भावुक हुँदै डब्ल्युएचओ प्रमुखले भने- ‘विभाजित विश्वले काेराेना महामारीलाई जित्न सक्दैन’

0

एजेन्सी, २७ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रमुख डा टेड्रोस अधानोम घेब्रेसियसले संसार कोरोना महामारीले आक्रान्त हुँदा पनि विश्व विभाजित हुनु दुखद् भएको बताएका छन् ।

उनले कोरोना भाइरसको महामारीसँग लड्नुकाे साटो एक-अर्कामा संघर्ष गर्दै कसैप्रति ‘इगाे’ राख्नु कुनै पनि मुलुकको गल्ती भएको उल्लेख गरे । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने- ‘काेराेना भाइरसकाे महामारीले हामीले हाम्रा धेरै साथीहरुलाई गुमाउनु परिरहेको बेला विभाजित विश्वले यो महामारीलाई जित्न सक्दैन ।’

कोरोना भाइरससँग लड्न ‘नेतृत्वको अभाव’ देखिएको बताउँदै भावुक हुँदै उनले केही पात्रको आलोचना गरेका छन् । पत्रकार सम्मेलनमा उनले भनेका छन् – ‘साथीहरु, गल्ती नगर्नुहोला । आज हाम्रा सामु भाइरस मात्र सबैभन्दा ठूलो चुनौती होइन । हाम्रो लागि चुनौती भनेको राष्ट्रिय र वैश्विक स्तरमा नेतृत्व र ऐक्यबद्धता पनि हो।’

उनको यो भनाइ अमेरिका लक्षित भन्ने सोझै अनुमान गर्न सकिन्छ । अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा सम्बन्ध तोडिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डब्ल्युएचओले अलग नहुन हरसम्भव प्रयास गरे पनि अलग हुने निर्णय गरेका छन् । अमेरिकामा नै कोरोना भाइरसको संक्रमण  दिनदिनै उच्च अनुपातमा वृद्धि भइरहेको छ ।

अमेरिकामा झण्डै ३३ लाख कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै १ लाख ३६ हजार ६७१ ले ज्यान गुमाइसकेको बताउँदै कुनै विभेदविना ज्यान लिने कोरोनाविरुद्ध सबैले गोलबद्ध रुपले लड्नुपर्ने बताए । यसलाई सबै मुलुकले साझा दुस्मनीको रुपमा लिएमा सजिलै परास्त गर्न सकिने उनको तर्क छ । तर यसको अभावमा हामीले चिन्तित हुनुपरेको प्रमुख टेड्रोसले बताए ।

News24nepal

You might also like