भैरहवाका होटलमा क्वारेन्टिन तथा आइशोलेशनको लागी दररेट तोकियो
भैरहवा – भैरहवा क्षेत्रका होटलहरु क्वारेन्टिन तथा आइशोलेशन सेन्टरको रुपमा प्रयोग हुने भएको छ । सिद्धार्थनगर नगरपालिका र होटल व्यवसायीबीच निश्चित शुल्क लिएर सिद्धार्थनगर क्षेत्रमा रहेका होटललाई अहिलेको उच्च संक्रमणमा प्रयोगमा लिनेगरी सहमति भएको हो ।
कोरोनाभाइरसको नयां भेरियन्ट व्यापकरुपमा फैलिएकाले सो को रोकथाम,उपचार तथा नियन्त्रणका लागि होटल व्यवसायीले नगरपालिकाको समन्वयमा आवश्यक सहयोग गर्ने र व्यवसायीले कार्यान्वयनका लागि प्रतिबद्ध रहने जनाएका छन्।
नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा नगरपालिकामा बसेको बैठकले क्वारेन्टिन र आइशोलेशन सेवा वापत लिने निश्चित दररेट पनि तोकेको हो। सिद्धार्थ होटल एशोसियसनमा आबद्ध पर्यटक स्तरको होटलमा डिलक्स रुम तर्फ सिंगल बेडरुम र दैनिक चार पटक खाना ३ हजार, डबल बेडरुम र दैनिक ४ पटक खानाप्रति बेड २ हजार, रुममा एसीप्रयोग गरेमा थप ४०० थप हुने गरी दर रेट लिने बैठकले सहमति गरेका छन ।
त्यसैगरी होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनमा आबद्ध होटलहरुले सिगंल बेडरुम र दैनिक चार पटक खाना नास्ता १५ सय, डबल बेडरुम र दैनिक चार पटक खाना नास्ता २५ सय दर कायम गरेको छ ,यस्तै त्यसमा एसीप्रयोग गरेमा थप ४ सयका दरले शुललने गरी दररेट कायम भएको छ ।
सिद्धार्थनगर क्षेत्र भित्र विपतव् यवस्थापनका लागि २ हजार बेड उपलब्ध गराउन सकिने होटल व्यवसायीहरुले बताएका छन् ।
होटल व्यवस्थापनका लागि समन्वय गर्नका लागि ३ जनालाई जिम्मेवारी दिइएको छ । नगरपालिकाबाट वडा अध्यक्ष तथा होटल क्षेत्रका अनुभवी थानेश्वर पौडेल, सिद्धार्थ होटल एशोसियसनबाट रविन्द्र शर्मा घिमिरे र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनबाट राजेश मोहत्रालाई जिम्मेवारी दिइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव सापकोटाले जानकारी दिए ।
यसै विच सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारीले कोरोना महामारीको बढ्दो अवस्थामा सर्तक रहन सबै नगरबासीमा अपिल गरेका छन । उनले भिम अस्पतालमा थप बेडका लागि पहल भएको बताउदै सिटी अस्पताल, युसिएमएसमा समेत बेड ,अक्सिजन र उपचारमा सहज भुमिकाका लागि पहल भइरहेको बताए ।
Lumbini times