कोरोना संक्रमितको अनुभव- यो सामान्य रुघाखोकीमात्र रहेछ!
भदौ १५ ।
नमस्कार, म नोबेल कोरोना भाइरसको सङ्क्रमित खेमप्रसाद अधिकारी ! नोबेल कोरोना भाइरसको संक्रमणमा परी मनमोहन मेमोरियल हस्पिटलको आइसोलेसन बेड न: ५० बाट यो लेख तयार गर्दैछु ! नोबेल कोरोना भाइरसको डर/त्रास मा परिरहनु भएका सम्पूर्ण साथीहरुलाइ धैर्य धारण गर्न र आत्मबल बलियो बनाएर रोगका बिरुद्ध लड्न सबै-सबैमा हार्दिक अपिल गर्दछु!
चीन को हुबे प्रान्तको उहानबाट गत वर्षको मङ्सिर-पुस (november-december 2019) बाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस WHO को तथ्यांक हेर्ने हो भने अहिले बिश्वका करिव सबै रास्ट्रहरु (२१५ राष्ट्र )मा फैलिसकेको छ! आज मैले यो लेख तयार गर्दासम्म विश्वका करिव २ करोड ४६ लाख ३८हजार ३ सय १७जना ) संक्रमित भएका छन्।
उपचाररत रहेका सम्पुर्ण बिरामीहरुको शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु, सङ्क्रमणका कारण संसारबाट विदा लिनुभएका साथीहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु !
म पेशाले अत्यावश्यक बस्तु दुग्ध पदार्थको खरिदबिक्री गर्ने व्यवसायी हुँ! जुन दिन बाट नेपालमा पनि covid-19 को माहामारी भित्रियो, उक्त दिनबाट नै उचित सावधानी, सामाजिक दूरी, माक्स, पञ्जा, सेनिटाइजर, साबुनपानी लगाएत का सम्पुर्ण विधि हरु हरसम्भब प्रयोग गरि आफू र आफ्ना ग्राहक वर्गलाई सुरक्षित राख्न कोसिस जरुर गरिएकै थियो ! तर जतिनै साबधानी अपनाउदा अपनाउँदै पनि दुर्घटना हुन सक्छ भन्ने कुरा प्रमाणित भएको छ !
तथापि यो जति हल्ला र भ्रम हरु फैलाइएको छ त्यस्तो चै पटक्कै होइन रैछ भन्ने मेरो आज आइसोलेसनको बसाइ आठ दिन पुग्दासम्म को अनुभव हो! मलाइ विभिन्न माध्यमबाट उर्जामाथि थप उर्जा प्रदान गर्नु हुने तपाईं सम्पूर्णप्रति साधुवाद! तपाइहरुको यो हौसला मलाइ पक्कै पनि कुनै प्राण घातक रोग को निदान गर्ने ओखती भन्दा कम प्रभावकारी भएको पक्कै छैन! आशा र बिस्वास छ यो सङ्क्रमण जितेर पक्कै छिट्टै घर फर्किने छु !
मलाई कोरोनाले कसरी आक्रमण गर्यो त? कस्तो हुँदो रैछ? सत्य कति रैछ र हल्ला, भ्रम कस्तो छ? के साँच्चिकै नोबेल कोरोनाको संक्रमण हुने वितिक्कै अरुले हल्ला गरेकै जस्तो गरी मरिहालिने नि हो त? भन्ने धेरैले प्रश्न गर्नु भएको छ, सम्भव भएसम्म धेरैलाई धेर थोर सुझाएको छु, फोन, फेसबुक, भाइबर,इन्स्टाग्राम लगाएत का सामाजिक सञ्जालबाट सञ्चार भएको छ तथापी यहाँ थप प्रस्ट पार्न चाहन्छु !
