिरोको समस्यासँग जुध्ने स्थानीय समुदायको क्षमताको विकास गर्न नसकेको स्पष्ट छ । समुदायका लागि बाढीपहिरोको समस्या हरेक वर्ष आउँछ । तर नीतिनिर्माणमा तिनको पहुँच प्रायः हुँदैन । फलतः बाढीपहिरोविरुद्ध जुध्ने काम राज्यको प्राथमिकताको सूचीमा तल परेको छ । त्यसमा पनि प्रकृतिको बदलिँदो व्यवहार र स्थानविशेषको प्रकोपको इतिहास नबुझी आफ्नो स्वार्थका लागि जमिनमाथि गरिने जथाभावी हस्तक्षेपका कारण पछिल्लो समय क्षति बढेको देखिन्छ । यसलाई अलि केलाएर हेरौं ।
प्रकृतिको व्यवहार
केही समयदेखि वर्षाको चरित्रमा परिवर्तन आएको छ । २०७४ मा वर्षाको ठूलो भाग तराईमा केन्द्रित भयो । पहाडतिर खासै सर्न नसकेको बादलले तराईमा झापादेखि बर्दियासम्म तीन दिन लगातार वर्षा गराउँदा पनि थोरै उत्तरमा रहेको सँगैको इन्द्र सरोवर पूरा भरिएन । २०७६ मा मनसुन झन्डै दुई हप्ता ढिलो भयो भने, असोजको दोस्रो सातासम्म लम्बिएको वर्षाले प्याजको बाली नास्यो । दसैंको मुखमा प्याज किलोको ५०० रुपैयाँ नाघेको थियो । मनसुन ढिला हुनुको कारण थियो— अरब सागरमा अस्वाभाविक रूपमा उठेको आँधी ‘वायु’ जसले मनसुनलाई अघि बढ्न दिएन । यसपालि अरब सागरमा उठेको आँधी ‘निःसर्ग’ जुनको महिनामा आएको सन् १८९१ पछिको पहिलो आँधी भएको बताइन्छ । गत केही समयदेखि पश्चिमी हिन्द महासागर केही न्यानो रहन थालेकाले अरब सागरमा यस्ता गतिविधि बढेका छन्, जसबाट मनसुन प्रभावित भएको देखिन्छ ।
यसैबीच पहाडमा हुने वर्षा सानो क्षेत्रमा केन्द्रित भई तीव्र हुन थालेको छ । जेठ १४ गते फुलचोकीको पूर्वी भागमा मुसलधारे वर्षा भयो, रोसी खोलामा ठूलो बाढी आयो । तर त्यही फुलचोकीको दक्षिणबाट निस्कने भारदेव खोलामा खासै असर देखिएन, न त पश्चिममा रहेको गोदावरी खोलामै कुनै प्रभाव देखियो । मुसलधारे वर्षा पहिला पनि हुन्थे तर केही–कतै मात्र । सानो क्षेत्रमा केन्द्रित रहेर आउने मुसलधारे वर्षाको यो चरित्र यसपालि सिन्धुपाल्चोकदेखि जाजरकोटसम्मका पहिरोमा सबैतिर देखियो । सिन्धुपाल्चोकमा डाँडाको माथिदेखि आएको ठूलो मात्राको लेदोले तल्लो क्षेत्रमा रहेका पक्की घरको जगैसमेत सोहोरेर लग्यो । तनहुँको व्यास–९, माझफाँटमा पहिरो गाउँमाथिको वनबाट आएको थियो ।
केहीअघिदेखि परेको पानीले गलिसकेको वनमा मुसलधारे वर्षा हुँदा पहिरो चल्यो । यो घटना अकल्पनीय थियो । कुश्माको दुर्लुङमा पनि पहिरो आउला भन्ने थिएन । माथि वन, तल गाउँ । गाउँमाथि रहेको वन क्षेत्रमै भएको मुसलधारे वर्षाको भलले बगाएको लेदोले गाउँमा क्षति गर्यो । म्याग्दीको मराङमा सडक निर्माणका क्रममा वर्षे भल बग्ने सानातिना गल्छीहरू पुरिए । वर्षे भल आउँदा लेदो बनेर बग्नका लागि सामग्री तयार थिए । त्यहाँ पनि मुसलधारे वर्षा भयो र माथिबाट आएको भलले गल्छी खोल्दा एकैपटक ठूलो मात्रामा लेदो बगेर आयो । जनधनको क्षति भयो ।
