केही कामदारले सुन चोर्दा भारतमा नेपाली बदनाम

0

सुरक्षाकर्मीले घर घेरा हाल्नुपर्ने झैझगडा भएको थिएन । न त गाउँमा ठूलो आपराधिक घटना भएको थियो । २०७५ फागुन २ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीका शंकर विकको घरमा प्रहरीको ठूलै टोली पुग्यो । टोलीले विकको घरभित्र खाल्डो खनेर लुकाइराखेको अवस्थामा १८ किलो सुन बरामद गर्‍यो । सोही रात विकका ज्वाइँ लक्ष्मण तिरुवाको शुक्लाफाँटा–११ झलारीस्थित घरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद भयो ।

प्रहरीको अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बरामद गरेको उक्त सुन भारतबाट चोरेर ल्याई लुकाइएको प्रहरीको निष्कर्ष थियो । घटनामा संलग्नताको आरोपमा प्रहरीले शंकर विक, लक्ष्मण तिरुवा र उनका दाजु सुरजलाई पक्राउ गरेको थियो । कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले उक्त घटनाको थप अनुसन्धान गर्न राजस्व कार्यालय कोहलपुरमा फाइल पठाइएको बताए ।

भारतबाट चोरेर ल्याई सुन लुकाएको यो पहिलो घटना भने थिएन । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, अछाम, बाजुरा र बझाङमा यस्तै प्रकृतिका घटना अरू पनि भएका छन् । यस्ता घटनामा भारतमा काम गर्न जाने केहीको संलग्नता देखिएको छ । कैलाली प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार सुन चोरीका धेरैजसो घटनाहरू भारतको दिल्ली, बैंग्लोर, हैदराबाद, गुजरात, पञ्जाब, मद्रास, अहमदाबादलगायतका सहरबाट भएका छन् । जसको चोरियो, उनीहरू प्रहरीसहित नेपालमा खोज्न आइपुग्दा नेपाली प्रहरीले सघाएको छ । गत वर्षको साउनमा कैलालीको अत्तरियामा शैलेश्वरी सुनचाँदी पसल सञ्चालक समीर सिजापति, राजु विक र शुक्लाफाँटा–८ का भवानी घिमिरेलाई प्रहरीले झन्डै आधा किलो सुनसहित पक्राउ गर्‍यो । जिल्ला डीएसपी जोशीका अनुसार उक्त प्रकरणमा मुख्य योजनाकार अझैसम्म यकिन भइसकेको छैन ।

प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता एसएसपी भोला रावल भारतबाट सुन चोरेर वा तस्करी गरेर भित्र्याएका घटनाको प्रवृत्तिबारे प्रहरी अझै प्रस्ट नभएको तर्क गर्छन् । धेरैजसो घटनामा भारतीय पक्षले उजुरबाजुर गरेमा वा सक्रियता देखाएमा आरोपित पक्राउ गरी राजस्व अनुसन्धान विभागलाई बुझाउने गरेकाले पनि निष्कर्षबारे प्रहरीहरू बेखबर देखिन्छन् । एक दशक अघिदेखि धनगढीलाई केन्द्र बनाएर भारतबाट संगठित रूपमा सुन चोरी तस्करी सुरु भएको देखिन्छ । प्रहरी स्रोतका अनुसार कुनै समय गिरोहका नाइके मानिने देवसिंह ठकुरीको समूहले संगठित रूपमा भारतबाट चोरी गरेर सुन तस्करी सुरु गरेका थिए । यो गिरोहले फिल्मी शैलीमा भारतका विभिन्न सहरबाट सुन चोरेर नेपाल ल्याउने र फेरि भारतमै पठाउने गर्थ्यो । उक्त गिरोहले केही वर्ष प्रहरी र भन्सारका कर्मचारीसमेत मिलाएर चोरी तस्करी गर्‍यो । आपराधिक मुद्दामा जेलमा रहेका ठकुरी फरार भएर सीमापारि गएपछि भने उनको गिरोह छिन्नभिन्न भयो । गिरोहका केही भारतको हल्द्वानीमा पक्राउ पनि परे । त्यसपछि केही वर्ष भारतबाट सुन चोरेर ल्याएका घटना कम भए । ठकुरी हातहतियार खरखजाना मुद्दामा पक्राउ परेका थिए । पक्राउ परेको दुई वर्षपछि ०६७ फागुनमा आँखाको उपचारका लागि कैलालीको गेटा अस्पतालमा जाँदै गर्दा प्रहरीकै मिलेमतोमा भागेका थिए । उनी ०६९ चैतमा नैनीताल सडकको हल्द्वानीमा सुनसहित पक्राउ परे ।