म पेसागत हिसाबले ब्यापारी हुँ! खास गरि यो भाइरसको संक्रमण फ्रन्ट लाईन मा सेवा गर्ने, डाक्टर , नर्स, स्वास्थ्य सेवाका सम्पुर्ण स्वास्थ्यकर्मी, सुरक्षा निकायका सम्पूर्ण सेवाकर्मी हरु: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रास्टृय अनुसन्धान , निजामती कर्मचारीहरु, शिक्षणपेसाका कर्मचारीहरु, बैंक तथा बित्तिय सस्थाका कर्मचारीहरु, अत्यावश्यक बस्तुका खरिद बिक्रीकर्ता/ ब्यापारीहरु, पत्रकार जगत, अड्डा-अदालतका कानुन व्यवसायीहरु, सामाजिक सेवाकर्मीहरु, जननिर्वाचित जनप्रतिनिधिहरु लगाएतका अन्य सम्पुर्ण कार्यालय-कर्मचारी ब्यक्तित्वहरु जोखिममा छन्।
नेपालमा संक्रमणको सुरुवातदेखिनै उच्च सतर्कता अपनाउदै व्यापार व्यवसाय सञ्चालन गर्दै करिब ४-५ महिना पार गरियो। अन्ततः म पनि अछुतो रहन सकिन ! गत साउन महिनाको ३२ गते राति अकस्मात उच्च तापक्रम १०२ डिग्री सेल्सियसभन्दा माथि ज्वरो आउने, छाती दुख्ने, कफ जम्ने, शरीरको जोर्नीहरु दुख्ने, टाउको दुख्ने, शरीरबाट पसिना अधिक मात्रामा बग्ने आदि लक्षणहरु देखा पर्दै गए !
घरमा ७० वर्ष माथिकी हजुरआमा, ९ वर्षका भान्जा, विरामी बुवा-ममी,बहिनी, ज्वाइँ, सहयोगी भाइ लगायत हुनुहुन्छ,उहाँहरुलाइ जोखिम हुन सक्छ भन्ने कुरामा म सजग थिए। जस्तो मेरो परिवारलाई सङ्क्रमण हुन सक्ने खतरा थियो। उस्तै जोखिम अरुलाइ पनि मेरो कारण पर्न सक्छ भन्ने कुराले मलाई एक्दमै पिरोलिरहयो।
१ गते बिहानबाटै घरका सबै सदस्यलाइ छुट्टाछुट्टै कोठामा बेड व्यवस्थापन गरियो तर ट्वाइलेट एउटै थियो। एउटै प्रयोग गरियो किनकी कोही कसैको रिपोर्ट पोजेटिभ आएको थिएन। स्वास्थ्यमा पनि खासै ठूलो समस्या देखिएको थिएन।
घरमै बसी आराम गरेँ, ज्वरोको सामान्य औषधि पारासिटामोल तातो पानी लगायतका घरायसी औषधिको सेवन गरी आफ्नै रुममा अरुबाट आइसोलेट भएर बसेँ। व्यापारी मान्छे हाम्रो पसलमा धेरै ग्राहकहरु आउनुहुन्छ, त्यसैले म आफू अकस्मात विरामी महसुश गरेको हुनाले पसल नजाने निधो गरेँ किनकि २-४ रुपैयाँ पैसा त कमाउन सकिन्छ होला। तर यदि मलाइ केही सङ्क्रमण भएको रहेछ भने मबाट मेरा ग्राहकवर्गमा ठूलो क्षति नहोस भन्ने हेतुले म आइसोलेट भएर बसे।
२ गते रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाने निधो गरे र एक्लै आफ्नै मोटरसाइकल चढेर गएर स्वाब परीक्षणको लागि नमूना संकलनमा सहभागी बनेँ! स्वाव दिएर सरासर घर फर्किएँ! सावधानीपूर्वक आफ्नै रुममा गएर बसेँ, म हिजोअस्ति जस्तो बिरामी थिइन्। निको भइसकेको थिए तर पनि त्यस्तो भिड्भाड हुने पसलमा गएर काम गर्न मनले मानेन।
किनकि २ दिन त हो म त्यस्तो धेरै बिरामी पनि छैन अरु दीर्घरोग पनि केही छैन त्यसैले मेरो रिपोर्ट नेगेटिभ आउँछ अनि जान्छु भन्ने विश्वासका साथ बसेको थिएँ! ३ गते पनि मोबाइल मा फोन अथवा म्यासेज आउँछ कि भनेर मोबाइल साथबाट कतिबेलै टाढा राखिन! राति सुत्दा पनि बेला बेला झस्किएँ,अह केही आएको थिएन! उज्यालो हुन पनि २ दिन लाग्यो।
उज्यालो हुन पनि २ दिन लागे जस्तो हुने। ८ घन्टा बित्नलाई पनि! तर अपसोच! ४ गतेको दिन शुरु भयो। सदाझैँ नित्य कर्म गरियो, मोबाइलमै आँखा टहलिन्छन्।
खाने पिउने कुरा पनि मानौँ म नोबेल कोरोना भाइरसको संक्रमित नै भएको जस्तो गरेर सम्पुर्ण कुरामा सजगता अपनाएर गरियो!
