छोराछोरी अघि अघि बुवा आमा पछि पछि
दिनानाथ पौडेल
अठारौं शताब्दीमा जन्मिएका अंग्रेजी साहित्यका एक धरोहर एवम स्वच्छन्दवादका प्रवर्तक विलियम वर्सओर्थको चर्चित विरोधाभाष वाक्य “ बच्चा मान्छेको बुवा हो ” को व्याख्या अनेकौं कोणबाट गरिन्छ । मानिसको भबिष्य कस्तो हुने भन्ने बचपनमा सिकेका कुराहरुले मुख्यतः निर्धारण गर्ने हुदा महत्वका आधारमा म्यानहुड (मान्छे) भन्दा चाइल्हुड (बच्चा) यस उक्तिमा उच्च प्राथमिकतामा राखिएको बुझ्न सकिन्छ । एक्काईसौं सताब्दिको प्रविधिको संगै हुर्किएका साना विद्यार्थी र प्रबिधिको खोज भैरहदा हुर्किएका शिक्षक तथा अभिभावक बीच नेपाली समाजमा ठुलै रिक्तता देखिदै छ । प्राविधिक ज्ञानमा साना विद्यार्थीहरुले अभिभावक र शिक्षक दुबैलाई पछि पार्दै अघि बढिरहेका छन भन्दा अत्युक्ति नहोला । प्रबिधका अनेक स्वरूपमध्ये कम्प्युटर, मोबाइल जस्ता प्रविधिक बिषय वस्तुको ज्ञानमा छोराछोरीहरु अघि अघि वुवा आमा र गुरुहरु पछि पछि हुदा नेपाली समाजमा भयङ्कर डर लाग्दो स्थिति देखिन थालेको छ । साच्चै नै वर्सओर्थले भने झैँ मान्छे भन्दा बच्चा सम्भाव्यताका हिसावले शक्तिशाली हुन तर मोबाइल प्रयोग समन्धि ज्ञानमा मात्र शक्तिवान बन्दा खतराका सूचक देखिन थालेका छन । बच्चाले वुवा आमा, अभिभावक र गुरुहरुलाई टेर्न छाड्नु स्वभाविक हुन सक्दैन।
बर्तमान समयमा प्राबिधिक ज्ञान अरु ज्ञान भन्दा सर्वोत्कृष्ट ज्ञानको रुपमा रहेको छ । साहित्यिक, नैतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक जस्ता क्षेत्रका ज्ञान प्राबिधिक ज्ञान जस्तो आमरुचीको विषयवस्तु बन्न सकिरहेको छैन । त्यसोत जीविकोपार्जनको लागि प्राबिधिक ज्ञान कोशेढुंगा बन्न पुगेको छ । कम्प्युटर , मोबाइल जस्ता कुराहरुले विश्वको दुरी स्वाट्टै घटाइदिनुको साथै हरेक क्षेत्रका ज्ञानलाई एकीकृत गरि मुख्य ज्ञानको स्रोत वा भण्डार सावित भइसकेकाले अपरिहार्य बनेका हुन ।
केहि समय अघि, बिधालय स्तरका विधार्र्थीरुसंग पिकनिक जाने अवसर मिल्यो । करिब २० बर्ष पहिले र अहिलेको पिकनिक बीच मुलभूत भिन्नता देखाइदियो विद्यार्थीको हातहातमा रहेको मोबाइलले । उत्साह, उमंग, गीतको अन्तारछडी, नाच र मासुको स्वादको पिकनिकको पुरानो मौलिकता आधुनिक मोबाइल, ट्याब, टिक टक र शेल्फीप्रतिको मोहले पूर्णतः बिस्थापित गरेको अनुभूत भयो । साथी साथी बिचको सम्बाद एवम् फरक फरक शैलीको पोजको भिडियो बनाउन नै बिधार्थिहरु तल्लिन देखिन्थे । विद्यार्थीको उच्च टाइपिङ लेवलले सच्चि नै यस पंक्तिकारको ध्यान केन्द्रित गर्यो । मोबाइल प्रयोगमा विद्यार्थी भन्दा धेरै गुणा पछि परिसकिएको गहिरो अनुभूत गरियो ।
