महिनामा संकलन गर्याे साढे ५ करोड राजस्व
धनगढी उपमहानगरले झण्डै २
कैलालीको धनगढी उपमहानगरपालिका चालु आर्थिक वर्ष सुरु भएसँगै रोकिएका ठेक्कालाई अघि बढाउने प्रक्रियामा जुटेको छ। कैलाली भन्सार हुँदै भारतबाट आयात हुने कृषिजन्य सामग्री अन्तर्गत खाद्यवस्तुको तथ्यांक संकलनमा उपमहानगर जुटेको छ।
वडा नम्बर ७ को बेलीमा रहेको अक्सिजन प्लान्ट र वडा नम्बर १५ कनरीमा रहेको जडिबुटी प्रशोधन केन्द्रलाई ठेक्का प्रक्रियामा ल्याउने तयारी समेत उपमहानगरले गरेको छ। राजस्व संकलन प्रक्रियालाई घर नम्बरिङ्गदेखि राजस्व परिचालनका दायरा विस्तार गर्न राजस्व सम्बन्धी अध्ययन कार्यदलसम्मको काममा उपमहानगर जुटेको हो।
केही नयाँ राजस्व नीतिका कारण अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष राजस्व संकलन अहिलेदेखि नै बढ्न सुरु भएको उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले बताए। ‘उपमहानगरको राजस्व बढाउने गरी नीतिगत सुधारदेखि वडामा बुझाउनुपर्ने कर र उपमहानगरपालिकामा बुझाउन पर्ने कर नबुझाएका करदाताको घरघरमै पुगेर भएपनि कर संकलनको काम भइरहेको छ’ उनले भने, ‘चालु आर्थिक वर्ष सुरुभएसँगै उपमहानगरको राजस्व संकलनमा वृद्धि हुँदै गएको देखिन्छ।’
चालु आर्थिक वर्ष सुरु भएको दुई महिना नपुग्दै उपमहानगरपालिकाले ५ करोड ५४ लाख ४२ हजार ७२४ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ। व्यवसायीक कर संकलनका लागि उपमहानगरपालिकाले राजस्व परिचालन कार्यदल गठन गरेर काम भइरहेको बताइएको छ।
गत आर्थिक वर्ष यही अवधिमा ४ करोड ८० लाख २१ हजार ९८९ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो। केही नयाँ राजस्व नीतिका कारण राजस्व संकलन अहिलेदेखि नै बढ्न सुरु भएको उपमहानगरपालिकाका राजस्व व्यवस्थापन शाखाप्रमुख दिपक भण्डारीले बताए।
एकीकृत सम्पत्ति कर र घर नक्साबाफत उपमहानगरले सबैभन्दा बढी कर संकलन गर्दै आएको छ। गत वर्ष २२ करोड १९ लाख कर संकलनको लक्ष्य निर्धारण गरिएको थियो भने चालु आर्थिक वर्षका लागि साढे २६ करोड कर संकलनको लक्ष्य निर्धारण गरिएको छ।
चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने अपेक्षा उपमहानगरको छ। २ महिना नपुग्दै अपेक्षाकृत रुपमा राजस्व संकलन भएकाले उपमहानगरले लिएको नयाँ राजस्व परिचालन कार्यनीति पुरै कार्यान्वयनमा आए आन्तरिक आम्दानीमा दोब्बरले वृद्धि हुने अपेक्षा गरिएको छ।
उपमहानगरपालिकाले करका दरभन्दा दायरा विस्तार गरेर वैज्ञानिक रुपमा करका दर र दायरा सिफारिस गर्न राजस्व परिचालन कार्यदल गठन गर्ने नीति समेत लिएको छ। gorkhapatra