मध्यान्ह १२:४९ मिनेटमा फोन मा घन्टी बज्यो, म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट भन्दा होस उडेजस्तो भो।
सर: तपाईँले आफ्नो स्वाब टेस्ट गर्न कहाँ दिनु भएको थियो?
म: मैले टेकुमा दिएको थिएँ सर…..(मुटुको चाल धेरै बढेजस्तो भएको थियो)
सर: आफ्नो रिपोर्ट के भयो थाहा पाउनु भयो?
म : नाइँ सर, थाहा छैन , भनिस्यो न के भयो…!
सर: सर, तपाईँलाई पोजेटिभ देखिएको छ, तपाईं अब सुरक्षित बस्नु होला है।
म : हुन्छ नि सर!
सर: तपाइँलाई लक्षण हरु के कस्तो छ, अवस्था कस्तो छ?
म: सर म सामान्य नै छु………….(सम्पुर्ण कुराहरु खुलस्त रुपमा बिन्ती बिसाए)
सर: अब तपाईं घर मै बस्नु हुन्छ कि हस्पिटल बस्नु हुन्छ ? यदि घरमा मिल्छ भने घरमै बस्नु भए नि हुन्छ। तपाईँको निगरानी सरकारले गर्छ!
उहाँले नडराउनुस्। आत्मबल बलियो बनाउनुस्। केही हुँदैन। यदि अप्ठ्यारो पर्यो भने ११३३ मा जानकारी गराउनुस्। तपाईँलाई तुरुन्त हस्पिटलको ब्यबस्था हुन्छ है भन्नुभयो!
मनमा थोरै डर, त्रास थियो नै। तर घरमा सबैजना बिरामी बुढाबुढी बच्चा भएकोले मैले आफ्नो आत्म बल बलियो पारेर उहाँहरुलाइ चिन्तामुक्त राख्नु पर्छ भन्ने सोचेर आत्मबल बढाएँ।
यो सामान्य नि हो खासै केही हुदैन भनेँ, सम्झाउने कोसिस गरेँ। तर अवस्था अलिक फरक भो। बिस्तारै बुझाएँ, सम्झाएँ, घरमा पुरै सन्नाटा छायो।
हाम्रो आफन्त नातागोता साथीभाइ कसैलाई पनि पोजेटिभ देखाएको थाहा थिएन। केबल म मात्रै पहिलो थिएँ! चुनौती थपियो कसरी सम्झाउने? त्यहाँमाथि आफू पनि डराएकै छु।
हिम्मत जुटाएर सबैलाइ शान्त गराए।
सावधानी अपनाएर त्यो रात घरमै बस्ने निधो त गरेँ। तर मन अमिलो भो। मनले बस्न मानेन। बेकार घरमै बस्छु भन्ने लाग्यो। फेरि सबैलाई सर्न सक्छ। सर्यो भने मेरो परिवार मात्रै हैन, भोलि यो समाज पनि संक्रमित हुन सक्छ।
भोलिपल्ट बिहान स्वास्थ्य मन्त्रालयको हट्लाइन ११३३ मा फोन गरेँ। समस्या राखेँ।
‘म घरमा बस्न सक्दिन, म हस्पिटल बस्छु जसरी पनि मलाई जति सक्दो छिटो घबाट निकालिदिनु पर्यो!
