जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आंकलन
गत वर्ष १० क्विन्टल स्याउ फलाएका गुठिचौर गाउँपालिका-५ का किसान देवीकृष्ण धितालले यस वर्ष भने १८ क्विन्टल उत्पादन गरेका छन् । स्याउ खेतीबाटै मनग्य आम्दानी हुने सम्भावना रहेकाले रोजगारी खोज्न कालापहाड जानुपर्ने अवस्था नरहेको धिताल बताउँछन । ‘आयातितभन्दा जुम्लाको स्याउ निकै स्वादिष्ट छ। तर व्यवस्थापकीय कमजोरीले बजारीकरणमा समस्या देखिन्छ,’ उनले भने ।
ग्रेडिङ लेवलिङ प्याकेजिङ जस्ता कुरामा सरकारी तवरबाट ध्यान पुर्याउन जरुरी रहेको जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए । उनले भने, ‘जुम्ली स्याउ स्वादिष्ट हुँदाहुँँदै पनि मूल्य पाउन सकेको छैन। कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरणलगायतको व्यवस्थापकीय पाटोमा राज्यले ध्यान दिनुपर्ने आवश्यक छ ।’
जुम्लामा चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ सय हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताए । उनले भने, ‘जसबाट करिब ५० करोड आर्थिक भित्रिने आंकलन छ ।’ उनका अनुसर पालिकामध्ये सबैभन्दा बढी चार हजार मेट्रिक टन गुठिचौरमा फलेको छ ।
समयमै पानी पर्दा र हावापानी अनुकूल हुँदा गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन बढेको हो । यस वर्षको स्याउको बजार प्रवर्द्धनका लागि जुम्ला एप्पल लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको निमिक्त प्रमुख अधिकारीले बताए । news of nepal