जाजरकोटमा स्थिति फरक देखियो । गाउँछेउको खेतबारीकै बीचबीचबाट आएका ससाना पहिरोको समष्टिले ठूलो रूप लियो । यहाँ गराले थाम्न नसक्ने गरी वर्षा भएपछि सानो ठाउँबाट भत्कन सुरु भएको पहिरो बढ्दै गएर तल्लो क्षेत्रमा घर पुर्यो । यी घटनाबाट के देखियो भने, पहिले नै माटो गलेको छ भने चाहे घना बाक्लो वन होस् वा गरा बनाई खेती गरिएका पाखा, सानो क्षेत्रमा खनिने मुसलधारे वर्षाले अकल्पनीय क्षति गर्छ । पहाडमा सडक निर्माण गर्दा जथाभावी थुपारेको माटो र थुनिएका खहरेले गर्ने क्षतिको कुरा गर्नैपरेन । वर्षाको यो चरित्रले आउने समयमा पहिरोको समस्या झन् बढाउने आशंका बढाएको छ ।
प्रकोपको इतिहास
पहाडका हाम्रा धेरैजसो गाउँबस्ती र खेतबारी पुरानो पहिरोले थुपारेको माटोमा बसेका छन् । जतिसुकै पुरानो भए पनि पहिरोले थुपारेको गेग्रान आफैंमा कमजोर हुन्छ । तसर्थ गाउँमा ठूलो पानी पर्दार् यी ठाउँ आफैं भत्केर जान सक्छन् भने, माथिबाट जुनसुकै बेला फेरि अर्को पहिरो आउन सक्ने जोखिम पनि नहुने हैन । त्यस्तै, हरेक वर्ष वर्षाको भल माथिबाट तल आउने क्रममा खोल्सी, गल्छीहरू बन्छन् ।
ठूलो पानी पर्दा निस्कने भलले यिनै खोल्सी र गल्छीको पाखा भत्काउँछ । निस्केको हिलो, माटो र ढुंगा सोहोरिएर गल्छीको पुछारमा थुप्रिन आइपुग्छ, जसले गल्छीको आसपास भएका खेती वा घरलाई क्षति गर्ने सम्भावना सधैं हुन्छ । त्यसैले हरेक गाउँबस्तीको तल, माथि, वरपर पहिले भएका पहिरो वा गल्छीका इतिहासको जानकारीले प्रकोपको जोखिमबारे सचेत हुन मद्दत गर्छ ।
अहिले पहिरोले क्षति गरेको प्रत्येक स्थानका प्रकोपको इतिहास हेरेमा त्यस क्षेत्रमा पहिले पनि यस्ता घटना भएको देखिन सक्छ जसलाई यस्ता घटनाको पुनरावृत्ति हुन सक्ने सम्भावनाको संकेत मान्न सकिन्छ । जस्तै : २०४३ मा सुनकोशीको जलाधार क्षेत्रमा भएको चर्को वर्षाले सुनकोशीमा भीषण बाढी आएको थियो । त्यतिखेर पनि बाह्रबिसे उत्तरका सबै क्षेत्र नराम्ररी क्षति भएका थिए । क्षतिग्रस्त अरनिको राजमार्ग माथि सार्नुपरेको थियो । अहिले भएको घटना यसको सानो पुनरावृत्ति हो भन्न सकिन्छ ।
जमिन एउटा जीवन्त प्रणाली पनि हो । त्यसैले प्राकृतिक रूपमै जमिनमा र खास गरी पहाडी जमिनमा परिवर्तन भइरहन्छन् । चट्टानहरू निरन्तर ढुट्टिन्छन् । जमिनमा पानी सोसिने र भित्रभित्रै बग्ने प्रक्रिया सधैं एकै हुँदैन । रूखबिरुवाका जरा बढेअनुसार पानी सोसिने क्रम पनि फेरिन्छ । रूखबिरुवा निरन्तर बढ्छन् र भिरालो पाखामा भार थप्छन् । भार थाम्न नसक्ने पाखा भत्किन्छन्, जसरी तनहुँको माझफाँट वा सिन्धुपाल्चोकको फुल्टिङमा भएको देखिन्छ ।
बाढीपहिरोका कारण जमिनको स्वरूप निरन्तर फेरिन्छ, जसले गर्दा त्यसपछिका वर्षामा आउने भलको बाटो बदलिइरहन्छ । अघिल्लो वर्षको भलले ओसार्न नसकेको गेग्रान त्यसपछिको वर्षाको भलले ओसार्छ, कमजोर ठाउँमा पहिले नआएको भल आउन सक्छ । जीवन्त प्रणालीमा आफैं हुने यस्ता घटना पहाडमा मानिसको बसोबास हुनुपहिले पनि हुन्थे । यस्ता कारणले पनि हामीले बेलाबेला अप्रत्याशित बाढीपहिरोको सामना गर्नुपर्ने हुन्छ । अनुमानै नगरेको पहिरो आइदिन्छ । यस्ता परिवर्तनको जानकारीले पनि जोखिमको स्तर आकलन गर्न सघाउँछ ।