उताबाट आश्वासन आयो, ‘हामी बुझ्छौँ, कहाँ खालि छ, अनि है सर।’
मैले आश्वासन स्वीकार गरेँ! २-३ पटक फोन गरेँ।
बुझ्दै छौँ भन्नुभयो।
मध्याह्न १२:४७ मा बल्ल तपाईँलाई मनमोहन मेमोरियल हस्पिटल दहचोकमा लग्नु हुन्छ, एम्बुलेन्स आउँछ, जानुहोला भनेर खबर आयो।
आमा र बहिनीले कपडा, पानी तताउने जग, औषधिहरु तयार पारिदिनु भयो। मैले आत्मा रुदै भए पनि बाहिर फर्याक-फुरुक गरेर तयारी हुँदै गरेँ। घरमा तल्लो दुई तल्लामा दुई ओटा परिवार बस्नुहुन्छ। उहाँहरुलाई पनि मलाई नोबेल कोरोना भाइरसको सङ्क्रमण भएको छ भनेर जानकारी गराइदिनू, सुरक्षात्मक उपाए अपनाएर सचेत भएर बस्नु भन्नू भने। ठूली बहिनीले जानकारी गराइन्।
घर छेउछाउ कसैलाई केही नभनी हिँड्ने सोच बनाएँ। किनकि हाम्रो समाज एकदम खराब छ। म त हिँडे तर परिवारलाई पो नराम्रो गर्छन् कि ?
एक क्षण बसेपछि निस्किनु पर्यो भनेर हिँड्न खोजेँ। मन गह्रुङ्गो भयो। भक्कानिएर आयो. आँखा रसाए। हिम्मत जुटाएर बिदा मागेँ। सबैको अनुहार हेरेँ बल गरेर।
मन भारी छ, मनमा डर त्रास छ, के हुने होला भन्ने। तर पनि घर परिवारको लागि ठूलो आत्मबल दिएर निस्किनुपर्छ।
मभन्दा धेरै कम्जोर हुनुहुन्छ सबैजना भन्ने लागेर ढुङ्गाको मुटु बनाएर मुसुक्क हाँसेर म गएँ है, छिट्टै निको भएर आउँछु, चिन्ता नलिनू कसैले पनि भनेँ।
तपाईँहरुलाई नलागोस् भनेर जोगाउन म हिँडेको। मेरो चिन्ता नलिनू भनेँ। ठूली बहिनीलाई गेट खोल्देऊ, दाजुले खोल्दैन भनेर बुवाले भित्रबाट भन्नूभो। मसँगै बहिनी गेटमा झरिन्। उनले गेट खोल्दिइन्। म निस्किएँ अनि ‘बाइ’ भनेँ।
अनुहारमा हेरेर बोल्न सकिन। मन सम्म्हालिएन। धन्न बैनीले देखिनन्।
फर्किएर हेरेँ। माथिबाट भाइममीहरु हेर्दै हुनुहुँदो रहेछ।
२/३ मिनेट हिँडेपछि एम्बुलेन्स आउने बाटोमा पुगेँ। जे होला होला। छोरो मान्छे हो डराएर, आत्तिएर हुन्न।
मभन्दा कति कम्जोर हरुलाइ मैले बाँच्न सिकाउनुपर्छ। म अरुको लागि उदाहरण बन्नुपर्छ भन्ने हिम्मत, आँट मनमा जुटाउने कोसिश गर्दै थिएँ।
यस्सो झोलामा हेरेँ। मोबाइलको चार्जर बिर्सेछु। बुबालाई फोन गरे चार्जर पठाइदिनू न, छुटेछ भनेँ।
ठूली बहिनीले ल्याइदिइन्। औषधि पनि छुटेको रै’छ। त्यो अनि अलिकति फलफूल पनि खानु है भनेर बहिनीले ल्याइदिइन् !
