निर्वाचन बहिष्कारमा सहभागी मतदाता प्रति क्रान्तिकारी माओवादीद्धारा आभार ब्यक्त

'निर्वाचन शान्तिपुर्ण भएको दावी गर्नु निकै हास्यस्पद'

0

नवलपरासी १६ मंसिर – नेकपा(क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले संसदीय निर्वाचनलाई बहिष्कार गरेकोमा आम जनतालाई धन्यवाद तथा आभार ब्यक्त गरेको छ । उक्त पार्टीका जिल्ला सेक्रेटरी चोलाले शुक्रवार एक प्रेस बक्तब्य जारी गर्दै संसदीय निर्वाचन बहिष्कार आन्दोलनलाई सफल पारेको भन्दै जनतालाई आभार ब्यक्त गर्नुभएको हो ।

बिज्ञप्तिमा निर्वाचन बहिष्कार गरेर जनताले आफूलाई यस सत्ता र ब्यवस्थाको प्रतिपक्षका रुपमा उभ्याएका उल्लेख छ । ‘बि.स. २०७९ मंसिर ४ देखि नेपाल सरकारले कथित संघीय र प्रादेशिक संसदीय निर्वाचन गरिरहेको छ । मंसिर ४ गते देखि हाल सम्म देशमा बिभिन्न मतदान केन्द्रहरुमा राज्यद्वारा हिंसात्मक क्रियाकलाप सहित मतदान तथा मत गतगणना जारी नै राखिएको सबैलाई अबगत भएकै कुरा हो । उम्मेदवारहरुले विभिन्न प्रकारका झुठा आश्वासन दिएर साम, दाम, दण्ड, भेदका साथ मतदान प्रक्रियामा मतदाता लैजाने धृष्टता गरिएको भएपनि जनताले सशक्त रुपमा निर्वाचन बहिष्कार गरेर आफूलाई यस सत्ता र ब्यवस्थाको प्रतिपक्षका रुपमा उभ्याएका छन् ।’ – भनिएको छ ।

क्रान्तिकारी माओवादीले निर्वाचन अगाडि नै गठबन्धन गरेर संसदवादीहरुले दुई दलीय फाँसीवादको अभ्यास गरेको आरोप समेत लगाएको छ । बिज्ञप्तिमा थप भनिएको छ ‘ हाम्रै जिल्लाको हकमा समेत संसदवादीहरु नै बनाएको निर्वाचन आंचारसंहिताको खिल्ली उडाउदै उनीहरुले ब्यापक धनदानद्वारा मतदानमा जनता लैजाने प्रपञ्च गरेको कुरा सार्वजनिक भएको बिषय हो । चुनाव अघि नै दुई दलीय फाँसीवादी ब्यवस्था लाद्नका लागि कांग्रेस नेतृत्वमा बाम लोकतान्त्रिक र एमाले नेतृत्वमा राप्रपा जसपा सहितको गठबन्धन बनाएका संसदवादीहरु प्रतिको बितृष्णा र यस दलाल संसदीय ब्यवस्था प्रतिको ब्यापक जनघृणाको कारण मतदाताहरु मतदान केन्द्रमा नगएर आफ्ना काममा ब्यस्त भएको समेत पाइनुले यो ब्यवस्थाको मिति पुगेको कुरा स्पष्ट भएको छ ।
त्यस्तै निर्वाचन आयोगले निर्वाचनलाई शान्तिपुर्ण भनेको प्रति क्रान्तिकारी माओवादीले हास्यस्पद भनेको छ । ‘देशका ३१ वटा जिल्लाका विभिन्न स्थानमा सयौं राउण्ड हवाई फायर, अश्रुग्याँस, अन्धाधुन्ध लाठीचार्ज प्रहरीको गोलीबाट र आपसी झडपबाट दुईजनाको मृत्यु हुदाँ समेत सरकार र उसको निर्वाचन आयोगले निर्वाचन शान्तिपुर्ण भएको दावी गर्नु निकै हास्यस्पद बिषय बन्न पुगेको छ । –बिज्ञप्तिमा थप भनिएको छ – बिभिन्न स्थानमा मृत्युभएका मानिसहरुको नाममा मतदान गरेर केही प्रतिशत मत बढाउन सत्ता र ब्यवस्थाको ब्यापक दुरुपयोग गरिएको भएपनि त्यसले यो सत्ता र ब्यवस्थाको चरित्र उदाङ्गो गराएको छ । यस पश्चिम नवलपरासी जिल्लामा मंसिर ४ गतेका १ बजे सम्म करिब ३० प्रतिशत मतदान भएकोमा एक्कासी ५ बजे सम्म ७२ प्रतिशत मत खसेको प्रचार गरिनुले यस निर्वाचनमा ब्यापक रुपमा फर्जी मत खसालेर ७२ प्रतिशत पु¥याइएको बुझ्नका लागि टाढा जानुपर्ने भएको छैन् । प्रबुद्ध तथा बौद्धिक समुदायको टिप्पणी, मिडियामा सार्वजनिक समाचार र कतिपय दलका नेताहरुकै प्रतिक्रियालाई हेर्दा ५० प्रतिशतभन्दा कम मतदान भएको पाइनुले यस सत्ता र ब्यवस्थालाई नांगेझार बनाएको हाम्रो पार्टीको ठहर छ ।’

 

 

You might also like