मासुको पोकाभित्र आँसुको कथा
रामप्रसाद गौतम
घरमा बच्चाले अति दुःख दिएमा आमाले भन्ने गरेको ‘यसले त मेरो मासु खायो’ भन्ने वाक्य हामीमध्ये धेरैलाई थाहा छ। मासु खानु भनेको त्यतिबेला झिँज्याउने, आराम गर्न नदिने, रुने कराउने जस्ता बालहठबाट सिर्जित समस्याको आवाज हो भन्ने लाग्दथ्यो। अहिले बुझ्दै जाँदा मासु खान सहज छैन यसले धेरैलाई रोग दिन्छ,अति धेरै खर्च लिन्छ र केहीको ज्यानै लिन्छ। तर, पनि जिब्रोका लागि यो स्वादिलो छ त्यसैले गर्दा धेरै मानिसले यसलाई त्याग गर्न सक्दैनन्। त्यसैले विश्व बजारमा दिनहुँ लाखौँ टन मासुको कारोबार हुन्छ। एक किलो मासु उत्पादनमा हजारौँ लगानी हुने र त्यसबाट मानिसलाई अनेक रोग जन्मने तथ्य बाहिर आएको छ। कुखुरा, बाख्रा राँगा, सुँगर कुनै पनि जनावरबाट मासु उत्पादन गर्दा लाखौँ टन अनाज खर्च गर्नुपर्छ। अनेक रोग पाल्नुपर्छ र पनि मानव जातिले यसलाई त्याग्न सक्दैन।
विश्व स्वास्थ्य संगठनका अनुसार गएको ३ दशकमा आएका ३० वटा नयाँ रोगमध्ये ७० प्रतिशत जनावरबाट आएका छन्। अर्थात् मासुबाट उब्जिएका रोग झेली रहेको छ मानिसले। फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसनका अनुसार विश्वमा ९० प्रतिशत मासु फर्महरूबाट आउँदछ यहीँबाट रोग फैलिने डर सबैभन्दा बढी हुन्छ। सम्पूर्ण मानिसले मासु खान छोड्ने हो भने सन् २०५० सम्म विश्वमा ग्रिन हाउस उत्सर्जनमा ७० प्रतिशतसम्म कमी आउने छ। यसैगरी सबै शाकाहारी बन्ने हा भने विश्वमा खानाको कमी हुने छैन किनकि १ किलो मासुका लागि जनावरलाई १० किलो अन्न खुवाउनुपर्छ। यदि सबै मानिस शाकाहारी हुने हो भने जनावरलाई खुवाइने लाखौँ टन अन्न मानिसमा वितरण गर्न सकिन्छ। जे जस्ता गुण भए पनि मानवले मासु छोडेर शाकाहारी बन्न निकै कठिन छ। मासुमा केवल अर्बौं लगानी मात्र भइरहेको छैन अनेक रोग पनि यसै माध्यमबाट जनतामा फैलिइरहेको छ। सन् २००३ मा सार्स फैलियो, २००९ मा मर्स र एचवान एन वान स्वाइन फ्लु फैलियो। इबोला र जीका भाइरस दोहोरियो। यसैबीच एचआइभी अर्थात् एड्स ज्यादै खतरनाक हेल्थ इस्यु बनेको छ, जसले लगभग ४ करोड मानिसको ज्यान लिइसको छ साथै अहिले २०१९ मा चीनमा फैलिएको कोरोना महामारीले पूरै दुनियाँमा त्राहिमाम भइरहेको छ। यी सबै रोगको एक मात्र स्रोत थियो जनावर र तिनको मासु। अर्थात् मांसाहारी आदत। मानिसले मासु खाँदैनथ्यो भने चीनमा चमेरो वा पेन्गोलिनको मासु खाइँदैनथ्यो।
जसले गर्दा सायद कोभिड १९ बाट भएको अहिलेको विकराल भाइरस रोगबाट मानव यसरी पीडित पनि हुनु पर्दैनथ्यो। तर, मानिसले मासु त्याग गर्न सक्दैन अनेक भाइरसजन्य रोगले मानिसलाई सताउन पनि छा्ड्दैन। विश्व स्वस्थ्य संगठनले गरेको एक अनुमानअनुसार विश्वका १ अर्बभन्दा बढी मानिस जनावरमा फैलिएको रोगको कारण प्रतिवर्ष बिमारी हुने गर्छन्। यसमध्ये लाखौँ मर्छन्। ३० वर्षमा जति रोग लागे त्यसमा ७० प्रतिशत रोग मासुबाट सरेको तथ्य यसअघि नै भनि सकिएको छ। बितेको ५० वर्षमा मानिसकै कारणले ९० प्रतिशत माछाका प्रजाति खतम भएका छन्। १ किलो मासुका लागि २० हजार ९४० लिटर पानी खर्च हुन्छ शाकाहारी खानाका लागि १५ हजार १६० लिटर पानीको खाँचो हुन्छ। यसरी हरेक एक चोक्टा मासुका लागि मानव