ट्रेलरमा आए कबड्डी-४ र लाईफ इन एलए
कोरोना मत्थर भएसँगै नेपाली चलचित्रको प्रदर्शन क्रम मौलाएको छ । यसै क्रममा प्रदर्शनीको तयारीमा रहेका दुई चलचित्रको ट्रेलर बुधबार रिलिज गरिएको छ ।
बुधबार चलचित्र ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । कबड्डी तीनसम्म प्रेममा असफल भएको काजी (दयाहाङ राई) को प्रेमलाई यसपटक सार्थक रुपमा प्रस्तुत गरिएको ट्रेलरमा उल्लेख छ ।
जसमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको मुख्य भूमिका छ । आगामी १४ जेठबाट यो चलचित्र प्रदर्शनमा आउने भएको छ ।
यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । निमेश श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।
बुधबार नै अर्को चलचित्र लाईफ ईन एलएको ट्रेलर काठमाडौंमा एक समारोहबीच रिलिज गरियो । यो चलचित्र आउँदो ६ जेठबाट रिलिज हुने भएको छ । यो चलचित्रको त्रिकोणात्मक कथा रहेको ट्रेलरमा देखाईएको छ । अमेरिकामा रहेका अकेशा विष्ट र नेपालमा शिल्पा मास्केसँग अभिनेता ब्यास बिस्सुको दोहोरो प्रेम यसमा देखाईएको छ । ग्रिनकार्ड पाउन नेपालमा रहेका पात्रले गरेको सँघर्षको कथा यसमा समेटिएको ट्रेलरमा उल्लेख छ ।
यो चलचित्रलाई सुर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा ब्यास, आकेशा, शिल्पासँगै गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलगायतको मुख्य भूमिका छ । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन भएको फिल्मलाई ब्यास बिस्सु आफैंले निर्माण गरेका हुन् ।
ट्रेलर रिलिज समारोहमा बोल्दै अभिनेत्री शिल्पा मास्केले कथावस्तु, आफ्नो चरित्र र टिम राम्रो लागेर यसमा काम गरेको बताईन् । यसबाट आफुले अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा बुझ्ने मौका पाएको पनि उनले बताइन् ।
यो चलचित्रमा एलिस कार्की र प्रतिक पौडेलको संगीत, भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । फिल्मको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्माता राजेन्द्र ठकुराठी हुन् । rajdhanidaily