बर्दघाट प्रज्ञा प्रतिष्ठानको पाँच कार्यभार

0

दिनानाथ पौडेल
नेपालको संबिधान – २०७२ ले नेपाल राज्यलाई संघीय प्रणालीमा परिणत गरेपछि दुईपटक चुनाव सम्पन्न भईसकेको छ । स्थानीय तह अन्तर्गतका ७५३ वटा स्थानीय सरकारहरु यतिखेर सक्रिय छन् । आफ्नो कार्यकालमा स्थानीय तहलाई चिनाउने गरी कतिपय स्थानीय तहका नेर्तित्वले नविन कार्यहरुको थालनी गरिरहेका छन् । यसै पृष्ठभूमिमा केन्द्रित भइ भन्नु पर्दा बर्दघाट नगरको नगर स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने चार बर्ष अघिको सपना यतिखेर पुरा भएको छ । पृष्ठभूमिमा जसले जस्तो सुकै भूमिका खेलेपनि बर्दघाट प्रज्ञा प्रतिष्ठान स्थापनाको समयमा जसको नेतृत्व छ, जस पनि उसैले पाउनु पर्ने हुन्छ नै ।
भर्खरै सम्पन्न भएको एक सभाबाट ५१ सदस्य प्राज्ञसभा सदस्य रहने गरी बर्दघाट प्रज्ञा प्रतिष्ठानले औपचारिक रुपमा आकार ग्रहण गरिसकेको छ । कुलपति, उपकुलपति लगायत ११ जनाको कार्यकारी प्रज्ञा परिषदले बर्दघाट प्रज्ञा प्रतिष्ठानको स्टेरिंग समाइसकेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको नेर्तित्व गर्न सक्ने सामर्थ्य रहेका साहित्य र कला क्षेत्रका दुइ राष्ट्रिय गौरव क्रमशः कुलपति र उपकुलपति बर्दघाट नगरले पाउनु अत्यन्त सुखद कुरा हो ।
बर्दघाट नगरलाई राष्ट्रिय मानचित्रमा चिनाउन सक्ने धेरै पहिचायक मध्ये यहाको ऐतिहासिक भूगोल, साहित्य, कला र भाषा हुन् । कृषि,उद्योग,पर्यटन, आधुनिक बस्ती निर्माण आदि जस्ता मापकहरुबाट चिनाउने परम कर्तब्य बर्दघाट नगरकै हो भने यस क्षेत्रको भौगोलिकताको ऐतिहासिक महत्व, यहा बोलिने भाषाहरु, यहाको जीवन झल्काउने कला तथा साहित्यको सम्बर्दन एवं प्रबर्दन गर्नेतर्फ महत्वपूर्ण योगदान दिन बर्दघाट नगरले यस प्रतिष्ठानलाइ आफ्नो दायित्व सुम्पिएको छ भन्दा अत्युक्ति नहोला । अब भने बर्दघाट प्रज्ञा प्रतिष्ठानको बर्तमान नेर्तित्वले गर्नुपर्ने मुख्य पाँच कार्यभारहरुलाई चर्चा गरौं ।
प्रथमतः यस प्रतिष्ठानले बर्दघाट नगरभित्र रहेका ऐतिहासिक महत्वका भूगोलहरुको प्रमाणसहितको पहिचान कायम गर्नु पर्दछ । उदाहरणको लागि बर्दघाट नगरपालिका वडा न. १२, दोबिल्ला अवस्थित बुद्दमंगल ताललाइ लिउँ । उक्त तालको नातो विश्वकै ज्ञानको ज्योति गौतम बुद्दसंग जोडिएको पाइन्छ । किबदन्ति छ – गौतम बुद्द ज्ञानको खोजि गर्ने क्रममा एक रात यस तालको छेउमा बसी अर्को दिन सबेरै उठी सुस्ता नजिकैको एक घाटमा पुगी कपाल मुण्डन गरी त्रिबेणी नदी पार गरी भारत पसेका थिए । यदि यो सत्य हो भने यस नगरलाई लुम्बिनी बिकासको रास्ट्रीय परियोजनातर्फ जोडी बर्दघाट नगरलाइ पर्यटकीय नगरको रुपमा बिकास गर्न सकिन्छ । बुद्दमंगल ताल जस्तै ऐतिहासिक महत्वका अनेकौं ठाउँहरु हुन् सक्छन । यस्ता ठाउहरुको गहन अध्ययन र अनुसन्धान गरी सत्य तथ्यसहित बर्दघाट नगरको पहिचान कायम गर्न सक्नु मै यस प्रतिष्ठानको सार्थकता भेटिन्छ ।