जातिले अनेक दु:ख भोगेको छ। बाख्रा, सुँगुर, कुखुरा र कुकुर पालिरहेको छ। मासुका लागि मानिस पशुको दास भएको छ। त्यही मासुबाट सिर्जित रोग वा जीवाणुबाट मानव जातिलाई नै खतरामा पारेको छ। विश्वमा १२ अर्ब एकड जमिन खेती काममा प्रयोग गरिएको छ यसमध्ये ६८ प्रतिशत जमिन जनावर पाल्नका लागि मात्र प्रयोग हुन्छ। यदि सबै मानिस शाकाहारी भए भने ८० प्रतिशत जमिन जनावर र जंगलका लागि प्रयोग गर्न सकिन्छ। जसले कार्बनडाइअक्साइडको उत्सर्जनमा कमी आउँछ। बाँकी रहेको २० प्रतिशत जमिनमा मानिसका लागि खेती गर्न पाइन्छ जबकि अहिले खेतीयोग्य जमिनमध्ये अधिकांश हिस्सा मासुका लागि पालिएका जनावरका लागि उब्जाइने अन्नपातका लागि प्रयोग गरिन्छ।
शाकाहारी हुनुका फाइदा यदि सबै शाकाहारी भएमा प्रत्येक वर्ष ६ देखि १० प्रतिशत मानिसको मृत्युमा कमी आउनेछ। ग्रिन हाउस उत्सर्जनमा ७० प्रतिशतले कमी आउनेछ। एक अनुमानका अनुसार २५०० लाख करोड डलर रकम बच्न सक्छ। वर्ल्डवाइड वाच इन्स्टिच्युटका अनुसार प्रत्येक ६ जनामा १ जना मानिस भोकै सुत्न बाध्य छ। यसको मूलकारण मासु उत्पादनका लागि अन्नको दुरुपयोग हुनु हो। यदि जनावर नपालेर मानिसले सिधै अन्न प्रयोग हुने हो भने कोही पनि भोकै हुँदैन। वैज्ञानिकले हालै भनेका छन् आगामी दिनमा अन्नको संकट अति नै गहिरिँदै छ किनकि धेरै अन्न मानिसलाई छोडेर जनावर खुवाइँदै छ। मासु र अन्धविश्वास यसरी स्वास्थ्यको दृष्टिले मासुलाई अति खतरा तत्वको रुपमा हेरिएको थियो नै आर्थिक दृष्टिले अझै खतरनाक छ। धार्मिक रूपले पनि बढ्दो बलि प्रथालाई मानव क्रूरताको रुपमा हेरिँदै छ। यही असार १० गते कोरोना भगाउनका लागि धनुषाको शहीद नगरपालिका बिसरभोरामा कोरोना भगाउनका लागि बाख्राका पाठापाठी कुखुरा आदि अनेक जनावरको बलि दिएर भाग कोरोना भन्दै चिच्याएको खबर बाहिर आएको छ।
मासु केवल खर्चिलो र स्वास्थ्यका लागि खतरा मात्र नभएर अन्धविश्वासको कारक पनि बनिरहेको छ। बलिप्रथा आफैँमा ठिक वा विवेकको बहस अर्कै पाटो हो। तर, यसको जन्म भगवान् वा हाम्रा देवी-देवताको मागबाट भन्दा हाम्रो जिब्रोले स्वादिष्ट चिज चाख्नका लागि बनाइएको प्रथा जस्तो लाग्छ। यी अनेक खराबीमाझ पनि एउटा गम्भीर सत्य के हो भने हजारौँ बेफाइदा भए पनि मानिसबाट मासुको पूर्ण बहिष्कारसम्भव छैन। किनभने मानव जातिले मासुको स्वाद पाइसक्यो र ऊभित्र तृष्णा जागिसक्यो त्यसैले सम्पूर्ण मानिसलाई शाकाहारी बनाउन लगभग असम्भव नै परिकल्पना हो। जतिसुकै पैसा बच्ने र रोग नलाग्ने तथ्य, उदाहरण प्रस्तुत गरिए तापनि पूर्ण-शाकाहारी विश्वको परिकल्पना सम्भवतः कहिल्यै पनि पूरा हुने छैन। किनभने संसारमा केही प्रतिशत मात्र त्यस्ता मानिस छन् जसले कहिल्यै मासु नखाएका हुन्। पूर्ण रोजगारी र पूर्ण शाकाहारी केवल परिकल्पना मात्र हो सम्भव छैन तर पनि यसलाई न्यूनीकरण गर्दै जान सकिन्छ। सातामा एकपटक खानेले महिनामा एकपटक र महिनामा एकपटक खानेले ३ महिनामा एकपटक गर्दै कम गर्दै जाने हो सयौँ पुस्तापछि सम्भवतः सम्पूर्ण मानव जाति नै शाकाहारी होस् भन्ने परिकल्पना गर्न सकिन्छ। अन्यथा मासुको पोकाभित्र आँसुको थोपा छ भन्ने जान्दा जान्दै पनि यो अपरिहार्य सत्य हो मासु।\
Thaha khaber