स्थानीय निर्वाचन : रुपन्देहीमा ३२ नयाँ दल दर्ता
बुटवल । सरकारले तोकेको स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा त्यसको तयारी पनि अघि बढिरहेको छ । जिल्लामा रहेका निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र बनाएका छन् ।
१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा दल दर्ता, मतदान स्थल, मतदाताको नामावली जस्ता कामको अन्तिम टुंगो लगाइएको छ । दलले चुनावी प्रचार तीव्र बानाएका छन् भने निर्वाचन कार्यालय पनि युद्धस्तरमा आफ्नो तयारीमा जुटेको हो । सोही क्रममा स्थानीय निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका ३२ दल दर्ता भएका हुन् ।२०८ वटा मतदान स्थल
७०४ वटा मतदान केन्द्र निर्धारण
६ लाख ३४ हजार ७ सय ९७ जना मतदाता
निर्वाचन आयोगले केन्द्रीय निर्वाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय दलको मान्यता नपाएका ७३ राजनीतिक दललाई स्थानीय तहको निर्वाचनका लागि आफ्नो कुन–कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचनाको विवरण बुझाउनका लागि आइतबारसम्मको समयसीमा दिएको थियो । सो समयभित्र रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा भाग लिन ३२ दलले दल दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार राष्ट्रिय दलको मान्यता नपाएको जनमत पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टीले दल दर्ता गराएका छन् ।
यस्तै, समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी(पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
योसँगै रुपन्देहीमा ३८ दलले दलगत रूपमा चुनावी प्रतिस्पर्धा गर्न पाउनेछन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलका रूपमा सक्रिय रहेका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा २०८ वटा मतदान स्थल र ७०४ वटा मतदान केन्द्र्र निर्धारण भइसकेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोधाप्रसाद भण्डारीले बताए ।rajdhanidaily