स्थानीय निर्वाचनको मौका छोपेर काठमाडौँ उपत्यकामा दिउँसै चोरी

0
sharethis sharing button

काठमाडौँको मुलपानी स्थित सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको घरमा वैशाख २१ मा चोरी भयो । स्थानीय चुनावको सरगर्मी बढेको बेला घरमा कोही नभएको मौका छोपेर पूर्व एसएसपी थापाको घरबाट १६ तोला सुन र ६० हजार रुपैयाँ नगद चोरिएको छ ।

कागेश्वरी मनहरा–६ मुलपानी स्थित घरमा कोही नभएको मौका छोपेर मूलढोकाको ताला फुटाएर चोरी गरिएको प्रहरीले बताएको छ । थापाले सो घर बिक्रीका लागी विज्ञापन राखेका थिए । घर किन्ने बहाना गरेर गएकाहरूले सुन चोरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो चोरीबारे अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

वैशाख ३ मा ललितपुरको सानेपामा पूर्व डीआईजीको घरमा चोरी भयो । सानेपा स्थित गोपाल रिजालको घरबाट चोरीमा संलग्न गिरोहले मूलढोकाको ताला फुटाएर करिब ४० लाखको सामान चोरेका थिए ।
चोरीमा संलग्न दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ्गेश्वर गाउँपालिका–८ घर भएका नारायण श्रेष्ठ उर्फ अर्जुन र काठमाडौँको टोखा घर भएका सौराज गजमेर उर्फ सौराज सुनार छन् । ३२ वर्षीय नारायण श्रेष्ठले सामान चोरेर सौराज गजमेरलाई बेचेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । चोरी गर्ने समूहका अन्य दुईजना आरोपी फरार छन् । 
मूलपानी र सानेपामा जस्तै स्थानीय तहको निर्वाचनको सरगर्मी सँगै काठमाडौँ उपत्यकामा चोरीका घटना बढ्दै छन् । चोरी बढेपनि अनुसन्धान गर्ने सुरक्षाकर्मीहरु निर्वाचनमा खटिएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सो मातहतमा कार्यरत १० प्रतिशत बाहेक सबै प्रहरी कर्मचारी निर्वाचनको सुरक्षामा खटिएका छन् । सुरक्षाकर्मी चुनावमा व्यस्त भएको मौकामा चोरले ‘चौका’ हानिरहेका छन् । 
पूर्व सावधानी नअपनाएका घरमा मात्र चोरी हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘चोरी भएका घटना अनुसन्धान गर्दै छौँ, चोरीका घटना सकभर बढ्न नदिने गरी निगरानी गरिरहेका छौँ ।’   ratopati
You might also like