दोस्रो, बर्दघाट नगरभित्रको बसोबासलाइ गहन तरिकाले हेर्यो भने यहाँ नेपाल भेटिन्छ । भन्नुको तात्पर्य यहाँ नेपाल देशको भूभाग भित्र बस्ने प्रायजसो हरेक जातजातिका मानिसहरुको बसोबास छ । मानिसहरुलाई अन्य प्राणी भन्दा भिन्न राख्ने धेरै चिजहरु मध्ये भाषा एक हो । भाषा सभ्यताको मुहान हो । यसले निश्चित समुदायका मानिसहरुको पहिचान कायम गर्दछ । बर्दघाट नगरभित्रको भूगोलभित्र प्राचिन कालदेखि बर्तमान मिश्रित बस्तिको बिकास हुदासम्मको भाषा, संस्कृति, रितिरिवाज, भेषभुषाको अध्ययन गर्ने निकाय भनेको नगरभित्रको प्रज्ञा प्रतिष्ठान नै हो । सायद, यस क्षेत्रभित्र प्राचिन समयदेखि बसोबास गरेको समुदाय थारु समुदाय हो । थारु समुदायको भाषा, संस्कृति, भेषभुषा, रितिरिवाजको गहन अध्ययन र अन्वेषणलाइ प्रारम्भिक बिन्दु बनाइ अन्य भाषातर्फ दयरा बढाउदै जाँदा राम्रै हुन्छ ।
तेस्रो, साहित्य र कलाको जगेर्ना गर्नु हो । भनिन्छ – कला र साहित्य समाजको दर्पण हो । जीवन जिउने प्रेरणा हो । जीवन र जगतलाई सन्तुलनमा राख्ने सुत्र हो । बिगत, बर्तमान र भबिष्यलाई जोड्ने महत्वपूर्ण कडी हो । सुमार्गको राजमार्ग हो । सामाजिक, धार्मिक, राजनीति भित्रका विषाक्तहरुलाई शल्यक्रिया गरी वास्तविकताको खोजि गर्नु साहित्य र कलाको मूल कार्य हो । यसर्थ, यस प्राज्ञिक संस्थाले यस क्षेत्रभित्र स्रस्टाको जन्म र स्रस्टाको खोजि गर्न सक्नु पर्दछ । साहित्य र कलाकारिताको क्षेत्रबाट बर्दघाट नगरको उचाई बृद्दी गर्न सकेमा मात्र यसको महत्व बढ्ने छ ।
चौथो, बर्दघाट नगरको प्राज्ञिक थलो, अर्थात ज्ञान, बुद्धि, बौद्धिकता, बहस, तर्कबितर्कको माध्यमबाट सत्यको खोजि गर्ने पवित्र स्थल । कुरीति हटाइ राम्रो, उत्कृस्ट हुदै सर्वोत्कृष्ट चिजको अन्तिम निक्योर्ल गर्ने क्षमता भएका प्राज्ञिक व्यक्तिहरुको साझा घर भएकोले यस संस्थाले बर्दघाट नगरको नेर्तित्वहरुलाई सुशासनको मार्गमा लाग्न प्रेरित गर्न सक्नु पर्दछ । नगर नेर्तित्वलाइ आवश्यक राय, सुझाव दिन सक्ने प्रबुद्द समुहको एक बलियो संस्था बन्न सकेमा विसंगति हट्न सक्दछ ।
पाचौँ, यस संस्थाले बर्दघाट नगरभित्रका समस्त नागरिकहरुलाई यस संस्थाको आवश्यकता र औचित्य पुष्टि गर्न सक्नु पर्दछ । नगरको बजेटको केहि हिस्सा यस सस्थाले समेत प्राप्त गर्ने हुदा यस सस्थाले आर्थिक पाटोको पूर्णत पारदर्शीता कायम गर्नु पर्दछ । संस्थाका पदाधिकारीहरु, कार्यकारी परिषदका सदस्यहरु एवं ५१ सदस्य प्राज्ञसदस्यहरुले प्राप्त गर्ने पारिश्रमिक, मिटिंग भत्ता या यस्तै कुनै पनि प्रकारको सुबिधा यदि छ भने नगरभित्रका नागरिकहरुले थाहा पाउनु उनीहरुको अधिकार हो । नेपाल प्रज्ञा प्रतिष्ठानभित्रका बेलाबेलामा प्रकाशित भएका आर्थिक एवं राजनीतिक विसंगतिका सुचनाहरुबाट बर्दघाट प्रज्ञा प्रतिष्ठानले पाठ सिक्नु पर्दछ ।
अन्त्यमा, बर्दघाट प्रज्ञा प्रतिष्ठान बर्दघाट नगरको गहना हो । यसले नगरको शौन्दर्य थप्न सक्दछ । बर्दघाट नगरलाई रास्ट्रीय स्तरमा चिनाउन सक्दछ । नगरभित्र सुशासन कायम गर्न महत्वपुर्ण योगदान दिन सक्दछ । यस संस्थाको उन्नयनका निम्ति हामी सबैको साथ र सहयोग चाहिन्छ । ५१ सदस्य प्राज्ञसदस्य मध्यको एक सदस्यको हैसियतमा रही सिमान्त र सुदुर बिन्दुबाट भएपनि बर्दघाट प्रज्ञा प्रतिष्ठानलाइ पूर्णत सहयोग गर्ने मेरो दृढ संकल्प छ । यस प्राज्ञिक संस्थाको सभासदस्यको रुपमा चयन गर्नु भएकोमा नगर प्रमुख, नगर उपप्रमुख एवं प्रतिष्ठानका कुलपतिप्रति हार्दिक आभार प्रकट गर्दछु ।

You might also like