ठकुरी गिरोहले सुनचाँदीका व्यापारीको घरमा कामदारका रूपमा सुराकीहरू पठाउँथे र सोही समूहमार्फत चोरीको तारतम्य मिलाउँथे । तर पछिल्ला घटनाहरूमा भने नेता, ठूला कर्मचारी, अवैध धन्दामा संलग्न व्यवसायीलाई निसाना बनाएर सुन चोरी गर्न थालेको देखिन्छ ।

कैलाली गोदावरीका राजन कामीसँग ७ वर्ष भारतको बैंग्लोरमा गहना बनाउने कारिगरका रूपमा काम गरेको अनुभव छ । उनले भने, ‘इन्डियामा यति धेरै सुन र नगद चोरी हुन्छ कि जसको हामी कल्पना पनि गर्न सक्दैनौं ।’ धेरैजसो ‘कालो धन’ राख्ने भारतीय व्यापारी र नेताहरूले चोरी भएको विषय सार्वजनिक नगर्ने गरेकाले यस्ता घटना सार्वजनिक नहुने उनको भनाइ छ । ‘जुन घटना बाहिर आउँछन्, त्यसमा पनि चोरी भएको भन्दा निकै कम परिमाण उल्लेख गरेर प्रहरीमा उजुरी दिइन्छ,’ उनले भने ।

बैंग्लोरमा यस्ता घटना बढ्न थालेपछि राजन काम छोडेर स्वदेश फर्किए । ‘प्रहरीले हामीलाई पनि शंकाको घेरामा राखेर सोधपुछ गर्न थालेपछि म काम छोडेर फर्किर्एको हुँ, उनले भने, ‘पछिल्लो समय यस्ता घटना निकै बढ्न थालेपछि रोजगारीमा भारत जाने नेपालीहरूले स्थानीय व्यक्तिको जमानतबिना काम नपाउने अवस्था छ ।’

राजन मात्र होइन, डडेलधुरा गांगखेतका हरिश कामी पनि भारतबाट फर्किएका सुनका कारिगर हुन् । उनी कार्यरत हैदराबादको प्रख्यात ज्वेलर्स व्यवसायी नायडु एन्ड कम्पनीमा ०७६ असारमा ठूलो चोरी भयो । चोरीको शंकामा उनी एक साता प्रहरी हिरासतमा परे । पछि कम्पनीका मालिकले नै निर्दोष भएको बताएपछि उनी मुक्त भए । तर त्यसपछि उनी त्यहाँ बस्न सकेनन् । हरिशका अनुसार सरसफाइ र बगैंचाको काम गर्ने दुई जना नेपालीको माध्यमबाट त्यहाँ चोरी भएको निष्कर्ष भारतीय प्रहरीले निकाले पनि कसैलाई पक्राउ गर्न भने सकेन । उक्त घटनामा संलग्नको खोजी गर्दै भारतीय प्रहरीको टोली डोटी र अछामको सीमामा पर्ने सानागाउँसम्म आइपुगेको थियो । तर, आरोपित फेला परेनन् । चोरी भएर आएको सुन गिरोहका सदस्यहरूमा बाँडफाँट हुँदैन । नियोजित रूपमा सुन बिक्री गरेपछि पैसा बाँड्ने गरिएको स्रोतले बताएको छ । प्रहरीदेखि लाइन मिलाएर दिनुपर्ने ठाउँमा भने सुन नै दिने गरिएको छ । चोरी भएको मध्ये ४० प्रतिशत सुन पचाउनका लागि तारतम्य मिलाउनमा खर्च हुन्छ भने बाँकी गिरोहका सदस्यहरू, भारतमा सहयोग गर्ने सहयोगी र केही प्रतिशत अर्को चोरीको घटनाका लागि खर्च गर्न भनेर छुट्याउने गरेका छन् ।