प्राबिधिक युगसँग पुरानो एवम ३५÷४० बर्ष उमेरको पुस्ता अर्थात हजुरवुवा र वुवाको पुस्ता अनबिज्ञ वा अर्धबिज्ञ तथा छोराछोरीको पुस्ता अलि बढी अभ्यस्त हुदा नेपाली समाजमा छर्लंग पुस्ता रिक्तताको स्थिति देखा परिसकेको छ । मोबाइल प्रयोगको ज्ञान पुरानो पुस्तालाई बताउदा पनि बुझ्न गाह्रो हुने तर बिधालय स्तरका विद्यार्थीको पुस्तालाई एक चोटी हेरे पुग्ने आवस्था सिर्जित भएको छ । आफ्नो मोबाइल बाहेक अर्काको मोबाइल चलाउन पुरानो शिक्षित पुस्तालाई समेत गार्हो हुने स्थितिको बीच तल्लो पुस्ता हरेक कम्पनीका मोबाइल उस्तै दक्षताकासाथ चलाउन सक्नुको कारण उनीहरुको तत्परता र जिज्ञासा दुवै हो ।अघिल्लो पुस्ता प्राबिधिक ज्ञानलाई कामचलाउको स्थितिमा मात्र सिमित राख्न खोज्ने तथा पछिल्लो पुस्ता पोख्त हुन खोज्ने असंगति बिचको भिषण युद्दमा नेपाली समाज गुज्रदै छ । परिणामतः अनौठा विसंगतिका बाछिटाहरु देखा परिसकेका छन ।
प्राबिधिक ज्ञानको अभावमा मानिस प्रताडित हुनु पर्ने बाध्यात्मक आवस्था सिर्जना भइसकेको छ ।दुई कक्षामा पढ्ने बिधार्थिले आमा बुवाको मोबाइल प्रयोग गरि फेसबुक, युटुब, टिक टक आदिको प्रयोग तथा मध्य रातसम्म च्याटमा मस्त रहदा आमाबुवाले पत्तो नपाउनु यसैको दृष्टान्त हो । अभिभावको मोबाइलबाट एकसाथीले अर्कालाई गालीगलौज गरि वैमनस्यता हत्यामा परिणत भइसक्दा समेत अभिभावक बेखबर रहनु दुर्भाग्य नै हो । डाउनलोड के हो भन्ने थाहा नभएका आमाबुवाको मोबाइलमा अस्लिल भिडियो डाउनलोड गरि १० बर्षे बच्चाले हेरेको प्रमाण १५ बर्षे अर्को छोरोले आमावुवालाई पेश गर्नु एकातिर लज्जाको बिषय हो भने अर्कोतर्फ आमाबुवाको प्राबिधिक ज्ञानको अभावको घोतक हो ।आमावुवाको मोबाइल प्रयोग समन्धि ज्ञान सामान्य स्तरको भएको भए १० बर्षे बालकले त्यहाँ सम्मको हर्कत गर्न कदापी सक्दैनथ्यो ।
माथि दर्शाइएका छिटफुट घटनाहरु आगामी दिनमा बिस्तारै बिकराल बन्न सक्छन । समाजमा बिकृति र विसंगति झाँगिन सक्छ । हत्या, हिंशा र बलात्कारको घटना बढिरहेका छन, झन अझ बढ्न सक्छन । प्रबिधितर्फ मात्र पछिल्लो पुस्ता केन्द्रित हुदा देशको कला, संस्कृति, सांस्कृतिक सम्पदा धरासायी बन्न पुग्छन । सानो उमेरमा अधिक मोबाइल प्रयोग गर्दा मोबाइलको रेडियसनले बच्चाको दिमाग, मुटु तथा प्रजनन अंगमा घातक असर पुगी ट्युमर, क्यान्सर तथा नपुसंकता जस्ता रोगको महामारीले हाम्रो समाज संक्रमित हुन सक्छ ।
विश्वका करिव ६७ प्रतिसत मानिसहरुले मोबाइल प्रयोग गरिरहेको तथ्यांक छ । जीवित शरीरको लागि मुटुको अपरिहार्यता भए जस्तै आजको मानव जीवनको लागि मोबाइल अत्यावश्यक बनिसकेको छ भन्दा सायद कसैले विमति राख्दैन । मानिस र मोबाइललाई अलग गर्न नसकिने कटु यथार्थताको बिचमा बिधालय स्तरका साना बालबालिकालाई मोबाइलबाट हुने असरबाट कसरि सुरक्षित राख्न सकिन्छ भन्ने कुरा वास्तवमै पेचिलो बनेको छ ।विधालयका विद्यार्थीहरुले मोबाइलको सदुपयोग भन्दा दुरुपयोग नै सयौं गुणा बढी गरेका छन भन्दा अत्युक्ति हुदैन ।
