चुनावका लागि गाउँघर फर्कनेको घुइँचो ,मतदान गर्नको लागि गाउँ जान गाडी पाउनै मुश्किल

0

भोलि शुक्रवार हुन गइरहेको पालिका चुनावका लागि गाउँघर फर्कनेको घुइँचो छ । काठमाण्डौ उपत्यकाबाट बाहिर जाने मुख्य नाकाहरु नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खु लगायतका ठाउँमा निकै भिडभाड छ ।

दूधे बालक बोकेका महिला, साना बच्चासहितका अभिभावक, बुढाबुढी तथा अन्य शारीरिक अपाङ्गता भएका मानिस पनि गाडीको प्रतिक्षामा बाटोमा देखिन्छन् । अरु बेला नियमित दशरदश मिनेटको समयमा गुड्ने गाडी यो बेला एक घण्टा कुर्दा पनि नआएको यात्रुको गुनासो छ । गाडी आइहाले पनि पहिले नै भरिएर आउने कारणले कोटेश्वर, कलङ्की लगायतका ठाउँमा गाडी कुर्नेहरु हेरेको हेर्यै देखिन्छन् ।

यात्रु भन्छन् : गाडी छैन

जयराम तामाङ सिन्धुपाल्चोक जानका लागि परिवारसहित कोटेश्वरमा गाडी कुरिरहनु भएको छ । उहाँको साथमा श्रीमती तथा साना दुई बालक पनि छन् । उहाँलाई आफ्नो ठाउँमा कहिले पुगेर साथीभाइसँग सरसल्लाह गरेर कसलाई भोट दिने टुङ्गोमा पुग्न हतारो छ । तर, अरु बेला नियमित दशरदश मिनेटमा आउने गाडी अहिले नआएर उहाँले कुरेको एक घण्टा भयो । तामाङ भन्नुहुन्छ, ‘अरु बेला सिन्धुपाल्चोकको गाडी सजिलै पाइन्थ्यो । अहिले यहाँ केटाकेटीसहित कुरेको एक घण्टा भयो आउँदैन के गर्ने गर्ने ।’

उहाँको चिन्ता गाडी नआएकोमा मात्र होइन गाडी आए पनि साना दुई बालक र श्रीमतीसहित कसरी गाडी चढ्ने भन्नेमा छ । किनकि अरु रुटका आएका गाडी हेर्दा उभिने ठाउँ छैन । यस्तोमा सबैलाई कसरी गाडी चढाउने र सकुशल आफ्नो ठाउँमा पुर्याउने भन्ने चिन्ताले उहाँलाई सताएको छ ।

‘अरु त पार्टी तथा नेताले पनि गाडीको व्यवस्था गरेको सुनेको छु’ तामाङ भन्नुहुन्छ, ‘मलाई भने पार्टी तथा नेताहरुको गाडी चढ्न मन लागेन । अब उनीहरुको गाडीमा जाँदा उनीहरुलाई नै भोट हाल्नु पर्छ भन्ने होला त्यसैले पनि त्यस्तो गाडीमा गइएन । अहिले दुःख पाइयो ।’

नेपाली सेनामा कार्यरत तनहुँका प्रकाश कुँवर पनि आफ्नो कार्यस्थल रामेछाप जानका लागि कोटेश्वरमा गाडी कुरिरहनु भएको छ । नेपाली सेनामा कार्यरत भएका नाताले सेनाले नै उहाँको गाडीको व्यवस्था गर्नुपर्ने हो । तर, उहाँ विशेष कामले घर पुगेर आएकाले उहाँको समूह भने अलि अगाडि नै रामेछाप पुगिसकेको छ । महत भन्नुहुन्छ, ‘अब एक्लैलाई गाडीको व्यवस्था गर्ने कुरा पनि भएन । यहाँ आउँदा बिजोग छ गाडीको । तर, यो चुनावको समय भएकोले मात्र यस्तो हो । अरु बेलामा यस्तो हुँदैन ।’

चुनाव, दशैँ, तिहार जस्ता विशेष अवसरमा सरकारले नै टाढा जाने यात्रुलाई यातायातको राम्रो व्यवस्थापन गरिदिए यात्रुका लागि सहज हुने तथा नागरिकले पनि सरकारले केही गरेको छ भन्ने आभाष हुने उहाँको भनाइ छ ।

धेरै मान्छे काठमाण्डौमा बसेर पढिरहेका हुन्छन्, काम गरिरहेका हुन्छन् त्यसकारण एकै पटक उपत्यका छोडेर घर जाँदा भिडभाड हुने अनि सरकारले पनि यस विषयमा बेवास्ता गरेका कारण नागरिकले सँधैँ दुःख पाउने गरेको उहाँको अनुभव छ ।

काभ्रेका विवेक दनुवार पनि चुनावमा भोट हाल्नका लागि घर जान लाग्नु भएको छ । उहाँले कोटेश्वरमा गाडी कुरेको करिब एक घण्टा भयो । घाम चर्किएका कारण उहाँ रुखको आडमा छेलिएर बसिरहनु भएको छ ।