एम्बुलेन्सलाई फोन गरेँ। म निस्किएँ। खै त तपाईँहरू? उहाँहरु अन्तै जानुभएछ। मन्त्रालयमा फोन गरेँ, अर्को आउँछ भन्नू भो।
एकछिनमा साइरन बज्यो।
डराउँदै एम्बुलेन्स आएको भिडियो मोबाइलले कैद गरेँ।
एम्बुलेन्स मेरो अगाडि आएर रोकियो। मेरो मुटुको चाल रोकिए जस्तै भयो।
एम्बुलेन्सबाट निस्किएर एकजना सिस्टरले ढोका खोल्दिनु भयो।आएर बस्नुहोस्, चिन्त्ता नलिनुस् है सर। केही हुन्न। अब हामी छिट्टै पुग्छौँ भन्नुभयो।
म एम्बुलेन्समा चढेँ। पहिला कहिल्यै नचढेकाले निक्कै डर लागेको थियो। सम्हालिएर बसेँ।
एम्बुलेन्स सिधैँ सुन्धारातिर हुइँकियो। म आत्मबल जम्मा गर्दै थिएँ। मोबाइलमा फोन आउन थाल्यो। म खासै बिरामी थिइन। डर पनि कम हुँदै गयो।
केहीबेरपछि एम्बुलेन्स कलंकीचोक नजिकै रोकियो। त्यहाँ पनि एकजना मैजस्तो अर्को साथी पनि चढ्नु भो। उहाँ पनि म जस्तै सामान्य हुनुहुदो रैहेछ। अर्को एकजना साथी फेरि सतुङ्गलबाट थपिनु भयो। हामी तीनजना सामान्य अवस्थाकै थियौँ।
हस्पिटलको गेटमा पुगेर एम्बुलेन्स रोकियो। हाम्रो ढोका खुल्यो!। बिस्तारै ओर्लेपछि सिस्टरले शीघ्र स्वास्थ्य लाभको कामना, छिट्टै निको भएर फर्किनुस्र है भन्दै बिदा गर्नु भयो। हामीले मुहारमा मुस्काउँदै खुसीको संकेत दियाैँ।
केहीबेर मनमनै सोचेँ। सबैले यति धेरै माया गर्नु भा’छ। कस्तो जित्न नसकिएला त यो अदृश्य शक्तिलाई? आत्मबल सबैतिरबाट एकपछि अर्को थपिँदै थियो!
चौथो तल्लाको आइसोलेसन बेड नम्बर ५०….!
बेड्मा पल्टिएँ। एकछिन सोचेँ।
खाजा खाने समय भएको रहेछ। त्यतिबेला दिउँसको ३:३० जति बजेको थियो।
माइकिङ भयो। ‘खाजा लिन तल झर्नु होला।’
एक कप चिया, एउटा ब्याग, रिफाइन सुगर र २ पिस पाउरोटी रहेछ !
म पनि खाजा लिएर आएँ।
पानी तताउन ल्याएको जगमा चिया बनाएर खाजा खाएँ।
एक छिन पछि तल झर्न मन लाग्यो। झरेँ।
कम्पाउण्डमा तारबार गरेको रहेछ। सायद बिरामीहरु भाग्छन भनेर होला।
वातावरण स्वच्छ, चिसो मौसम। फ्रेस हावा पानी आहा!
यो रोग त यत्तिकै यही मौसम,वातावरणले नि निको हुन्छ जस्तो भयो।
मन आनन्दित भयो, घरमा कसैलाइ मेरो चिन्ता नहोस् भनेर फोन गरेर सबै बेलिबिस्तार लगाएँ।
नयाँ साथीहरुसँग बोल्चाल, चिन्जान गरेँ।अनि माथि आएँ।
…
आज एघाराैँ दिन भयो।
हाम्रो कोठामा १० जना एक परिवार भएर बसेका छौँ!