समाधान के हो त ? यसको समाधान भनेको साना उमेरका छोराछोरीहरुलाई अनावश्यक मोबाइल प्रयोगमा नियन्त्रण गर्न सक्नु हो । हरेक परिवारमा सरदर ४÷५ वटा मोबाइल रहने समाजमा बच्चालाई मोबाइलबाट अलग राख्ने भन्ने कुरा सम्भव नै हुदैन, बलजफती गर्न खोजे दुष्परिणाम वाहेक अर्को हुदैन । अतः उनीहरुलाई बाल्यकालमा अधिक मोबाइल प्रयोग गर्दा हुने बेफाइदाका बारेमा राम्रोसँग बिश्वस्त पार्न सक्नु पर्दछ । यसको लागि बिधालय, छर छिमेक, समाजले पनि सकारात्मक भूमिका खेल्नु पर्दछ । बच्चाहरु स्वभावतः अरुको कमजोरीमा रमाउने वा फाइदा लिने प्रकारका हुने हुदा आमावुवा तथा अभिभावक वर्गले मोबाइल समन्धि जानकारी साना सन्तानहरुलाई सोध्नु भन्दा आफ्ना जानकार भाईसाथीहरुसंग सोध्दा उनिहरुले आफ्ना वुवा आमाको कमजोरी थाहा पाउन सक्दैनन । फलतः वुवाआमाले थाहा पाउने डरले मोबाइलमा अनावश्यक कुराहरु खोज्ने, हेर्ने सहस गर्न सक्दैनन ।सन्तानहरुको नजरमा आफ्ना आमावुवा मोबाइल प्रयोगमा निपुण हुनुहुन्छ भन्ने सन्देश प्रवाह गर्न सकेमा कम्तीमा आमावुवाको मोबाइलबाट आवान्छित क्रियाकलाप गर्न हतोत्साहित हुन्छन ।
प्रबिधि पुरानो पुस्ताको हातमा रहन सक्दै सक्दैन । यसको नेतृत्व नयाँ पुस्ताले नै गर्ने हो । नयाँ पुस्ता भन्नाले युवा पुस्ता अर्थात २० बर्ष नाघेको पुस्ता जसले यथार्थतालाई केहि हदसम्म बुझी विवेकको प्रयोग गर्न सकेको हुन्छ । प्रौढ वा यो भन्दा पनि कम उमेर समुहका बालबालिकाहरुले परिवारभित्र मोबाइल प्रयोगको नेतृत्व गर्न पुगेमा असमान्य स्थिति आउनु स्वभाविक हो ।किनकि यो उमेर समुहका बालबालिकाहरु आवेग र संवेगबाट परिचालित हुने हुदा मोबाइलमा उपद्रो मच्चाउन मै आनन्दित हुन्छन ।
अन्त्यमा, एक्काइसौं सताब्दीको प्रविधिको बिचमा जन्मिएका, हुर्किएका बालबालिकाहरु प्राबिधिक ज्ञानमा अब्बल हुनु शोभनीय नै कुरा हो । तर आमावुवा तथा अभिभावक वर्गहरुले समयानुकुल आफुलाई प्राबिधिक ज्ञानमा सामान्य ताजकिकरण गर्न नसक्नु उनीहरुको कमजोरी हो । युवा अर्थात तन्नेरी छोराछोरी अघि अघि, आमाबुवा पछि पछि हुनु स्वाभाविक हो तर प्रौढ अघि अघि आमाबुवा पछि पछि हुदा विल्कुल जोखिमयुक्त र दुर्भाग्यपूर्ण हुन्छ ।मनोबैज्ञानिकहरुले हावाको भुमरिसंग तुलना गरिएका प्रौढ अवस्थाका बालबालिकाहरुको परिवारभित्र मोबाइलको प्रयोगमा नेतृत्व स्थापित हुदा अकल्पनीय दुर्घटना नै निम्तन्छ, जुन फ्याट्ट फुट्ट हाम्रो समाजमा देखिदै र सुनिदै आएका छन । असिमित सम्भाव्यता बोकेका साना बालबालिकाहरु केवल प्राबिधिक ज्ञानमा मात्र सबल भएर पुग्दैन, रास्ट्र समृद्दिका लागि समाज, संस्कृति, भूगोल, खेलकुद,इतिहास, बिज्ञान, साहित्य आदी जस्ता क्षेत्रको ज्ञान उनीहरुमा हुनु आवश्यक छ । प्रबिधिप्रति एकोहोरिएका, घोप्टिएका किशोर किशोरीहरुलाई ज्ञानका अन्य क्षेत्रहरुमा ध्यान विकेन्द्रीकरण गर्न अभिप्रेरित गरिनु पर्दछ । बर्दघाट–१३, नवलपरासी