उहाँले काँधमा सानो बच्चा पनि बोकिरहनु भएको छ । दनुवार भन्नुहुन्छ, ‘एक घण्टा भयो गाडी आउँदैन । बच्चा पनि छ के गर्ने गर्ने । रुटको गाडी कुरेको खोइ आउँदै आउँदैन ।’ यसो भन्दै गर्दा उहाँको चिनजानको एक जना साथीले गाडी लिएर आउनु भयो । उहाँसँगको कुराकानीपछि उहाँले आफ्नो यात्रा सजिलै तय गर्नुभयो । गाडी चढ्दै गर्दा दनुवार भन्नुहुन्छ, ‘कहाँबाट साथी भेटियो र सजिलो भयो । नत्र ठूलै समस्या हुन्थ्यो।’

काठमाण्डौमा काम गर्दै अनि पढ्दै गर्नु भएकी सुसन कार्की सिन्धुपाल्चोकको सुकुटेमा जानका लागि कोटेश्वरमा गाडी कुरिरहनु भएको छ । उहाँले गाडी कुरेको करिब एक घण्टा भयो । उहाँको मतदाता नामावलीमा नाम छैन । तर, चुनावकै लागि भनेर उहाँ घर जान लाग्नु भएको हो । कारण घरमा भोट हाल्नका लागि आमाबाबु जानुहुन्छ अनि घर पनि कुर्ने तथा साथीभाइ भेटेर यसो गफगाफ रमाइलो गर्ने उहाँको योजना छ ।

उहाँको भाइ पनि कोटेश्वरमा आएर अनि सँगै जाने उहाँको योजना छ । कार्की भन्नुहुन्छ, ‘मेरो ठूलोबाको गाडी आउँछ होला । तर, कन्फर्म छैन । आएन भने रुटको बसमा नै जानुपर्छ ।’ धेरै ठाउँमा जाने मान्छे जम्मा भएका कारण भिड भएको उहाँको भनाइ छ । अहिले चुनावले भिड भएको तथा दशैँ, तिहार जस्ता पर्वमा पनि सरकारी वा अन्य कुनै निकायले यातायातको व्यवस्था गरिदिए राम्रो हुने उहाँको विचार रहेको छ । भन्नुहुन्छ, ‘हामीजस्तो मान्छे त जसरी पनि जाउँला तर, बुढाबुढी, अशक्त तथा अपाङ्गता भएकाको लागि भने सरकारले व्यवस्था गर्नुपर्ने जस्तो लाग्छ ।’

लमजुङका अशोक परियार पालिका चुनावमा भाग लिनका लागि घर जाने गाडी चढ्न नयाँ बसपार्कमा आउनु भएको छ । उहाँ काठमाण्डौमा व्यवसाय गरेर बसिरहनु भएको छ । काठमाण्डौमा बसेर व्यवसाय गरे पनि कुनै न कुनै रुपमा कतै आबद्ध हुनुपर्छ त्यसैले पाँच वर्षपछि हुन लागेको पालिका चुनावमा आफ्नो अभिमत जाहेर गर्नका लागि उहाँ गाउँ जान लाग्नुभएको हो ।

तर, लमजुङको कालीका माइक्रोपार्कको काउण्टर बन्द भएक कारण आफू जस्ता ४०र५० जना अलपत्र पर्नु परेकोमा उहाँ दुखेसो प्रकट गर्दै भन्नुहुन्छ, ‘काउण्टर खोलेको होला भनेर आएको तर, सोचेजस्तो सहज रहेनछ । पार्टीले गाडीको व्यवस्था गरेका कारण पनि त्यसो भएको हो कि१’

टोखामा बस्दै आउनु भएकी मिना राई उदयपुरको गाईघाट जानका लागि नयाँ बसपार्कमा गाडीको व्यवस्था होला भनेर आउनु भएको छ । तर, बसपार्कमा गाडी नभएका कारण के गर्ने अलमलमा हुनुहुन्छ राई । भन्नुहुन्छ, ‘माइक्रोको व्यवस्था हुन्छ कि भनेर कुरा भइरहेको छ । हेरौँ भएन भने फर्कनु बाहेका अरु उपाय छैन।’

व्यवसायीको दाबी : यात्रुको चाप छ तर गाडी नै नपाउने समस्या छैन 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भने यातायातको केही चाप परेको तर गाडी नपाएर कोही कसैले पनि पालिका चुनावमा भोट हाल्न जान वञ्चित हुनुपर्ने अवस्था नरहेको बताउनुहुन्छ ।

सिटौला भन्नुहुन्छ, ‘विगत सातरआठ दिनमा आज सबैभन्दा चाप छ । अर्थात दशैँको फूलपाती भन्दा पनि चाप परेको छ । करिब १०र११ लाख मतदाताले यस बीचमा उपत्यका छोडेका कारण पनि यसो भएको हुनसक्छ ।’

पालिका चुनावमा स्वतःस्फूर्त रुपमा जाने र टिकट काटेर जाने मानिस अहिले पनि जाँदै गरेको र राजनीतिक दल वा नेताहरुले पनि साना, ठूला गाडीको व्यवस्था गरेको सिटौलाले जानकारी दिनुभयो ।  malmalafm

You might also like