रामचन्द्र पौडेललाई भेटेर फर्कियो जगन्नाथको टोली
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बसेको भरतपुरको सिराइचुली होटलमा पुगेको भरतपुर महानगरका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको टोलीले बिहीबार बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर चुनावी अभियानमा निस्केको छ ।
गठबन्धनले मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाएपछि कांग्रेसका पुराना नेता जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
‘हामी सभापति तथा प्रधानमन्त्रीज्युलाई भेट्ने भनेर गएका हौं । तर, उहाँसँग भेट हुन सकेन । रामचन्द्रजी भेट हुनु भयो । उहाँले केहीबेर लाग्छ बस्नुस्, बस्नुस् भन्नु भएको थियो । तर, हाम्रो चुनावी कार्यक्रम ज्योतिनगरमा तय भएको हुँदा धेरैबेर बस्न सकेनौं,’ भेटघाट टोलीका भीमबहादुर श्रेष्ठले भने । आफूहरुको आज दिनभर प्रचार प्रसारको कार्यक्रम भएको हुँदा भेट्न चाहेमा अब साँझ मात्रै समय हुने बताएर निस्केको श्रेष्ठले बताए ।
टोलीमा मेयर उम्मेदवार पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेल पनि सहभागी थिए । मेयर पद कांग्रेसले नै पाउनुपर्दछ भन्ने अडानमा रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरु मेयर पद माओवादीले पाएपछि असन्तुष्ट छन् । विसं २०४९ सालमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख र ५४ सालमा राष्ट्रिय सभाका सांसद रहेका जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएपछि पार्टी पंक्ति उनलाई मनाउन लागेको छ ।
सत्तारुढ गठबन्धनले आज दिउँसो भरतपुरमा संयुक्त चुनावी सभा आयोजना गरेको छ । सो सभालाई देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा हिजो बुधबार साँझ नै भरतपुर आएर असन्तुष्ट रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरुलाई भेटघाट गरेका छन् । kantipurnews