किसानका खेतीपाती भित्र्याउन सहयोग गर्दै उम्मेदवार

0
डोटीका राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्र पार्दै गएका छन् । मतदान गर्ने दिन अर्थात् वैशाख ३० गते नजिकिँदै गर्दा यहाँका दलहरु अहिले स्थानीयवासीका घर–घर तथा खेतबारीमै गएर आफ्ना लागि मत माग्न थालेका छन् ।

यति बेला स्थानीयवासी गहुँ काट्न तथा धानको बेर्ना छर्नका लागि खेतमा व्यस्त हुँदा उम्मेदवारहरु खेतमै गएर गहुँ काटिदिने तथा धानको बेर्ना छर्न सहयोग गरेर मत माग्ने गरेको दिपायल सिलगढी नगरपालिका–८ का स्थानीयवासी दलबहादुर साउदले बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘उम्मेदवार खेतमै आएर मत माग्न थालेका छन्, हामी खेती किसानीमै व्यस्त छौं, हाम्रा खेतीपाती बटुल्ने काममा पनि सहयोग गर्न थालेका छन् ।’ उम्मेदवारहरुले किसानलाई खेतीपाती बटुल्ने लगायतका काममा सहयोग गर्न थालेपछि किसानका काममा निकै सहज हुँदै गएको छ ।

उम्मेदवारसँगै उनीहरुका कार्यकर्ताले पनि किसानका काममा सहयोग गर्दै आइरहेका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका दलका नेताहरुले आफ्ना चुनावी अभियानलाई तीव्रता दिएका छन् ।स्थानीय तह निर्वाचनका लागि डोटीमा नेकपा माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी) बीच जिल्लामा तालमेल भई अभियानमा जुटेका छन् भने नेपाली कांग्रेस र नेकपा एमाले भने अलग–अलग भएर चुनावी अभियान लिएर हिँडिरहेका छन् । प्रायः सबै राजनैतिक दलका नेताहरुका पर्चा पम्प्लेटहरुले यहाँका सार्वजनिक स्थान भरिभराउ भएका छन् ।

यसै गरी, उम्मेदवारले आफ्ना प्रचार सामग्री यहाँका विद्युत्का पोल, सार्वजनिकस्थल तथा सडकहरुमा टाँसेका छन् । घरदैलो अभियान लिएर घर–घर तथा स्थानीयका खेतबारीमा आइरहेका नेताहरुलाई यहाँका नागरिकले शिक्षा, स्वास्थ्य, विद्युत् तथा सडकको विकास गर्नेलाई आफ्नो मत दिने माग राखेको जोरायल गाउँपालिका–४ नकु गाउँका स्थानीयवासी सोपानसिंह बोहराले बताउनुभयो । ‘हामीलाई आवश्यक पर्ने शिक्षा, सडक र स्वास्थ्य सुविधा दिनेलाई हामी भोट दिन्छौं, हाम्रा खेतमा अहिले मात्र आएर काम गर्नेलाई भोट दिने छैनौं ।’ –उहाँले भन्नुभयो ।

यसपटक स्थानीय तहमा नयाँ अनुहारसहित युवा बढी उम्मेदवार भएकाले युवाले विकास गर्न सक्नेमा यहाँका स्थानीय आशावादी बनेका छन् । गाउँमा चुनावी अभियान तीव्र भएसँगै कामका लागि जिल्लाबाहिर तथा छिमेकी मुलुक भारत गएका यहाँका सयौं नागरिक अहिले गाउँ फर्किएका छन् । दुई नगरपालिका तथा सातवटा गाउँपालिका सहित नौवटा स्थानीय तह रहेको डोटीमा नेताहरुले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चालगायत दलहरूले यहाँका नौवटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको डोटीका प्रमुख निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार नौवटा स्थानीय तहका ३ सय ४३ पदका लागि १ हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि मात्रै ७ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उक्त नगरपालिकाको नौवटा वडाध्यक्षका लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको छ । डोटीकै अर्को नगरपालिका शिखर नगरपालिकाको प्रमुखमा ५ जना र उपप्रमुखमा ३ जनाको उम्मेदवारी परेको छ । शिखर नगरपालिकामा ५७ पदमा १ सय ४८ जनाको उम्मेदवारी परेको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिकामा ३७ पदका लागि १ सय १६ जनाको उम्मेदवारी परेको छ । सायल गाउँपालिकामा ३२ पदका लागि ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आदर्श गाउँपालिकामा ३७ पदका लागि १ सय २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी, केआईसिंह गाउँपालिकामा ३७ पदका लागि १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदका लागि १ सय १५ जनाको उम्मेदवारी परेको छ ।बडीकेदार गाउँपालिकामा २७ पदका लागि ८२ जनाको उम्मेदवारी परेको छ भने जोरायल गाउँपालिकामा ३२ पदका लागि १ सय १५ जनाले उम्मेदवारी दर्ता गराएको स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।डोटीमा कुलमतदाता संख्या ६४ हजार ८ सय ९ रहेको छ । जसमा महिलाको संख्या ६५ हजार २ सय ७२ रहेको छ भने पुरुषको संख्या ५८ हजार २ सय ८२ रहेको छ । news of nepal

You might also like