संगठित सुन तस्करीको यस्तो गिरोहमा काम गरेका केहीले भने यस्तो काममा नेपालका सुन व्यवसायी पनि संलग्न हुने गरेको बताए । त्यस्ता व्यवसायीले सस्तोमा पाइने चोरीको सुन किन्ने, खुद्रामा बेच्ने र नबिकेको सुन पुनः भारतीय बजारमै लगेर बेच्ने गरेको बताए । ०७५ जेठ २ मा कञ्चनपुरको गड्डाचौकी नाकानजिक नेपाली भूमिमा भारतीय नम्बर प्लेटको गाडीबाट नेपाल प्रहरीले आधा किलो सुन बरामद गरेको थियो । हरियाणाका जितेन्द्र सैनिक र सुरेश कुमार पक्राउ परेका थिए । उक्त गाडी दुई दिनअघि सोही सीमानाका भएर नेपाल भित्रिएको थियो । भारतसहित तेस्रो मुलुकबाट सुन अवैध रूपमा नेपाल भित्रिने र पुनः भारतमा निकासी हुने गरेको तथ्य त्यस बेला पनि प्रहरीले अनुसन्धानका क्रममा बताउने गरेको थियो ।

यस्तै, राजस्व अनुसन्धान विभागले ०७६ कात्तिकमा धनगढीका सुन व्यवसायी सुनीलकुमार राजपुतविरुद्ध मुद्दा दायर गरेको थियो । उनले शिवम् सुनचाँदी पसलका नामबाट भन्सार छली गरेको सुनचाँदी बिक्रीवितरण गरेको आरोपमा ८ करोड ६ लाख बिगो बराबर दाबी गरी कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पसलको आडमा उनका छोरा अतुलले चोरी पैठारी गरी ल्याएका सुनचाँदी काठमाडौंबाट अवैध रूपमा बिनाबिलबीजक खरिदबिक्री गरेको पाइएको विभागको दाबी थियो ।

०७५ फागुन २३ मा धनगढी प्रहरीले १ करोड १९ लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको २ किलो ३ सय ग्राम सुन बरामद गरेको थियो । कैलालीको चिसापानीमा चेकजाँचका क्रममा धनगढीका सुन व्यापारी रमेशकुमार सैंजु पक्राउ परेका थिए । कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार ओसारपसारमा संलग्नलाई सुनसहित राजस्व विभागको कार्यालय कोहलपुरको जिम्मा लगाइएको थियो ।

गत साउन १८ मा सुन चोरी तस्करीको आरोपमा नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेलाई भारतको मुम्बई उड्न लागेका बेला कैलाली प्रहरीको पत्रका आधारमा सुरक्षाकर्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो । भारतको पञ्जाबबाट एक करोडभन्दा बढी मूल्यको सुन चोरीको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले लामिछानेसहितलाई पक्राउ गरेको थियो ।

भारतका विभिन्न स्थानमा हुने नगद तथा गरगहना चोरीका घटनामा नेपालीको संलग्नताप्रति सर्वसाधारणमा चिन्ता छ । भारतमै रोजगारीमा रहेका धेरैलाई यसले छविमै समस्या पार्ने भन्दै चिन्ता भएको हो । ‘दिल्ली बस्न थालेको धेरै वर्ष भइसक्यो । सुरुमा गोर्खालीको सम्मान पनि पाइन्थ्यो तर अहिले नेपालीलाई शंकाको दृष्टिले हेर्न सुरु भएको छ,’ भारतमा चौकीदारी गर्दै आएका बाजुराका जयबहादुर कटुवालले भने, ‘चोर्नेहरू भागिहाल्छन्, आफ्नो सोझो गरिखानेलाई मर्का पर्छ ।’

गिरोहले चोर्न सुनियोजित रूपमा आफ्नो समूहका सदस्यलाई निश्चित घरमा कामदार बन्न पठाउने गरेको देखिन्छ । त्यहाँ काम पाइएन भने त्यसको छरछिमेकमा कामदारका रूपमा तिनीहरू बस्छन् । तोकेको घरका कामदारसँग हेलमेल बढाएर सूचना संकलन गर्छन् । चोरीको यस्तो योजनामा भारतीय नागरिकहरू पनि सामेल भएको देखिन्छ । कतिपय यस्ता घटनामा चोरिएको सुन र नगद भने सोझै नेपाल ल्याइन्छ । केही घटनामा सीमानाकामा नेपाली प्रहरीले दुःख नदिने व्यवस्था मिलाउने काम धनगढीमा रहेको गिरोहले गरेको देखिन्छ । एक समय देवसिंह ठकुरीको गिरोहमा रहेका एक युवकले भने, ‘ठूलो जालो छ, जसमा प्रहरी, केही नेता र भारतमा बसेर सहयोग गर्ने नेपालीहरूको समूह सक्रिय छ ।’ kantipur news

You might also like