हाम्रो हस्तक्षेप
पहाड होस् या उपत्यका वा तराई, विकास र उन्नति गर्ने क्रममा जमिनमाथि हुँदै आएको हस्तक्षेप अब नौलो रहेन । त्यसैले धेरै व्याख्याको आवश्यकता पर्दैन । नदी किनारको अतिक्रमणदेखि बालुवाको ढिस्को खारेर जग्गा विकास गर्ने काम होस् वा यातायात सुविधा पुर्याउन खास गरी इन्जिनियरिङ र भौगर्भिक पाटाहरू नकेलाईकन बनाइने सडक सञ्जाल होस्, हुने त आखिर जमिनको स्वरूपमा परिवर्तन नै हो, जसले वर्षाको पानीको बहावलाई निरन्तर छेकथुन गर्ने वा त्यसको मार्ग परिवर्तन गर्ने गरिदिन्छ । जमिनको प्रयोग गर्दा पानीको मार्गमा भएको परिवर्तनबारे पटक्कै हेक्का राखिँदैन । यस्तो अवस्थामा चर्को वर्षाले क्षति निम्त्याउनु अनौठो होइन । म्याग्दीको क्षति यसको ज्वलन्त उदाहरण हो ।
अबको बाटो
बाढीपहिरोमा मानवीय र भौतिक क्षति मात्र हुँदैन, विस्थापित र घाइते हुनेको वेदना र मानसिक तनाव पनि अवर्णनीय हुन्छ । राहत सकिएपछि र सञ्चारको ध्यान मोडिएपछि पीडितको अवस्थाबारे सबैको चासो हराउँछ । यस्तोमा क्षतिग्रस्त गाउँमा दुई–चार गरा पल्टेका छन् भने परिवारको बाँच्ने आधार नै हराएको हुन्छ । जाजरकोटको बारेबोटमा नासिएको खेती गर्ने गरा र पर्वतको दुर्लुङमा पुरिएका खेतजस्ता उदाहरण पहिरो गएका सबै ठाउँमा छन् ।
केही मुरी अन्न आउने बाटो हराएकाले परिवारमा ‘अब कसरी बाँच्ने ?’ भन्ने चिन्ता थपिएको छ । यस्तै घटना हुँदा जग्गा उकास्न नसक्नेहरू थातथलोबाटै विस्थापित भएका बग्रेल्ती उदाहरण छन् । तसर्थ, समुदायको आर्थिक–सामाजिक विकास मात्र हैन, सुखचैनका लागि पनि बाढीपहिरोबाट हुने क्षति कम गर्न दुई कुरामा ध्यान जानु जरुरी छ । पहिलो, बाढीपहिरोको
विषयलाई विश्लेषण गर्न अब हिजोको ज्ञानले मात्र पुग्दैन । त्यसैले आजसम्म भएका प्रयासको समीक्षा गर्दै वर्षाको बदलिँदो चरित्रले खोजेको नयाँ सम्बोधनको तरिका पहिल्याउनु जरुरी छ । त्यसका लागि स्थानविशेषको विपत्को इतिहासको हेक्का राखेर त्यहाँको हावापानीमा आएको सूक्ष्म परिवर्तनका आधारमा मात्र क्षति कम हुने किसिमले भूउपयोगका लागि हाम्रो हस्तक्षेप हुनुपर्छ । अन्यथा हरेक वर्ष थप क्षति बेहोर्न हामी बाध्य भइरहनेछौं ।
दोस्रो, बाढीपहिरोसँग जुध्ने काममा स्थानीय समुदायको क्षमता बढ्नुपर्छ । त्यसको सुरुआत क्षति भएका जमिनको पुनःस्थापनाबाट गर्नु वाञ्छनीय हुन्छ । क्षतिग्रस्त जग्गा पुनःस्थापना गर्ने विषय हाम्रो विपत् व्यवस्थापनले समेटेको छैन । जाजरकोटजस्ता अधिकांश ठाउँमा नासिएको जग्गा उकास्न के सहयोग गर्न सकिन्छ ? त्यहाँका किसान थप गरिबीको चपेटामा पर्नुअगावै ध्यान पुर्याउनु आवश्यक छ, त्यो पनि अर्को वर्षाअगावै । यस्ता विषय अबको विपत् न्यूनीकरणको प्राथमिकता बन्न सकेमा मात्र स्थानीय समुदायको आर्थिक–सामाजिक विकासमा बाढीपहिरोलाई जोड्न मद्दत पुग्छ ।
Kantipur