बेलुका बेलुका सधैं नाचगान गरिन्छ। रमाइलो गरिन्छ । कसैलाई केही बिरामी भएमा फोन गरेर इन्चार्जलाई भन्नूपर्छ। उहाले आवश्यक सल्लाहसहित औषधि दिनुहुन्छ!
हस्पिटल प्रसासनहरु भित्रपट्टि बस्नु हुन्छ। कोही कसैसँग भेट हुदैन।
केही परेमा तुरुन्त समस्या समाधान हुन्छ! ठिक छ राम्रो छ! खाने बस्ने ब्यबस्थापन पनि ठिकै मान्नु पर्छ।
मेरो ११ औँ दिनसम्मको अनुभवले के भन्छ भने मैले आजभन्दा अगाडि नोबेल कोरोना भाइरसको बारेमा जति जे जे सुनेको थिएँ, त्यो सब हाम्रै भ्रम हो।
कसैले भन्थे, ‘कोरोना लाग्ने बित्तिकै मरिन्छ।’
कसैले भन्थे, ‘मान्छे लट्टाएर मानव अङ्गहरु जस्तै किड्नी लगायतका अङ्गहरु झिक्ने बेच्ने गर्छन्।’
अनावश्यक भ्रमहरु सिर्जना गरेर समाजलाइ हतोत्साहित पार्ने काम गरिएको रहेछ।
नोबेल कोरोना भाइरस पनि अरु समयको जस्तै मौसमी फ्लू हो। साधारण रुघाखोकी,ज्वरो, टाउको दुख्ने , जिउ दुख्ने, घाँटी दुख्ने जस्तै हो !
हाम्रो तुलनामा दीर्घ रोग भएका बिरामीहरुलाई चाहिँ अलिक धेरै कमजोर बनाउँछ। उहाँहरुले पनि आत्मबल एक्दम बलियो बनाएर खानपिनमा धेरै ध्यान दिनु भएर सुरक्षात्मक उपाए अपनाए निको हुन समय लाग्दैन।
अन्त्यमा,
मेरो सुझाव के छ भने ज-जसलाइ पनि यो रोग लाग्न सक्छ। तर निको पनि हुन्छ। डराउनु पर्ने कुनै कारण नि छैन।
‘आत्मबल जरुरी छ। बिरामीले आफैँ आत्मबल जोड्न गाह्रो हुन्छ, बिरामीका आफन्त, नातागोता, छिमेकी, साथी भाइ, टोल समाजले ऊर्जा दिए भने कोरोनासँगको लडाईँमा छिट्टै विजय हासिल गर्न सक्नुहुनेछ।’
मैले जे महसुस गरे। सोही कुरा यहाँ प्रष्ट पार्ने जमर्को गरेको छु!
मैले उपचार विधिको बारेमा घरायसी उपचार विधि खानपानमा विशेष ध्यान पुर्याउन सबैलाइ सल्लाह दिन्छु।
नियमित योग-ध्यान, तातो पानी, दूध बेसार, गुर्जो पानी, माछामासु लगायत अन्य फलफूलहरु नै कोरोनासँग लड्ने शक्ति हो। भान्सा नै तपाइको मूख्य रोगप्रतिरोध क्षमता बढाउने अस्पताल हो।
दिनमा २-३ पटक बाफ (steam) लिनु, तातो पानीले नुहाउनु, छिन छिनमा साबुनपानीले राम्रोसँग मिची-मिची हात धुनुले निको हुन्छ भनेको जस्तै मैले पनि आजसम्म यो बाहेक अरु कुनै औषधि सेवन गरेको छैन।
हाल मेरो आत्मबल पहिलाको दिनको तुलनामा आकाश-जमिनको फरक पाएको महसुस गरेको छु !
Desh sansar